काठमाडौं महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६२०७ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका छन् ।
नेकपा (एमाले)का केशव स्थापितलाई ३२४३ र नेपाली कांग्रेसका सिर्जना सिंहलाई हालसम्म २८८५ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुनिता डङ्गोलले ५८९६ र नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १६३२ मत प्राप्त गरेका छन् ।
निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको पनि जनाएको छ । हाल राष्ट्रिय सभागृहबाट कामपाको मत गणना भइरहेको छ । अहिले २, ३, ४, ५, ३१ र ३२ मत गणना कार्य भइरहेको छ ।
वडा नम्बर १ को मतपरिणाम आइतबार नै सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय भएका छन् ।
केही समयभित्र वडा दुईको पनि मतपरिणाम सार्वजनिक गरिने काठमाडौं जिल्लाका निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
यस्तै, ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ ।
पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले ४३१२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले २०३८ मत पाएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले १८८६ मत र नेकपा (माओवादी केन्द्र)का बाबुराजा बज्राचार्यले १३१७ मत पाएका छन् ।
महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म एउटा वडाको मात्रै परिणाम आएको छ । शनिबार मध्याह्न १२ बजे मतगणना सुरु भएको थियो । हाल २, ३ र ४ वडा तीन ठाउँमा गणना भइरहेको छ ।
वडा नम्बर १ अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयीभएका छन् । उनले ६६१ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ध्रुव तण्डुकारले ४२५ मत प्राप्त गरे ।
प्रतिक्रिया