बर्दघाट नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी

बर्दघाट नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पाँच दलिय गठबन्धन प्यानलका उमेदवार विजयी भएका छन् । नगरप्रमुखमा नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्याय निर्वाचित भएका छन् ।

श्रेष्ठले नेकपा एमालेका उमेदवार एवम् बर्दघाट नगरपालिकाका निवर्तमान नगरप्रमुख धिरज शर्मा बस्याललाई ५१ सय ७१ को मतान्तरले पराजित गरेका हुन् । बस्यालले १३ हजार ३२७ मत प्राप्त गर्दा विजयी श्रेष्ठले १८ हजार ४८९ मत प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरमा गठबन्धनका उमेदवार रुद्रप्रकाश उपाध्याय १४ हजार ५ सय ९५ मत प्राप्त गरी विजयी भएका छन् भने एमालेकी उम्मेदवार तारा रानाले १३ हजार ८१० मत प्राप्त गरिन् ।

बर्दघाटमा कांग्रेसले माओवादी केन्द्र, एकिकृत समाजवादी र जनमोर्चासँग तालमेल गरेको थियो भने एमालेले जनमुक्ति पार्टीसँग चुनावी साँठगाँठ गरेको थियो ।

१६ वटा वडा रहेको बर्दघाट नगरपालिकामा वडा नम्बर १३, १५ र ३ (स्वतन्त्र) बाहेक अन्य सबै वडामा गठबन्धनका उमेदवार विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी पश्चिम नवलपरासीको सुस्तामा नेपाली काङ्ग्रेसका उमेदवार टेकनारायण उपाध्याय अध्यक्ष पदमा विजयी भएका छन् भने प्रतापपुर गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काङ्ग्रेसकै उमेशचन्द्र यादव निर्वाचित भएका छन् । सुनवल नगरपालिकाको मेयर पदमा एमालेकी विमला अर्याल र पाल्ही नन्दन गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका बैजु गुप्ता निर्वाचित भएका छन् ।

यस्तै, सरावल गाउँपालिकामा एमालेका उम्मेदवार सुखाडीप्रसाद चौधरी निर्वाचित एको निर्वाचन कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ । विजयी उम्मेदवारहरु शुक्रबार नै पद तथा गोपनियताको सपथ लिइ नागरिक सेवामा लागेका छन् ।