अनुसन्धान नभएकै कारण देशको दक्ष जनशक्ति पलायन : महावीर पुन

अनुसन्धान नभएकै कारण देशको दक्ष जनशक्ति पलायन : महावीर पुन


  • सनत आचार्य

युरोप यात्रामा रहनुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपालमा अनुसन्धान गर्ने पद्धति नभएका कारण सर्जक, दक्ष जनशक्ति तथा अनुसन्धानकर्ताहरू पलायन भएका र त्यले गर्दा देश गरिब भएको बताउनुभएको छ ।

बेल्जियमको आन्तर्पेनमा मंगलबार आयोजित ‘आर्थिक रूपले गरिब देशमा अनुसन्धान र सृजनाको आवश्यकता’ विषयक अन्तर्क्रियात्मक कार्यक्रममा डा. पुनले यस्तो धारणा राख्नुभएको हो ।

गैरआवासीय नेपाली संघ बेल्जियम, विश्व मगर संघ, तमु धीं र प्रबासी म्याग्देली नेपाली संघ (मोना)द्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पुनले नेपाल जस्तो देशमा अर्थतन्त्र सुधार गर्न अनगिन्ती उपाय भएको तर त्यसमध्ये प्रमुख भनेको अनुसन्धान र आविष्कार रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा सुधार आयो भने बजार चलायमान हुने र बजार चलायमान हुनु भनेको देश समृद्धितर्फ अग्रसर हुने बताउनुभयो ।

समृद्ध राष्ट्रहरूले विभिन्न विषयमा अनुसन्धान गर्छन् र सोहीअनुसार कार्यक्रम र नीतिहरू बनाउँछन्, अनि उनीहरू समृद्धिको बाटोतर्फ लाग्छन् तर नेपालमा भने यसो नगरिएकोमा दुःख व्यक्त गर्दै उहाँले आफू युरोपका विभिन्न देशहरूमा आउँदा अनुसन्धानको क्षेत्रमा लागेका थुप्रै नेपालीहरूलाई भेटेको र उनीहरू अनुसन्धानमा लागेको सुन्न र देख्न पाउँदा आफूलाई खुसी र चिन्ता दुवै लागेको बताउनुभयो ।

पुनले आफू २० वर्षअघि आविष्कार केन्द्र खोल्नुपर्छ भन्ने मनसायमा नरहे पनि सामाजिक कामहरू गर्दै जाँदा यो आवश्यक रहेछ भन्ने महसूस भएर आविष्कार केन्द्रको स्थापना गरिएको जानकारी दिनुभयो ।

देश–विदेशबाट व्यक्तिगत तवरबाट सहयोग गर्ने चन्दादाताहरू भएता पनि त्यसरी काम नचन्ले भएकोले न्यूनतम रकम छुट्याउन सरकारलाई आग्रह गर्दा उपेक्षा गरिएको गुनासो उहाँले गर्नुभयो । डा. पुनले स्वदेशमा रोजगारी सृजना नहुँदा लाखौँ युवाहरू पलायन भएका र नेपालमै रोजगारी सृजना गर्नु अहिलेको आवश्यकता रहेको औंल्याउनुभयो ।

समाजसेवाले राहत मात्र दिने तर देश विकास हुँदैन भन्दै देश विकासका लागि राज्यले लाखौँ युवालाई रोजगारी दिन आवश्यक रहेको र त्यसका लागि अनुसन्धान तथा सृजनालाई जोड दिँदै उद्यमशीलता बढाउनुपर्नेमा सुझाव उहाँले दिनुभयो ।

पुनले देश विकासका लागि पैसा पनि आवश्यक पर्ने तर पैसा भन्दा पनि मानवपूँजी महत्वपूर्ण हुने भएकोले राज्य यो पूँजीको पहिचान र प्रयोग गर्न नसकेको आरोप लगाउनुभयो । प्रवासमा रहेका राम्रा ज्ञान, सृजना र सीप भएकाहरूलाई सहकार्य गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि राजदूतावासका द्वित्तियसचिव रुउस कार्कीले आविष्कार केन्द्रले गरेका कामहरूको प्रशंसा गर्दै वर्तमान कानुनअनुसार केन्द्रीय, प्रदेश र स्थानीय सरकारले पनि अनुसन्धान र सृजनका लागि लगानी गर्नसक्ने जानकारी दिनुभयो ।

एनआरएनए केन्द्रीय कोषाध्यक्ष लोक दाहालले आविष्कार केन्द्र विश्वभरीका नेपालीहरुको आशाको केन्द्र भएकोले आफुहरूले केन्द्रसँग सहकार्य गर्न सक्ने र प्रवासी युवाहरूलाई जन्मभूमिमा फर्केर हेर्न र सेवा गर्न आग्रह गर्नुभयो ।

एनआरएनए बेल्जियमका अध्यक्ष एवम् कार्यक्रमका सभापति खड्कबहादुर केसीले समुन्नत राष्ट्र बनाउन महावीर पुनले खेल्नुभएको भूमिकाको प्रशंसा गर्दै मातृभूमिका लागि आफूसक्दो लगानी गर्न सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा आयोजक गैरआवासीय नेपाली संघ बेल्जियम, विश्व मगर संघ, मोना बेल्जियम र तमु धींद्धारा पुनलाई सम्मान गरिएको थियो ।

प्रविणा गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा मोना बेल्जियमका अध्यक्ष रकेन्द्र घिमिरेले स्वागत भाषण गर्नुभएको थियो भने विश्व मगर संघका लोक रानाले पुनको व्यक्तित्व र भूमिकाको चर्चा गर्नुभयो । त्यस्तै, डा. पुनको भ्रमणबारे भ्रमण दलका संयोजक हरिकृष्ण न्यौपानेले जानकारी दिनुभएको थियो ।

आविष्कार केन्द्रलाई सहयोग गर्न आग्रह

त्यस्तै बुधबार नेपाल पत्रकार महासंघ बेल्जियमद्धारा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आविस्कार केन्द्रका अध्यक्ष डाक्टर पुनले यो पटक युरोपको प्रवासी समुदायलाई आविस्कार केन्द्रका गतिविधिका बारेमा जानकारी गराउन पाएको खुसी व्यक्त गर्दै थप अनुसन्धानका लागि व्यक्ति–व्यक्तिको सहयोग आवश्यक रहेकोले सीप क्षमता भएकाहरूले सहकार्य गर्न आग्रह गर्नुभयो ।

डाक्टर पुनले आफ्नो युरोपको भ्रमण आर्थिक संकलन गर्न नभइ विचार र सृजना खोज्ने भएको बताउनुभयो । उहाँले राज्य र सरकारको आजको आवश्यकता भनेको अनुसन्धानमा लगानी गर्ने, नयाँ–नयाँ सृजनाको आविष्कार गरी रोजगारीको सृजना गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष पुनले आफूसँग भएको कुनै पनि सृजना र सीप भएका व्यक्तिहरुले आविष्कार केन्द्रमा लिखित वा मौखिक प्रस्ताव राख्न र सहकार्य गर्न आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलन नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम् शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा तेज नेपाली र सुदर्शन सिम्खडाले सुचना प्रविधिका क्षेत्रमा आफूहरूले गर्न खोजेको प्रयासहरुको बारेमा जानकारी र सुझाव प्रदान गरिएको थियो ।