बदलिँदो राजनीतिमा पलाउँदैछ आशा

बदलिँदो राजनीतिमा पलाउँदैछ आशा


नेतृत्वले चाह्यो भने देश बन्न धेरै समय लाग्दैन । त्यसका लागि उनीहरू आर्थिक रूपले स्वच्छ र मुलुकप्रति इमान्दार भने हुनैपर्छ । विचारबाट ब्यक्तिगत लान्छनामा झरेका नेताहरूबाट यो सम्भव छैन ।
  • बबिता बस्नेत

‘तपाईं एक्लै हुनुहुन्छ, अरु सबै राजनीतिक दलका मानिसहरूले जितेका छन्, यस्तो अवस्थामा काम गर्न देलान् त ? तपाईंले आफूले सोचेजसरी काम गर्न पाउनुहोला र ?’ प्रश्नको जवाफमा धरान नगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङको जवाफ- ‘त्यस्तो हुँदैन, उहाँहरूकै पार्टीका मान्छेले भोट हालेर म जितेको हुँ, सहयोग पाइहाल्छु नि ।’

हुन पनि नेपाली काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा सबै दलका समर्थकले साम्पाङलाई भोट हाले । एउटा भोट मेयरमा अभियन्ता साम्पाङलाई हालेर अरु आफ्नो आस्थाको दलका उम्मेदवारलाई हाले । काठमाडौंमा पनि त्यस्तै देखियो, एउटा भोट बालेनलाई अन्यचाहिँ पार्टीका उम्मेदवारलाई । यी दुवैको चुनावचिह्न लौरो थियो र मतपत्रमा यो चिह्न निकै तल थियो । मतपत्रको सुरुमा रहेका सूर्य, रुख, हँसियाहथौडा, कलम, हलोलगायतका चिह्नलाई पार गर्दै मतदाताले चुपचाप लौरोमा छाप लगाइदिए । चुनावमा प्रायः स्वतन्त्रलाई जाने भोट भनेको तटस्थ भोट हो भन्ने मान्यतालाई यसपटकको स्थानीय तह निर्वाचनले तोडिदिएको छ । कुनै राजनीतिक दलमा नभएका तटस्थले मात्र नभइ वर्षौंदेखि पार्टीप्रति प्रतिबद्ध मतदाताहरूले समेत यो मान्छेले राम्रो गर्छ भन्ने विश्वासका साथ स्वतन्त्र उम्मेदवारलाई भोट दिएर जिताए । न पैसाको चलखेल न त कुनै खोक्रो आश्वासन, धेरै हल्लाखल्ला नगरी मतदानबाट नागरिकले आफूले चाहेको नेता चुनेका छन् । नागरिक तहबाट गरिएको राजनीतिमा पुनर्संरचनाको यो शालीन प्रयास हो ।

विगत केही वर्षदेखि राजनीतिकर्मीहरूका ब्यक्तिगत महत्वकाङ्क्षाले राजनीतिलाई धमिल्याइरहेको बेला अहिले मुलुकका मुख्य शहरका मेयरमा यस प्रकारको विजयले केही आशा पलाएको छ । चुनाव जितेपछि नेताका ब्यवहारले राजनीति भनेको त गलत मान्छेले गर्ने कुरा हो भन्ने बुझाइ र सन्देश गइरहेको थियो । मुलुकमा असल मान्छेहरूको कमी थिएन, छैन । तर तिनलाई ‘राजनीति राम्रा मान्छेले गर्ने कुरा होइन’ भन्ने थियो/छ । दार्शनिक प्लेटोको भनाइमा असल मान्छेहरूले राजनीति नगरेर राजनीति खराब भएको हो । हामीकहाँ राजनीति गर्ने सबै नै खराब छन् भन्ने होइन तर गलत नियतले राजनीतिमा सहभागी हुनेहरूको दाँजोमा असल मनशायले राजनीतिमा जानेहरूको सङ्ख्या सानो छ ।

न पैसाको चलखेल न त कुनै खोक्रो आश्वासन, धेरै हल्लाखल्ला नगरी मतदानबाट नागरिकले आफूले चाहेको नेता चुनेका छन् । नागरिक तहबाट गरिएको राजनीतिमा पुनर्संरचनाको यो शालीन प्रयास हो ।

राजनीति विचार हो तर हामीकहाँ ब्यक्तिगत लान्छना, घृणास्पद अभिब्यक्ति (हेट स्पिच), कसले कसलाई बढी होच्याउन सक्छ, कसले बढी खिसीट्युरी गर्न सक्छ भन्ने प्रतिस्पर्धामा वर्षहरू बिते, बितिरहेका छन् । राजनीतिक दलहरूमा वैचारिक छलफल हुन छोडेको वर्षौं भयो । विचारलाई पन्छाइ ब्यक्तिगत लान्छनामा उत्रिनुको अर्थ राजनीतिमा गुणस्तरीय मानिसको अभाव नै हो । विचार, अवधारणा र दृष्टिकोण अघिसारेर विधिको शासनमा रही काम गर्ने नेता मुलुकलाई चाहिएको छ ।

राजनीतिको अर्थ नीति बनाउनु हो, यस्तो नीति जसले जनताको जीवनमा सकरात्मक परिवर्तन ल्याओस् । राजनीति ब्यवसाय होइन ‘भिजन’ हो जसले मुलुक र जनतालाई दूरगामी प्रभाव पार्न सक्छ । तर हामीकहाँ राजनीति गर्ने भनेको मुलतः नकारात्मक अर्थमै लिइन्छ । समाजसेवा या पेशा ब्यवसायमा कुनै छुद्र काम हुन लाग्यो भने यसमा राजनीति भयो या ‘यसमा चाहिँ राजनीति नगरौँ है’ भन्ने चलन छ । यसको अर्थ राजनीति गतिलो कुरा होइन, यो जहाँ पस्यो त्यहाँ खत्तम पार्छ भनेर बुझ्ने गरिएको छ । राजनीतिकर्मीको ब्यवहार र राजनीतिका नाममा गर्ने गलत काम-कार्वाहीका कारण राजनीति कमाइधमाइ हुने गज्जबको ब्यवसाय झैँ बनेको छ । राजनीति पेसा, ब्यवसाय नभइ नितान्त सेवा र कर्तब्य हो । त्यसैले राजनीतिमा अब आफ्नो पेशा, ब्यवसायमा सफल भएका मानिसहरू आउन जरुरी छ जसले राजनीतिलाई कमाइखाने पेशा नठानोस् । दूरदृष्टि भएका ब्यापारी तथा पेशा–ब्यवसायीहरूले धमिलिएको राजनीतिलाई सङ्ग्लो बनाउन सक्छन् ।

त्यसोभए राजनीति मात्रै गर्दै आएका मानिसले चाहिँ कहिले ठाउँ पाउने त ? प्रश्न स्वभाविक हुन्छ । यसमा दुई वटा कुरा एकै पटक हुन सक्छ, राजनीतिकर्मीले पनि जीवन धान्नका लागि कुनै न कुनै पेसा ब्यवसाय अँगाल्ने र राजनीतिमा रुचि भएका पेसा ब्यवसायीहरू पनि राजनीतिमा आउने । राजनीतिलाई जिन्दगीभरीको मुख्य काम ठान्ने भन्दा आवश्यक परेको बेला राजनीतिक पदमा रहेर योगदान दिने र आफ्नो कार्यकाल सकिएपछि फेरि पेसामा फर्कने गर्दा राजनीतिमा अहिले हुँदै आएको चाकडी-चाप्लुसी र जालझेल कम हुन्छ । विकशित देशमा प्रायः यस्तै देखिन्छ । उदाहरणका लागि अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा कानून ब्यवसायी थिए । उनकै कार्यकालका पूर्व उपराष्ट्रपति अल गोर आफ्नो कार्यकाल सकिनेबित्तिकै वातावरणविद्का रूपमा फेरि आफ्नै पेसामा फर्किए । कण्डोलिजा राइस स्ट्यानफोर्ड युनिभर्सिटीमा पढाउँथिन्, केही समय अमेरिकाको विदेशमन्त्रीको पद सम्हालेर फेरि अध्यापनमै फर्किइन् । यस्ता उदाहरण धेरै छन् ।

हामीकहाँ पनि यस्तो हुन सक्यो भने राजनीतिकर्मीका कारण हुने भ्रष्टाचारमा कमी मात्र आउने थिएन, भ्रष्टाचार नगर्ने राजनीतिकर्मीहरूलाई पनि जीवन धान्न सहज हुने थियो । स्थानीय तहदेखि केन्द्रसम्म पदमा पुगेका राजनीतिकर्मीहरूले गाडी चढ्न या अन्य सुविधाका लागि मरिहत्ते हाल्नुपर्ने थिएन । यसका लागि मुलुकमा पेसा, ब्यवसाय गर्न सक्ने वातावरण बनाउनु आवश्यक हुन्छ । जसका कारण मन्त्री पदमा पुगेका राजनीतिकर्मीले पनि भोलि सहज रूपमा भन्न सकुन्, म अहिले मन्त्री हुँ तर मेरो पेसाचाहिँ यो हो । मन्त्री, सांसद भइसकेकाहरूले गौरवका साथ भनुन्- ‘म अहिले यो ब्यवसायमा छु, मन्त्री हुँदा देशको लागि यति गर्न पाएको थिएँ । त्यो एउटा गज्जबको अनुभव थियो ।’

राजनीति मात्रै गर्दै आएका मानिसले चाहिँ कहिले ठाउँ पाउने त ? प्रश्न स्वभाविक हुन्छ । यसमा दुई वटा कुरा एकै पटक हुन सक्छ, राजनीतिकर्मीले पनि जीवन धान्नका लागि कुनै न कुनै पेसा ब्यवसाय अँगाल्ने र राजनीतिमा रुचि भएका पेसा ब्यवसायीहरू पनि राजनीतिमा आउने ।

प्लेटोले दिमाग चलाउन सक्नेहरू राजनीतिमा र साहसिला मानिसहरू सुरक्षा क्षेत्रमा जानुपर्ने बताएका थिए । तर हामीकहाँ विचारसँग खेल्ने मानिसहरू कम र ब्यक्तिगत आकाङ्क्षा पुर्ति गर्ने चाहनाका मानिसहरू बढी राजनीतिमा छन् । राजा जनक ‘इन्लाइटेन्ट’ राजा थिए । बुद्धत्व प्राप्त गरेपछि आफ्ना गुरु अष्टबक्रसँग ‘अब म हजुरको कुटीमा बस्छु, जीवन फरक तरिकाले बाँच्छु, मलाई राजकाज केही चाहिँदैन’ भने । राजा जनकको कुरा सुनेपछि अष्टबक्रले ‘तिमीलाई राजकाज चाहिँदैन म बुझ्छु, तिमी यहाँ खुशी हुन्छौ भन्ने पनि थाहा छ, तर जनतालाई तिमीजस्तो निस्वार्थी राजा चाहिएको छ, तिमी जाउ देश र जनताका लागि राजकाज चलाउ, जनताप्रतिको उत्तरदायित्वका अगाडि एउटा राजाले ब्यक्तिगत इच्छा आकाङ्क्षालाई मार्न सक्नुपर्छ । आफ्नो कर्तब्य पुरा गर’ भनेको प्रसङ्ग निकै रोचक छ । तर हामीकहाँ त राजनीतिमा आएपछि आफ्ना ब्यक्तिगत इच्छा-आकाङ्क्षालाई पूरा गर्ने गरिएको छ । राजनीति बदनाम हुनुमा स्वार्थी सोच र ब्यवहारले प्रमुख भूमिका निर्वाह गरेको छ ।

नेतृत्वले चाह्यो भने यो देश बन्न धेरै समय लाग्दैन । त्यसका लागि उनीहरू आर्थिक रूपले स्वच्छ र मुलुकप्रति इमान्दार भने हुनैपर्छ । विचारबाट ब्यक्तिगत लान्छनामा झरेका नेताहरूबाट यो सम्भव छैन । देश बनाउनका लागि राजनीतिलाई पेशा ठान्ने नभइ विभिन्न पेशामा सफल र देशलाई केन्द्रमा राखेर सोच्ने मानिसहरूको आवश्यकता छ । साथै तमाम ती राजनीतिकर्मीहरू जो अहिले राजनीतिमा छन्, असल छन् तर अवसर पाएका छैनन्, तिनले सरकारमा पुग्ने अवस्थाको सिर्जना हुनुपर्छ ।

मुलुकको हितमा काम गर्दै जनताको जीवन सहज बनाउनका लागि कस्तो नीति कार्यान्वयनमा ल्याउने भन्ने उत्तरदायित्व बहन गर्ने ब्यक्ति राजनीतिकर्मी हो । ढुङ्गामुढा गरेर, जे मुखमा आयो त्यही बोलेर राजनीतिकर्मी भइँदैन । तर हामीकहाँ राजनीतिकर्मी हुनुको अर्थ जे बोले पनि छुट झैँ भएको छ । मुलतः राजनीति गर्ने मानिसले देशको हितभन्दा बाहिर गएर बोल्न नमिल्ने मान्यता राखिन्छ तर हामीकहाँ राजनीति कस्ता मानिसहरूले गर्ने र राजनीति गर्नेहरूले के गर्न हुने, के नहुने भन्ने बारेमा खासै चर्चा-परिचर्चा हुने गरेको छैन । यसपटकको स्थानीय निर्वाचनको परिणामले अब यसलाई बहस र छलफलको विषय बनाइदिएको छ ।