श्रीलङ्काका प्रधानमन्त्रीले दिए माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई विषेश जिम्मेवारी

श्रीलङ्काका प्रधानमन्त्रीले दिए माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई विषेश जिम्मेवारी


श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले माल्दिभ्सका पूर्वराष्ट्रपति तथा सभामुख मोहम्मद नाशिदलाई विषेश जिम्मेवारी दिएका छन् ।

आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्काको लागि राहत संकलन गर्न संयोजनकारी भूमिका खेल्ने जिम्मेवारी माल्दिभ्सका पूर्वराष्ट्रपति नाशिदलाई दिइएको हो ।

विषेश गरेर अन्य मुलुकहरूले श्रीलङ्कालाई दिने सहयोगका लागि नाशिदले संयोजनकारी भूमिका खेल्ने श्रीलंकाको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

माल्दिभ्सका पूर्वराष्ट्रपति नाशिदले संयोजनकारी भूमिका खेल्न चाहेको र त्यो जिम्मेवारी दिन आग्रह गरेको पनि प्रधानमन्त्रीको कार्यालयले स्वीकार गरेको छ । एएनआईका अनुसार नाशिदको आग्रह अनुसार नै उहाँलाई प्रधानमन्त्री विक्रमासिङ्घेले जिम्मेवारी दिएका हुन् ।

आफ्नो देशलाई सघाउन लागेकोमा विक्रमासिङ्घेले नाशिदलाई धन्यवाद दिँदै श्रीलङ्काको आर्थिक सङ्कट समाधान गर्न राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

“श्रीलङ्काको आर्थिक सङ्कट समाधानका लागि सहयोगी भूमिका खेल्न चाहेको र त्यसका लागि विभिन्न मुलुकहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएमा गर्ने माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नाशिदको प्रस्तावलाई मैले स्वीकार गरेको छु । सोही अनुसार उहाँलाई जिम्मेबारी पनि दिएको छु,” प्रधानमन्त्री विक्रमासिङ्घेले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले आन्दोलनको दबाबमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि केही दिनअगाडि विक्रमासिङ्घे प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।