मतदातालाई धन्यवाद दिँदै ओलीले भने- ‘पुनः मतदानको मागप्रति गम्भीरता अपनाइयोस्’

मतदातालाई धन्यवाद दिँदै ओलीले भने- ‘पुनः मतदानको मागप्रति गम्भीरता अपनाइयोस्’


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लाखौँ नयाँ मतदाता र ११३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका साथ मतदानमा भाग लिने मतदाताहरूलाई धन्यवाद दिएका छन् ।

अध्यक्ष ओलीले शुक्रबार एक विज्ञप्ति जारी गरी मतदान गरेलगत्तै निधन भएका र मतदानका लागि जाँदै गर्दा सवारी दुर्घटनाबाट ज्यान गुमाएका मतदाताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

उनले भयरहित वातावरणमा स्वच्छ निर्वाचनका लागि पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक र अधिकतम सकारात्मक भूमिका निर्वाह भएको जिकिर गरेका छन् ।

विज्ञप्तिमार्फत अध्यक्ष ओलीले स्वतन्त्र निर्वाचनविरुद्ध भएका घटनाको विरोध गरेका छन् । स्वच्छ निर्वाचनविपरीतका घटना भएका, मतदान केन्द्रको अनाधिकृत कब्जा गरिएका र भय-त्रास सिर्जना गरी मतदाताहरूलाई आतङ्कित पारिएका स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरीसमेत गरिएको जानकारी दिँदै केपी ओलीले भनेका छन्- ‘त्यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिन आयोगको ध्यानाकर्षण गराउँदछु ।’

अप्ठ्याराका बाबजुद निर्वाचनलाई सम्पन्न गर्न निष्पक्ष भूमिका खेल्ने निर्वाचन आयोगद्वारा परिचालित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई उनले धन्यवाद दिएका छन् ।