प्रधानमन्त्रीका कारण देशकै चरम बेइज्जत !

प्रधानमन्त्रीका कारण देशकै चरम बेइज्जत !


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ आयोजित समारोहलाई सम्बोधन गरिरहँदा शेरबहादुर देउवा बारम्बार उँघिरहेका थिए र, कुनै आवाजले झस्किएर ब्युँझिएपछि उनी हातखुट्टा चलाएर छटपटिएको अवस्थामा देखिन्थे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वाभाविक व्यवहार देखाएर देशकै बेइज्जत गरेको विषयले यतिबेला मुलुकभर चर्चा पाएको छ । जेठ २ गते लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष भ्रमणका क्रममा प्रकट देउवाको हर्कतलाई लिएर यसरी देशव्यापी चर्चा र टिप्पणी भएको हो ।

लुम्बिनीमा भारतीय प्रधानमन्त्री दुई हात जोडेर भगवान् बुद्धप्रति आस्थाभाव प्रकट गरिरहँदा देउवा घरि कपाल कन्याउने, घरि नाकमा हात पुऱ्याउने त घरि न घरि हातगोडा चलाएर छटपटिएको स्थितिमा प्रस्तुत भएका थिए । मायादेवी मन्दिरमा समकक्षीले हात जोडेर प्रार्थना गर्न थालेपछि आफ्ना प्रधानमन्त्री औपचारिकताकै निम्ति भए पनि प्रार्थना-मुद्रामै प्रस्तुत हुने अपेक्षा समारोहका सहभागी तथा त्यहाँको गतिविधि सञ्चारमाध्यममार्फत अवलोकन गरिरहेका आममानिसले गरेका थिए । तर देउवाले भारतीय प्रधानमन्त्रीको स्थितितर्फ ध्यान दिएनन्, बरु अभद्र किसिमबाट आसनमा बसेर उनले ‘कोट्याउने’, ‘कन्याउने’, ‘निदाउने’ जस्तो असभ्य मानिने व्यवहार दर्शाए । यस घटनाबाट आमनेपालीले आफ्नो अपमान र बेइज्जती भएको महसूस गरेका छन् । ‘हाइ’ गर्दासमेत देउवाले आफ्नो मुख नढाक्नुलाई असभ्य व्यवहारको पराकाष्टा मानिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ आयोजित समारोहलाई सम्बोधन गरिरहँदा शेरबहादुर देउवा बारम्बार उँघिरहेका थिए र, कुनै आवाजले झस्किएर ब्युँझिएपछि उनी हातखुट्टा चलाएर छटपटिएको अवस्थामा देखिन्थे । देउवाको अनुहार बेचैनीपूर्ण रहेको महसूस पनि उनको निकट रहनेहरूले गरेका थिए । त्यसरी देउवा बारम्बार उँघ्न थालेपछि कतिपयले ‘बिहानै बियर पिउनुको परिणाम’ भनेर टिप्पणी पनि गरेका थिए । तर उनले कहाँ कति बियर पिएका थिए भन्ने कुराको पुष्टि हुन सकिरहेको छैन । देउवाको सम्बोधन पनि कसैले बुझ्ने स्तरको हुन सकेन, उनको प्रस्तुति अत्यन्तै कमजोर तथा अस्पष्ट थियो ।

भारतीय प्रधानमन्त्रीका साथ लुम्बिनीमा प्रधानमन्त्रीका सूरक्षा सल्लाहकार अजित डोभल तथा विदेशसचिव विनय मोहन क्वात्रा लगायत सीमित अधिकारीहरू सहभागी थिए । तर नेपालका तर्फबाट भने सात मन्त्री, एक मूख्यमन्त्री र त्यति नै सङ्ख्यामा सचिवहरूको समेत उपस्थिति थियो, जसको त्यहाँ कुनै काम थिएन । मन्त्री र सचिवहरू यत्रतत्र लखरलखर हिँडिरहेको देखेर देख्नेहरूले नै अप्ठ्यारो मानेका थिए ।

दुई मुलुकका प्रधानमन्त्रीहरूबीच संवाद चलिरहँदा देउवाले अनायासै उदयपुरमा एक सडक निर्माण गरिदिन मोदीसँग आग्रह गरेका थिए । तर देउवाको बोली नबुझेर हो या विनातयारीको विषयमा माग भएकोले हो, मोदीले त्यस विषयमा कुनै पनि प्रकारले ‘रेस्पोन्स’ गरेनन् ।

त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हेलिकोप्टरबाट उत्रिएपछि उनलाई हेलिप्याडदेखि सम्मेलन कक्षसम्म पु¥याउने क्रममा बाटो र बाटोवरिपरि देखिएको दृष्यले पनि नेपालको बेइज्जत गरिरहेको थियो । करिब डेढ सय मिटर बाटोमा यत्रतत्र खाल्डाखुल्डी र फोहोर देखिन्थ्यो । बाटोको अवस्था हेर्दा नेपालले भारतीय प्रधानमन्त्रीलाई आवश्यक इज्जत र सम्मान नदिएको अनुभूति जो-कोहीले गरेका थिए । हेलिप्याडदेखि सभाकक्षसम्मको करिब डेढसय मिटर बाटोलाई समेत उचित व्यवस्थापन गर्न नसकेको देखेर भारतीय पक्षले के ठाने भन्ने जानकारी हुन सकेको छैन, तर यो दृष्य देख्ने सञ्चारकर्मी तथा अन्य प्रबुद्ध व्यक्तिहरूले भने निकै असहज मानेका थिए ।

भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणलाई निकै महत्वपूर्ण तथा उपयोगी बनाउन सकिन्थ्यो । नेपाली पक्ष विनागृहकार्य त्यहाँ उपस्थित भएको र प्रधानमन्त्री देउवाको अशिष्ट व्यवहारका कारण भारतीय प्रधानमन्त्रीको भ्रमणबाट नेपालले ठोस लाभ लिन नसकेको ठानिएको छ ।

यससँगै प्रधानमन्त्री त ‘यो स्तरका’ छन् भने आम नेपालीको स्तर कस्तो होला भनी अन्तर्राष्ट्रिय स्तरमै टिकाटिप्पणी हुने स्थिति पनि पैदा गरेको छ ।

देउवाको व्यवहारका कारण नेपालको प्रतिष्ठामा धक्का पुगेको यो पहिलो पटक भने होइन । गत वर्ष अमेरिका भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनले ‘यु आर फ्रम नेपाल ?’ भन्दै हात मिलाएपछि आफूलाई वाइडेनले चिनेकोमा खुशीले बालकझैँ सबैलाई सुनाउँदै हिँडेका थिए । तर नेपाल फर्किएर विमानस्थलमा आइपुगेपछि पत्रकारहरूलाई भ्रमण उपलब्धिमूलक भएको स्पष्ट गर्दै उनले आफूलाई वाइडेनले चिनेको सगौरव बताएका थिए । कुनै मुलुकका राष्ट्रप्रमुखले आफूलाई चिनेकोमा सार्वजनिक रूपमै खुशी प्रकट गर्ने संसारकै सम्भवतः पहिलो प्रधानमन्त्री देउवा बनेका थिए । उनको भावभङ्गिमा र शैलीका कारण नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा पटक-पटक अपमानित हुनुपरेको छ ।

२०५० सालमा गृहमन्त्री रहँदा शेरबहादुर देउवाले एक सार्वजनिक समारोहमा ‘हाइ’ गरेको र, उक्त तस्बिर एक पत्रिकामार्फत सार्वजनिक भएपछि नेकपा एमालेले एक वक्तव्य प्रकाशित गरेर गम्भीर आपत्ति जनाएको थियो । कुनै विषयलाई लिएर आन्दोलनरत नेकपा एमालेले देउवाको उक्त मुद्रा आन्दोलनकारीलाई तर्साउनका लागि नियोजित ढङ्गले बनाइएको भन्दै वक्तव्यमार्फत ‘हाइ मुद्रा’को व्यापक आलोचना गरेको थियो ।

त्यसैगरी २०५३ सालमा सरकार जोगाउनका निम्ति सुरा, सुन्दरी र नगद प्रयोग गरेको र, केही सांसदहरूलाई लुकाउन बैंककसम्म पुऱ्याएको घटनाले पनि शेरबहादुर देउवा तथा देशको निकै बदनाम भएको थियो । यसरी नेपालको मानमर्दन गर्नमा शेरबहादुर देउवाले तीन दशकभित्र विभिन्न प्रकारले योगदान पुऱ्याउँदै आएका छन् ।