देश हाँक्ने उही भयो !

देश हाँक्ने उही भयो !


  • चट्याङ मास्टर

सिद्धान्त होस् वा आविष्कार, पत्ता लगाउने अरू
सबैले त्यो बुझून् भन्दै, सरल व्याख्या दिनेहरू
पुरानै कुरा हुन् ती, सैयौँ जन्ले सरल गरी
विद्यार्थीसामु आइपुग्छ, पाठ्यपुस्तक बनिवरी ।

विद्यार्थी त्यो किन बुझ्थ्यो ? बुझाउनै खटिए गुरु
देहोऱ्याइ-तेहेऱ्याइ सम्झाउँदा, नबुझे सोध लौ अरू
पहिले मुखले भन्छ, बोर्डमा पनि लेख्तछ
धर्का तान्छ अनि मेट्छ, चित्र नै पनि कोर्दछ
उदाहरण अनेक दिन्छ, होमवर्क पनि दियो
क्वेश्चन-एन्सर गराएर, छड्के जाँच पनि लियो ।

विद्यार्थी त्यो किन बुझथ्यो ? ट्युशनमा बुझ्छ कि बरु
एक-दुई ट्युशनले के बुझथ्यो ? चार-पाँच ट्युशन थप्यो अरू
इम्पोर्ट्यान्ट चिनो लायो, कम्बाइन्ड स्टडी गऱ्यो
लाइब्रेरीको किताब ल्यायो, गाइड-बुक पनि हेऱ्यो
गेस-पेपर पनि ल्यायो, बजारमा पाइनेजति
प्रश्नपत्र विगत सालका, बटुल्यो त्यो सकेजति
गेसभित्र पनि गेस, योभन्दा अझ बेस छ
गुरुजी प्रश्न के आउला ? भनेरै सोध्न मिल्दछ ।

विद्यार्थी त्यो किन बुझथ्यो ? जाँचदेखि डराउँछ
जाँचमा प्रश्नको साथै, उत्तरै पनि आउँछ
चिनो मात्र लगाइदेऊ, छानेर एक उत्तर
सबै प्रश्न गर्नु पर्दैन, छानेर सजिलो गर
अड्किए कुनै बेला, जाँचकै हलमा पनि
एक-दुई कुरा सोध्न मिल्छ, दायाँबायाँ भए पनि
ग्रेस मार्क पनि हुन्छ, पास मार्क टेकाउन
सयमा तीस भए पुग्छ, पास भो कहलाउन
तैपनि भए फेल, फेरि जाँच दिन मिल्दछ
पुरानै कुरा दोहोऱ्याउन, पूरै एक वर्ष मिल्दछ ।

विद्यार्थी त्यो किन बुझथ्यो ? फेल दुई-चार पटक भयो
जसले किताब लेखेको थ्यो, त्यसकै आत्मा पनि रोयो
यस्ताले के गरिखाला ? ठूलो चिन्ता यही थियो
पछि गै झण्डा हल्लाइ, देश हाँक्ने उही भयो !