- विकास रौनियार, धादिङ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुदा २० जना भन्दा बढी घाइते भएका छन् ।
झडपमा परि नेपाली कांग्रेसका वडाअध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको टाउको, दाहिने आँखा, दाँतलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
झडपमा परी घाइते हुनेहरुमा कांग्रेस कार्यकर्ताहरु तेजकुमार श्रेष्ठ, कविराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, हरिबहादुर श्रेष्ठ, बाबुराम श्रेष्ठ, सुमन श्रेष्ठ, सुब्बा नेपाली, विष्णुकुमार श्रेष्ठ, राजकुमार उपरकोटी, भुपेन्द्र श्रेष्ठ, रामहरि मगराती, राजकुमार श्रेष्ठ, विष्णुकुमार नेपाली, गोकर्ण उपरकोटी, लक्ष्मण राना, विवश राना, विकेश राना, गोपी नेपाली, अनुप श्रेष्ठ, राजकुमार उपरकोटी लगायत छन् ।

त्यस्तै, माओवादी केन्द्रका अनिल श्रेष्ठ र विष्णु राना पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मौन अवधिमा पनि बुधबार राति चुनावी प्रचारप्रसारमा लागेको एक स्थानीयले बताए । चुनावी प्रचारमा लागेका दुई पार्टीबीच जम्काभेट हुँदा झडप भएको उनको भनाइ छ । मौन अवधिमा भोट माग्न पाइँदैन, तर वडा अध्यक्षसहित गाउँमा भोट माग्न आएका दुई राजनितिक दलबीच झडप भएको उनले बताए ।
नेपाली कांग्रेसका नेताहरुले चाहिँ आफ्ना कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको खबर पाएर जाँदा उनीहरुले पुनः आक्रमण गरेको बताएका छन् । झडपमा परी घाइते बनेका कविराज श्रेष्ठले भने, ‘हामी त हाम्रो साथीहरुलाई चुटे भन्ने सुनेर लिन गएका थियौँ, तर बाटोमै उल्टो हामीले पनि चुटाइखायौँ । एक्कासी लाठी तथा ढुङ्गामुढा भयो । गाडीबाट झर्नै नपाइ हामी सबै घाइते बन्यौँ ।’

झडप भइसकेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले एकअर्कालाई दोषारोपण गरिरहेका छन् । नेपाली कांग्रेसले माओवादी कार्यकर्तालाई आक्रमण गरेको कारण झगडा शुरु भएको माओवादीका एक कार्यकताले बताए । कांग्रेसले झगडा र झडप शुरु गरेको उनको दाबी छ ।
ज्ञातव्य छ, धादिङमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल गरिएको छ । नीलकण्ठ नगरपालिकामा मेयर नेपाली कांग्रेस र उपमेयर माओवादी केन्द्रलाई भाग परेको छ । तर दलहरुले नीलकण्ठ नगरपालिकामा वडा नम्बर ६ मा गठबन्धनविरुद्ध आ-आफ्नै उम्मेदवार उठाएका छन् ।
प्रतिक्रिया