पौडेल आक्रामक बन्नुको रहश्य !

पौडेल आक्रामक बन्नुको रहश्य !


एकपटक प्रधानमन्त्री बन्नका निम्ति वर्षौंदेखि अनेकौँ प्रयास गर्दै आउनुभएका पौडेलले अब देशको कार्यकारी प्रमुख बन्ने आशा सम्भवतः मारिसक्नुभएको छ । काङ्ग्रेस महाधिवेशनमा देउवाबाट राष्ट्रपति बनाइने आश्वासन पाएर देउवातिर लहसिनुभएका वरिष्ठ नेता पौडेल देउवाको मात्र समर्थनबाट राष्ट्रपति बन्न सकिँदैन भन्नेमा स्पष्ट हुनुहुन्छ ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पछिल्लो भूमिकाले काङ्ग्रेसभित्र मात्र नभइ बाहिरसमेत चर्चा पाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले माओवादीलगायत कम्युनिष्ट घटकसँग चुनावी गठबन्धन बनाउने निर्णय लिएपछि वरिष्ठ नेता पौडेलले दउवाको उक्त निर्णयमा हुबहु सहमति नजनाउने ठानिएको थियो । तर पौडेल देउवाभन्दा पनि एक कदम अघि बढेर प्रचण्डलगायत कम्युनिष्ट नेताहरूलाई रिझाउन लागिपर्नुभएको पाइएको छ ।

देउवालाई सघाउने या सभापतिको निर्णयलाई पार्टी निर्णयका रूपमा शिरोधार्य गर्ने मनशायले मात्र पौडेलको भूमिका कम्युनिष्टमैत्री हुन पुगेको देखिँदैन । पौडेलको भूमिका देउवा र कम्युनिष्टमैत्री हुनुका केही कारण देखिएका छन् । पहिलो कारण, पौडेलको राष्ट्रपति बन्ने सपना भएको बुझिन्छ । एकपटक प्रधानमन्त्री बन्नका निम्ति वर्षौंदेखि अनेकौँ प्रयास गर्दै आउनुभएका पौडेलले अब देशको कार्यकारी प्रमुख बन्ने आशा सम्भवतः मारिसक्नुभएको छ । काङ्ग्रेस महाधिवेशनमा देउवाबाट राष्ट्रपति बनाइने आश्वासन पाएर देउवातिर लहसिनुभएका वरिष्ठ नेता पौडेल देउवाको मात्र समर्थनबाट राष्ट्रपति बन्न सकिँदैन भन्नेमा स्पष्ट हुनुहुन्छ । प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलगायतलाई रिझाएर मात्र राष्ट्रपति बन्ने मार्ग प्रशस्त हुने बुझाइ उहाँमा रहेको छ । त्यसैले वर्तमान सत्ता गठबन्धन नजोगाइ नहुने निष्कर्शमा पौडेल पुग्नुभएको छ र, प्रचण्डकी छोरीलाई भरतपुर महानगर प्रमुखमा विजयी गराउन उहाँ सर्वाधिक आक्रामक ढङ्गले लागिपर्नुभएको छ ।

पौडेल आक्रामक ढङ्गले वामपन्थी गठबन्धनको पक्षमा लाग्नुको दोस्रो कारण तनहुँको स्थानीय राजनीति भएको बुझिन्छ । तत्कालिक एमालेका उम्मेदवार किसन श्रेष्ठबाट २०७४ को संसदीय निर्वाचनमा पराजित हुनुभएका पौडेल आगामी संसदीय निर्वाचनमा श्रेष्ठको समेत साथ लिएर सांसद बन्ने सोचमा रहनुभएको छ । श्रेष्ठ यतिबेला माधव नेपाल नेतृत्वको नेकपा समाजवादी नामक पार्टीमा आवद्ध छन् र, माधवले तनहुँमा आफूलाई समर्थन गर्ने विश्वासमा पौडेल हुुनुहुन्छ । माधव र प्रचण्डको समर्थन भएमा गोविन्दराज जोशीले चाहेर पनि आफूलाई पराजित गर्न नसक्ने ठहर पौडेलको छ ।

आगामी संसदीय निर्वाचनमा विजयी बन्नका लागि प्रचण्ड, शेरबहादुर देउवा, बाबुराम भट्टराई र माधव नेपालझैँ पौडेललाई पनि गठबन्धनको अपरिहार्यता रहेको हुनाले उहाँ गठबन्धन जोगाउन र भरतपुर महानगरमा प्रचण्डपुत्री रेणु दाहाललाई चुनाव जिताउन विशेष रूपले सक्रिय हुनुभएको बुझिएको छ । यसो गरेपछि प्रचण्ड र माधवले तनहुँबाट संसदीय निर्वाचनमा विजय गराइदिने पूर्ण विश्वासमा रामचन्द्र पौडेल रहनुभएको छ ।