झापा गौरीगञ्ज गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित

झापा गौरीगञ्ज गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित


झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी र उपाध्यक्षमा पूजन न्यौपाने कुँवर निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित राजवंशी नेपाली कांग्रेसका तर्फबाट तथा कुँवर नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उम्मेदवार रहनुभएको थियो । झापाका १५ पालिकामध्ये अध्यक्ष र उपाध्यक्ष नै महिला निर्वाचित भएको यो पहिलो पालिका हो ।

निकटतम प्रतिस्पर्धी एमालेका विजयकुमार अग्रवाललाई ३,३३० मत प्राप्त हुँदा राजवंशीले ५,६८९ मत प्राप्त गर्नुभयो । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रहनुभएका बाबुराजा श्रेष्ठले ३३०७ मत प्राप्त गर्नुभयो । अघिल्लो निर्वाचनमा श्रेष्ठ गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने यस पटक राजवंशीले श्रेष्ठलाई पराजित गर्नुभयो ।

उपाध्यक्षमा निर्वाचित कुँवरले ४,७५५ मत प्राप्त गर्नुभयो । उहाँले कांग्रेसका उम्मेदवार मखना महतोलाई पराजित गर्नुभयो । महतोले ३,७९५ मत प्राप्त गर्नुभएको थियो । ६ वडा रहेको यो पालिकामा वडा नं १ मा वडाअध्यक्षको मत पुनः गणना भइरहेको छ भने वडा नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का किनालाल राजवंशी, ३ मा श्रवण गिरी, ४ मा फेकाप्रसाद गिरी, ५ मा विजयप्रसाद सिंह नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट र वडा नं ६ मा नेपाली कांग्रेसका उम्मेदवार वद्रीनारायण यादव निर्वाचित हुनुभयो ।