उत्तर कोरियामा ज्वरोबाट २१ को मृत्यु, कोभिडको आशंका

उत्तर कोरियामा ज्वरोबाट २१ को मृत्यु, कोभिडको आशंका


उत्तर कोरियाले ‘ज्वरो’बाट थप २१ जनाको मृत्यु भएको शनिबार घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशंका गरिएको एएफपीले जनाएको छ । यहाँ कोभिड-१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताइएको छ ।

उत्तर कोरियामा कोभिडविरुद्धको खोप लगाइएको छैन । खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।

यहाँ शुक्रबार एकै दिनमा मात्रै एक लाख ७४ हजार ४४० जना भन्दा बढीलाई ज्वरो आएको थियो । कम्तीमा ८१ हजार ४३० जना पूर्णरूपमा निको भएका थिए । यस ज्वरोको कारण देशभर २१ जनाको मृत्यु भएको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएको छ ।

उत्तर कोरियाको राजधानी प्योङ्गयांगमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका गत बिहीबार पुष्टि भएको थियो । त्यहाँ नेता किम जोङ उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिएका छन् ।