नेपाली गायकको उर्दू गजल टी-सिरिजबाट सार्वजनिक

नेपाली गायकको उर्दू गजल टी-सिरिजबाट सार्वजनिक


  • राजन घिमिरे

पुराना गायक सुमन शेखर मानन्धरको आवाज रहेको उर्दू गजल ‘साम से ही दिल’ सार्वजनिक भएको छ । यो गजल टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो । वरिष्ठ चलचित्रकर्मी नीर शाह र चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा गजल सार्वजनिक गरिएको थियो ।

‘साम से ही दिल’को म्यूजिक भिडियोमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय रहेको छ । मुगुको रारामा खिचिएको भिडियो निकै मनमोहक छ ।

भिडियो सार्वजनिक समारोहमा सो गजलको दृश्यबाट नेपालको पर्यटन क्षेत्रलाई चिनाउन मद्दत पुग्ने चर्चा गरिएको थियो । गायक सुननले यो गीत तयार पार्न आफ्नो समूहलाई तीन वर्ष समय लागेको जानकारी दिए ।

भिडियोका निर्देशक जनकदीप पराजुलीले टी-सिरिजको च्यानलमा नेपाली कलाकार र प्राविधिकहरूबाट सिर्जना गरिएको सामग्री आएको सम्भवतः पहिलो सन्दर्भ भएको जानकारी गराए । यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोल्ने अपेक्षा पनि उनले व्यक्त गरे ।

सन्जिव पाण्डेको संयोजन र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको गजलको भिडियोलाई अर्जुन तिवारीले छायाङ्कन गरेका हुन् भने गीतमा सम्पादन तथा भीएफएक्स ध्रुवराज पराजुलीको रहेको छ ।