विक्रमासिङ्घे श्रीलंकाको नयाँ प्रधानमन्त्री

विक्रमासिङ्घे श्रीलंकाको नयाँ प्रधानमन्त्री


श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले त्यहाँका वरिष्ठ नेता रनिल विक्रमासिङ्घेलाई नयाँ प्रधानमन्त्रीका रूपमा बिहीबार सपथ ग्रहण गराएका छन् ।

श्रीलंकाका चार पटक प्रधानमन्त्री भइसकेका विक्रमासिङ्घेलाई तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अक्टोबर २०१८ मा प्रधानमन्त्री पदबाट हटाएका थिए । तर, दुई महिनापछि नै सिरिसेनाले उनलाई पदमा पुनःबहाली गर्न बाध्य हुनु परेको थियो ।

श्रीलंकाको २२५ सदस्यीय संसद्मा रनिल विक्रमासिंघेको युनाइटेड नेशनल पार्टी (युएनपी) सँग एउटा मात्र सिट छ। एजेन्सीहरुका अनुसार विक्रमासिङ्घेलाई अन्तरिम सरकारको नेतृत्व गर्न सबै दलको समर्थन रहेको छ । उनी ६ महिनाका लागि प्रधानमन्त्री नियुक्त भएका हुन् ।

युएनपीका अध्यक्ष भी अवेवर्देनाले विक्रमासिंघेले नयाँ प्रधानमन्त्रीको सपथ लिएपछि आफूले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।

२०२० को पछिल्लो संसदीय निर्वाचनमा देशको सबैभन्दा पुरानो पार्टी युएनपीले एउटा मात्र सिट जितेको थियो । युएनपीको गढ मानिने कोलम्बोबाट पनि विक्रमासिङ्घेको पार्टी पराजित भएको थिषो। उनका सहकर्मी सजित प्रेमदासले विक्रमासिङ्घेबाट अलग भएर छुट्टै पार्टी एसजेबी बनाए जुन अहिले प्रमुख प्रतिपक्ष दल बनेको थियो ।

स्रोतहरूका अनुसार, सत्तारूढ श्रीलंका पोदुजाना पेरामुना, विपक्षी समगी जन बलावेगयाको गुट र अन्य धेरै दलहरूले संसदमा बहुमत प्रमाणित गर्न विक्रमासिंघेलाई समर्थन जनाएका छन्।

७३ वर्षीय नेता विक्रमासिङ्घे दूरदर्शी नीतिका साथ अर्थतन्त्रलाई सम्हाल्ने नेताका रूपमा चिनिन्छन् । उनी अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न सक्ने श्रीलंकाली राजनीतिज्ञ मानिन्छन् ।

यसबीच श्रीलंकामा जारी संकटकालमा श्रीलंकाको अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनका सहकर्मीलाई देश छाड्न प्रतिबन्ध लगाएको छ ।

श्रीलंकामा महिन्दा राजापाक्षे समर्थकहरूले सरकारविरोधी प्रदर्शनकारीमाथि आक्रमण गरेपछि देशमा हिंसा भड्किएको थियो । महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि जनआक्रोश शान्त नभएपछि प्रदर्शनकारीले प्रधानमन्त्री निवास टेम्पल ट्रीमा प्रवेश गरी आगजनी गरेका थिए । यसपछि पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवारलाई विशेष हेलिकोप्टरबाट त्रिन्कोमालीस्थित नौसेना बेसमा ल्याइयो । त्यसयता उनी र उनको परिवार त्यहीँ शरणगत छन् । यो टापु देशको उत्तरपूर्वी भाग हो। तर यो नौसेना बेस पनि जनताले घेरिएको छ।