फैलँदै बालेनको आगो !

फैलँदै बालेनको आगो !


  • राजन घिमिरे

अन्ततः काठमाडौं महानगर पालिकाको मेयर पदमा छलाङ मारेका छन ३२ वर्षीय बालेन्द्र साह (बालेन) ले । बालेनको जितको यो सफलताले युवा पुस्तामा जोश जाँगर र उत्साह मात्र बढाएको छैन कि राजनीतिप्रति वितृष्णाले बढी चर्चा पाइरहेको आजको समयमा यो क्षेत्रप्रति युवा पुस्तामा सकारात्मक सन्देश पनि प्रवाह गरिरहेको छ । युवाहरू नै हुन् परिवर्तनका संबाहक भन्ने अकाट्य सत्य फेरि देखिएको छ । सेल्फी हान्ने र सामाजिक सन्जालमा हल्ला गरेर मात्र चुनाव जितिँदैन भनेर खोक्ने बालेनकै प्रतिस्पर्धीहरुले पनि सामाजिक सन्जालसँँग जोडिएका युवाहरूको क्षमता-दक्षताबारे राम्रैसँग ज्ञान पाए होलान् ।

उम्मेदवारको समर्थन गर्न र उसको नजिकको बन्न नेपाल बन्द गर्नु पर्दैन, सडकमा टायर बाल्नु पर्दैन । मिडिया र सामाजिक सन्जालबाट पनि साथ र समर्थन जुटाउन सकिन्छ भन्ने गतिलो उदाहरण बालेनको जितसँगै युवाहरूले स्पष्ट पारिदिएका छन् ।

सुरुमा बालेनलाई ‘अन्डरस्टिमेट’ गरेका पार्टीहरुले बीचमा उनलाई हराउनका लागि अनेक चालसमेत शुरु गरेका थिए । उनीहरुको तारो नै बनेका थिए बालेन । मेयर जितेर मात्र हुँदैन बजेट नै पास गर्न सक्दैन भनेर समाज भड्काउने जस्ता अपाच्य कुरा गरेर राजनीति गर्न खोज्नेहरूलाई बालेनले जनताले बनाएको आफूलाई काम र विकास गर्दा बाधा आयो भने जनताको सामु जान्छु भनेपछि ती विरोधिहरू यतिबेला तैँचुप मैचुप भएका छन् ।

बालेनका प्रतिष्पर्धीहरुको बोली र गतिविधिले पनि थाहा पाउन सकिन्थ्यो कि आजसम्म काठमाडौंमा उम्मेदवारी दिएको स्वतन्त्र पदले बालेन जस्तो बजार पिटेको थिएन । एउटा स्वतन्त्र उम्मेदवारले यत्रो ठुलो माहौल बनाएको र त्यसले राष्ट्रिय प्रभाव पारेको शायद पहिले कहिल्यै थिएन होला ।

म बालेनलाई मात्रै भोट दिनुस्, नत्र तपाईं पनि काम नलाग्ने मान्छे हो भनेर बालेनले कतिबेलै पनि भनेनन्- ‘तपाईं परिवर्तन चाहनुहुन्छ भने अहिले त्यो परिवर्तनको एकदमै ठुलो सम्भावना देखिएको छ । यो सुनौलो मौकालाई खेर जान नदिउँ । यसले दलमग्न भएको हाम्रो समाजलाई सपार्न ठूलो भूमिका खेल्छ । दलहरुलाई पनि राम्रा उम्मेदवार उठाउन बाध्य बनाउँछ’, यति मात्र भनेका थिए उनले ।

बालेनले उम्मेदवारी दिँदा उनलाई माथिसम्म पहुँच छैन यिनको भनेर यिनको खिल्ली पनि उडाए । त्यतिबेला बालेनले धेरै बोलेनन् । उनले मात्र यति भने- ‘उहाँहरुले भनेको ठीक हो । मेरो माथिसम्म पहुँच छैन । र, चाहिएको पनि छैन । तर मसँग तलसम्मको पहुँच छ । तलका जनतासम्मको पहुँच छ ।म तलको जरा हुँ । मसँग पानीसम्मको पहुँच छ । माथि पुग्नु पर्ने म हैन । माथि पुग्नुपर्ने त जनता हो । म त तपाईंको लागि मलजल लिइदिने मात्रै हुँ । म जरा नै रहिरहुँ । रुख बनेर जनता माथि पुगून् । जनता टुप्पो बनुन् । म सँधै जरा बनिरहुँ ।’

सुरुमा एउटा ऱ्यापरले फेमस हुन काठमाडौंको मेयरमा उठ्यो भनेर युवाको समाज बदल्ने अठोटलाई होच्याइएको स्मरण गर्दै बालेनले भने- ‘जब हाम्रो भिजन र क्षमताका बारेमा थाहा पाए, तब एक्लो मेयरले केहि गर्न सक्दैन भन्न थाले । जब महानगरबासीले अभुतपुर्वरुपमा हाम्रो पक्षमा समर्थन जनाउन थाले तब विभिन्न कुप्रचार र हल्लाहरु फैलाएर भ्रम पार्न खोजे । तर पनि महानगरबासीले हाम्रा लागि समर्थन कम गर्नुभएन, उल्टो बढाइदिनुभयो’- बालेनले भने ।

बालेनको उम्मेदवारी दिएपछि नेपाली राजनीति र समाजलाई नजिकबाट नियालिरहेकाहरुको कथन थियो- बालेन उमेदवार मात्र होइनन् अभियान हुन् ! यसो हेर्दा यो कुरा सही नै साबित हुन थालेको छ । बालेनले बालेको उच्च सोच, शैली र मुलुकप्रतिको बफादारी आगो यतिबेला देशमा मात्र होइन प्रबासमा रहनुहुने प्रबासी नेपालीहरू माझ पनि पुगेको छ । केही नयाँ र नौलो अनि इच्छाशक्ति भएको कोही आयो भने जनताहरूको साथ र समर्थन पाउन सकिँदो रहेछ भन्ने गतिलो उदाहरण पेश गरेका छन् बालेनले । शुरूमा बालेनको चर्चा र परिचर्चा चुलिँदा उनी कुनै पार्टीमा प्रवेश गरेको चर्चा पनि नचलाइएको होइन । उनको स्वतन्त्र उम्मेदवारीलाई धमिल्याउन निराधार हल्ला पनि चलाईएको थियो तर,यस्ता हल्लाले बालेनको उचाइ, चर्चा र दौडमा ‘ब्रेक’लागेन ।