अमेरिका र यूरोपमा ‘मङ्कीपक्स’ भाइरसबाट सङ्क्रमणपछि साबधानीका लागि आग्रह

अमेरिका र यूरोपमा ‘मङ्कीपक्स’ भाइरसबाट सङ्क्रमणपछि साबधानीका लागि आग्रह


कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई निको पार्दै अघि बढ्न प्रयासरत विश्व समुदायमा ‘मङ्कीपक्स’ नामक भाइरसको सङ्क्रमण देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले विश्वका सबै मुलुकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

अफ्रिकामा पहिलो पटक पत्ता लागेको यो भाइरस सन् २००३ मा अमेरिकाको कयौं शहरमा देखापरेको थियो तर केही समयमै नियन्त्रणमा आएको थियो । भाइरसको सङ्क्रमण उत्तर अमेरिकी मुलुक तथा यूरोपमा पनि देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यो वर्ष सुरुमा बेलायतमा देखापरेको भाइरस अमेरिकाको टेक्सासमा पनि फैलिएको छ । भाइरसको संक्रमण नाइजेरियाको भ्रमणबाट अमेरिका फर्किएका व्यक्तिमा पुष्टि भएको हो । बिफरसँग मेल खाने यो भाइरसको लक्षण हात खुट्टाबाट सुरु भइ शरीरभरी फैलिने गर्छ ।

यो रोगमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने र पछि बिस्तारै शरीरभर पानीको फोका देखापर्ने गर्दछ ।

डब्ल्युएचओका अनुसार मङ्कीपक्स एक सरुवा रोग भएका कारण उच्च सतकर्ता अपनाउनुपर्ने हुन्छ । अमेरिकामा मङ्कीपक्स पुष्टि भएका व्यक्तिलाई छुट्टै निगरानी बढाइएको छ । यद्यपि मङ्कीपक्स सर्ने माध्यम पानीको सानो-सानो कणलाई मानिने हुँदा यसको फैलावट अन्य रोगजस्तो हुन नसक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।