बेल्जियममा नेपाली खाना महोत्सवको तयारी अन्तिम चरणमा

बेल्जियममा नेपाली खाना महोत्सवको तयारी अन्तिम चरणमा


  • सनत आचार्य, बेल्जियम

नेपाली व्यवसायी संघ बेल्जियम र बेल्जियमका लागि नेपाली राजदूतावासद्वारा संयुक्त रूपमा आयोजना गरिन लागेको नेपाली खाना महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकहरूले बताएका छन् ।

बेल्जियमलगायत छिमेकी देशहरूमा समेत नेपाली खानाका परिकारको पहिचान गराइ व्यापार–व्यवसाय वृद्धि गर्ने र नेपालको पर्यटन, कला संस्कृतिको समेत संरक्षण र सम्वर्द्धनमा सहयोग पु ऱ्याउने उद्देश्यले यही मे २८ दिउँसो १२ बजेदेखि लुभेनको ब्रुल पार्कमा आयोजना गरिने संघका अध्यक्ष यामु निरौलाले जानकारी दिनुभयो ।

अध्यक्ष निरौलाका अनुसार महोत्सवको शुभारम्भ लुभेनका मेयर मोहम्मद रिदवानी गर्नेछन् भने समापन बेल्जियमका नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीबाट हुनेछ ।

बताइएअनुसार महोत्सवमा नेपाली खानाका विभिन्न परिकार, पर्यटकीय क्षेत्र, कला-संस्कृतिका बारे पनि निरन्तर जानकारी गराइने छ ।

यो महोत्सव विशुद्ध रूपमा नेपाली खाना महोत्सव भएको हुँदा महोत्सवमा नेपाली परिकारहरू मात्र राखिने संघका महासचिव मदन दवाडीले जानकारी दिनुभयो ।

महासचिव दवाडीले नेपाली खानाहरू परिकारलगायत नेपालको कला-संस्कृति झल्कने विभिन्न भेषभुषाको प्रदर्शन, नृत्य, झाँकी तथा गीतहरू समेत प्रस्तुत गरिने बताउनुभयो ।

महोत्सव आयोजक समितिका संयोजक चिरण खवासले महोत्सवमा दाल, भात, तरकारी, अचार, माछा, मासु, मम, समयबजी (नेवारी खाना), समोसा, सेलरोटी, अचार, कुखुराको झोलमासु, समोसा चाट, चटपटे, सुकुटी, छोयला, चाउमिन, जेरी–पुरी लगायतका परिकार र नेपाली भान्सामा प्रयोग हुने अन्य विभिन्न प्रकारका मसला र यार्चागुम्बाको रक्सी पनि उपलब्ध हुने बताउनुभयो । यसका लागि करिब दुई दर्जन स्टलहरू निर्माण गरिने छ ।

संयोजक खवासले परिकारहरू सफा, स्वच्छ र स्वादिष्ट बनाउन खाद्यसम्बन्धी सरकारी मापदण्डको पालन गरिने र सोको लागि स्टल संचालकहरूलाई जानकारी गराइसकिएको बताउनुभयो ।

महोत्सव दिनको १२ बजेदेखि शुभारम्भ हुनेछ भने बेलुकी ८ बजेपश्चात विभिन्न कलाकारहरूद्वारा नाच तथा गीत प्रस्तुत गरिने छ । कार्यक्रममा युरोप क्षेत्रमा कार्यरत विभिन्न देशका एक दर्जन बढी नेपाली राजदूतहरूको उपस्थिति रहने पनि आयोजकले बताएका छन् ।

यो महोत्सव नेपाल र नेपालीहरूलाई मौलिकता झल्काउने भएको हुनाले बेल्जियममा रहेका विभिन्न संघ–संस्थाहरूलाई सहकार्य र सहयोग गर्न आयोजकहरूले आग्रह गरेका छन् ।

नेपाली परिकार मात्र उपलब्ध हुने महोत्सवलाई बेल्जियमका राष्ट्रिय मिडियाहरूले समेत महत्वका साथ प्रचारप्रसार गरिरहेका छन् ।