देउवाद्वारा डडेल्धुरालाई ‘प्रदेश राजधानी’ बनाउने आश्वासन !

देउवाद्वारा डडेल्धुरालाई ‘प्रदेश राजधानी’ बनाउने आश्वासन !


  • डम्बर निदाल, डडेल्धुरा

नेपाली काङ्ग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरालाई सुदूरपश्चिम प्रदेशको राजधानी बनाउन सकिने बताएका छन् । चुनावी दौडधुपमा गृहजिल्ला डडेल्धुरा आइपुगेका देउवाले मंगलबार काङ्ग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘कोही-कोहीले देउवाले केही गरेन, प्रदेश राजधानीसमेत डडेल्धुरा बनाइएन भनेर कुरा गरिरहेको मैले सुनेँ’, उनले भने- ‘त्यतिबेला डडेल्धुरा र डोटीमा संरचनाहरू थिएनन् । यहाँ एउटा ठूलो सभाहल समेत थिएन, अनि कसरी यहाँ राजधानी तोक्नु ? त्यसो हुनाले कैलालीमा अस्थाई राजधानी तोकिएको हो । पछि मेरो सरकार ढलिहाल्यो- गर्न सकिएन । अहिले म प्रधानमन्त्री भएको एक वर्ष पनि पुगेको छैन । केही गरेन भनेर भन्न हुन्छ ? अबको बजेटमा बढी योजना समेटी यहाँको विकास गर्छु । यहाँको विकास भएपछि राजधानी सार्न सकिन्छ ।’

यसैगरी पश्चिमसेती परियोजना बनाउन भारतका दुई वटा कम्पनीसँग कुराकानी भएको प्रधानमन्त्री देउवाले बताएका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लाग्नुभएको उल्लेख गर्दै बुद्धजयन्तीका दिन लुम्बिनीमा मोदीसँग भेटवार्ता हुने र आवश्यक प्रक्रिया मिलाइ पश्चिम सेती निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता हुन सक्ने बताए । पश्चिमसेतीसँगै महाकालीको पञ्चेश्वर परियोजना बनाउने देउवाको दाबी थियो ।

‘मैले गर्छु भनेका कुराहरू बिर्सेको छैन, तपाईंहरू नआत्तिनुहोस्, उग्रतारामेलौली र पोखरा-बेलापुर हुँदै ढुङ्गागसम्म जाने सडक बनाउँछु भनेको थिएँ, अहिले कालोपत्रे हुँदैछ’ भन्दै प्रधानमन्त्री देउवाले आफूनेतृत्वको सरकार चाँडै ढलिहाल्ने भएकाले बढी विकास गर्न नसकेको प्रष्टिकरण दिए ।

काङ्ग्रेसलाई स्थानीय तहमा जिताए आफूलाई काम गर्न सहज हुने जिकिर गर्दै उनले बागबजार क्षेत्रको सडक चौडा पार्ने, बसपार्क निर्माण गर्ने, मेडिकल कलेज स्थापना गर्ने, प्राविधिक कलेज सञ्चालन गर्ने, एयरपोर्ट निर्माणलगायतका सबै काम चाँडै गर्ने बताए । ‘यदि यी काम नगरे अनि मलाई बदमास भन्नुहोला’- उनले भने ।

यस्तै उनले डडेल्धुरामा काङ्ग्रेसलाई जिताउन आग्रह गरे । आसन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई अत्यधिक बहुमतले जिताउन उनको आग्रह छ । ‘जिल्लामा मेयर/उपमेयर सबै जिताउनुस् । डडेल्धुरामा राजधानी आउँछ, सडक आउँछ’– उनले आश्वासन दिए ।

२०७४ निर्वाचनपछि पहिलो पटक औपचारिक कार्यक्रममा डडेल्धुरा आएका प्रधानमन्त्री देउवाले देशको राजनीति, सत्ता गठबन्धन र चुनावी गठबन्धनका बारेमा नबोले पनि क्रियाशील विवाद समाधान नभएपछि र स्थानीय तहको निर्वाचनमा एकपक्षीय उम्मेदवारी दिएकोमा रुष्ट छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्लासभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदश्य कर्णबहादुर मल्ल पक्षीय पार्टी कार्यकर्ताहरूलाई पार्टीमै फर्किन आग्रह गरे ।