‘सरकारमा गएका दलहरूले भ्रष्टाचार गरेको निर्वाचनले पुष्टि गर्‍यो’ : नेमकिपा

‘सरकारमा गएका दलहरूले भ्रष्टाचार गरेको निर्वाचनले पुष्टि गर्‍यो’ : नेमकिपा


नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले सरकारमा पुगेका दलहरूले भ्रष्टाचार गरेको स्थानीय तह निर्वाचनले पुष्टि गरेको जनाएको छ ।

आचारसंहिता उल्लङ्‍घन गर्दै भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्ने, पैसा बाँड्ने, भोज भतेर खुवाउने जस्ता क्रियाकलापबाट सरकारमा गएका दलहरूले भ्रष्टाचार गरेको पुष्टि भउको सो पार्टीको ठहर छ ।

उक्त पार्टीका सङ्‍घीय सांसद प्रेम सुवालले भ्रष्टाचार भएको भन्‍ने जनताले पहिल्यै अनुमान गरेको बताए ।

‘सरकारमा जानेहरूले भ्रष्टाचार गरेकै हुनुपर्छ भन्ने जनताको अनुमान थियो, त्यो सत्य भएको देखियो । किनभने, सत्ताको दुरुपयोग गर्दै आचारसंहिताविपरीत भारतीय नम्बर प्लेट भएको गाडी प्रयोग गर्ने, पैसा बाँड्ने र भोज खुवाउने काम भयो’, सांसद सुवालको तर्क छ ।

निर्वाचनमा सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाउँदै उनले निर्वाचन निष्पक्ष गर्ने भनेर गठन गरिएको निर्वाचन आयोगलाई निरीह बनाएको उनको भनाइ छ ।

निर्वाचनलाई उनले अमेरिकी सहयोग परियोजना एमसीसी समर्थक र विरोधीबीचका लडाइँ भएको पनि बताए । तर, पैसा बाँड्ने र भोजभतेर खुवाएर एमसीसी समर्थकहरूले निर्वाचन जितेको तर्क उनले गरे ।