दलभन्दा बलिया उम्मेदवार

दलभन्दा बलिया उम्मेदवार


पाँच वर्षको गुप्त तयारीमा बालेनले हाशील गरेको सफलताले उनको कार्य क्षमता मात्र उजागर गरेको छैन, युटयूब या माइतिघरमा उफ्रिपाफ्री गर्नेहरू भन्दा गुप्त रणनीतिक योजनाका साथ क्रियाशील इमानदार मानिस नै राजनीतिमा सफल हुन सक्छन् भन्ने सन्देश पनि दिएको छ ।

देशको राजधानी काठमाडौंमा सत्तारुढ काङ्ग्रेस र प्रमुख विपक्षी नेकपा एमालेलाई स्वतन्त्र उम्मेदवार बालेन शाहले कडा चुनौती दिएका छन् । मूख्य प्रतिष्पर्धी नेकपा एमालेका केशव स्थापित भन्दा झण्डै दोब्बर मतले बालेन अगाडि छन् । जुन किसिमले बालेनले अग्रता लएका छन् यसलाई हेर्दा महानगर प्रमुखमा उनको विजय नहोला भन्न सकिँदैन । तर महानगरको बाहिरी क्षेत्रबाट मतगणना भएकोले उनको विजय अझै सुनिश्चित भइसकेको छैन । शहरको भित्री भाग जहाँ मतदाताहरूको सङ्ख्या अधिक छ र जातिय मत जाने सम्भावना पनि सोही क्षेत्रमा छ । त्यसैले भित्री शहरको मतगणना शुरु भएपछि मात्र परिणामबारे यकीन गर्न सकिने छ ।

बालेनले प्राप्त गरेको मत परिवर्तनको पक्षमा भएको विश्लेषण बौद्धिक समूहले गर्न थालेका छन् । त्यो जे भए पनि बालेनको मतले काठमाडौंमा प्रमुख निर्वाचित हुन निश्चित जातिकै मानिस हुनुपर्ने अवधारणालाई गलत प्रमाणित गरिदिएको छ । त्यस्तै, काठमाडौंले हिमाली, पहाडी र मधेशीबीच भेदभाव गर्दैन भन्ने सन्देश पनि यसले दिएको छ । पाँच वर्षको गुप्त तयारीमा बालेनले हाशील गरेको सफलताले उनको कार्य क्षमता मात्र उजागर गरेको छैन, युटयूब या माइतिघरमा उफ्रिपाफ्री गर्नेहरू भन्दा गुप्त रणनीतिक योजनाका साथ क्रियाशील इमानदार मानिस नै राजनीतिमा सफल हुन सक्छन् भन्ने सन्देश पनि दिएको छ ।

धनगढी उपमहानगरमा प्रमुखका उम्मेदवार गोपाल हमाल (गोपी) पनि देशका पुराना दलहरूभन्दा शक्तिशाली शिद्ध भएका छन् । प्रधानमन्त्री-पत्नी आरजु राणाको निर्वाचन क्षेत्रमा गोपी हमालको राजनीतिक हैसियत यति बलवान देखियो कि अब उक्त संसदीय क्षेत्रमा गोपीको इच्छाविपरीतका मानिस उम्मेदवार बनेर विजयी बन्न मुस्किल देखिन्छ । गोपीको शक्ति र प्रभावले इमानका साथ राम्रो काम गर्न सक्दा राजनीतिक दलभन्दा स्वतन्त्र व्यक्ति लोकप्रिय हुन सक्ने तथ्यको पुष्टि पनि गरेको छ ।

त्यस्तै, जनकपुर उपमहानगरमा प्रमुखका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले पनि स्थापित राजनीतिक दलहरू भन्दा आफू बलियो भएको प्रमाणित गरेका छन् । यीबाहेक देशका कैयन पालिका र वडाहरूमा पनि दलका भन्दा स्वतन्त्र उम्मेदवार बलियो भएको पाइएको छ । गत स्थानीय निर्वाचनमा भन्दा यस पटक देशभर स्वतन्त्र उम्मेदवारहरूको सङ्ख्या अतुलनीय रूपमै अधिक रह्यो । यसले स्थानीय निर्वाचन गैह्रदलीय हुनुपर्ने कुराको पृष्ठभूमि बनाएको ठानिएको छ ।