स्थानीय तहको निर्वाचन शान्तिपूर्ण हुन नसकेको मानवअधिकार आयोगको ठहर

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण हुन नसकेको मानवअधिकार आयोगको ठहर


निर्वाचन आयोग भन्छ- ‘शान्तिपूर्ण र उत्साहजनकरूपमा भयो मतदान’

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन शान्तिपूर्ण हुन नसकेको बताएको छ ।

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताएका हुन् । आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुन नसकेको उनले बताए ।

‘आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षाकृत गरे जस्तो शान्तिपूर्ण हुननसकेको देखिन्छ’ मगरले भनेका छन् ।

आयोगले ७७ वटै जिल्लामा अनुगमन गरेको जनाएको छ । अध्यक्षसहितको सात वटा उच्चस्तीय टोलीले मतदानको अनुगमन गरेको थियो। उनका अनुसार आयोगको ४५ वटा टोलीले मानव अधिकारको अवस्था बारेमा अनुगमन गरेको छ । ७७ वटै जिल्लामा अनुगमन गरेको थियो ।

आयोगका अनुसार देशका कतिपय निर्वाचन केन्द्रको मतदान स्थगित गरिएको छ ।

उता निर्वाचन आयोगले चाहिँ आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको दाबी गरेको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भइ मतदान अवरुद्ध भएको र स्थगनको विस्तृत विवरण आउन बाँकी रहेको जनाउँदै अधिकांश स्थानमा मतदान सम्पन्न शान्तिपूर्ण रुपले भएको जिकिर गरे ।

साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिए पनि सो समयमा मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई मतदान गर्न दिइने भएकाले कूल खसेको मत यकिन सङ्ख्या र प्रतिशत प्राप्त भइनसकेको उननको भनाइ थियो ।

प्रवक्ता शर्माले मतदान सम्पन्न भई सुरक्षितरूपमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफलपछि शहरी क्षेत्रमा आजै रातिदेखि मतगणना कार्य सुरु हुने जानकारी दिए ।

आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवाद भएका कारण मतदान कार्य अवरुद्ध भएको थियो । अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्नेछन् ।