मारिऊपोलमा यूक्रेनी सेनाले आत्मसमर्पण गरेको रूसको दाबी

मारिऊपोलमा यूक्रेनी सेनाले आत्मसमर्पण गरेको रूसको दाबी


यूक्रेनको बन्दरगाह सहर मारिऊपोलमाथि रूसले विजय हासिल गरेको दावी गरेको छ । मारिऊपोलको आजोभ्स्टाल स्टील उद्योगमा रहेका बाँकी सैनिकहरूले शुक्रबार आत्मसमर्पण गरेसँगै अब उक्त शहर पूर्णरूपमा रूसी सेनाको नियन्त्रणमा गएको हो ।

उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका यूक्रेनी लडाकूहरूले रुसलाई सो शहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न महिनौँदेखि रोकिरहेका थिए ।

शुक्रबार यूक्रेनी फौज पछि हटेसँगै मारिऊपोलमा ठूलो क्षति हुनेगरी भएको सबैभन्दा डरलाग्दो घेराबन्दी पनि समाप्त भएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले ५३१ यूक्रेनी लडाकूहरू त्यहाँबाट हटेपछि मारिऊपोल र सो स्टील उद्योग ‘अहिले पूर्णतः मुक्त’ भएको जनाएको छ । “लडाकूहरू लुकिरहेको उक्त उद्योगका भूमिगत क्षेत्रहरू पनि रुसी सशस्त्र बलको पूर्ण नियन्त्रणमा आएको एक विज्ञप्तिमा रूसले जनाएको छ ।

यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ खटेका अन्तिम सुरक्षाकर्मीहरूलाई उक्त स्थान छाड्न आदेश दिइएको स्वीकार गरेका छन् ।

शुक्रवार एउटा टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले भनेका छन्, “आज यूक्रेनी सैनिक नेतृत्वले उनीहरूलाई त्यहाँबाट उनीहरु बाहिर निस्किन र आफ्नो ज्यान जोगाउन सक्ने स्पष्ट सन्देश दिएको छ ।”

हप्तौँसम्म आजोभ्स्टाल क्षेत्र पूरै घेराबन्दीमा रहँदै आएको थियो । रूसी सैनिकहरूले त्यस क्षेत्रमा सबै मानवीय सहायतालाई अवरोध पुऱ्याउँदै त्यहाँ गोलाबारी गर्दै आएका थिए । उनीहरूले त्यहाँ सुरक्षार्थ खटिएका यूक्रेनी फौजलाई आत्मसमर्पण गर्न भनिरहेका थिए ।

उक्त क्षेत्रमा फस्ने कैयौँ गैरसैनिक नागरिकमध्ये महिला, बालबालिका र ज्येष्ठ नागरिक पनि रहेको यूक्रेनी अधिकारीले बताएका छन् ।

यसैबीच मस्कोको सेनाले उत्तरपश्चिमी युक्रेनमा लामो दूरीका मिसाइलहरूसहित पश्चिमीबाट आपूर्ति गरिएका हतियारको ठूलो ढुवानी नष्ट गरेको रुसी रक्षा मन्त्रालयले शनिबार बताएको छ ।

संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूबाट पठाइएका उच्च सटीक लामो दूरीका हतियार र सैन्य उपकरणहरूको ठूलो मात्रा ज़ाइटोमिर क्षेत्रको मालिन रेलवे स्टेशन नजिकै नष्ट गरिएको मन्त्रालयले पुष्टि गरेको छ ।