एउटै खरबुजा १५ लाख येनमा बिक्री !

एउटै खरबुजा १५ लाख येनमा बिक्री !


  • घटना र विचार प्रतिनिधि, टोकियो (जापान)

जापानको सुदूरउत्तरमा रहेको प्रिफेक्चर होक्काइदोमा युबारी जातको एउटै खरबुजा १५ लाख येनमा बिक्री भएको छ । यस वर्षको पहिलो लिलामीमा दुई ओटा खरबुजा ३० लाख येनमा बिकेको हो ।

बोलकबोलमा युबारीस्थित फलफूल र तरकारी विक्रेता तथा प्याक गर्ने कम्पनी होकुयुप्याकले बोलेको मूल्यलाई विजेता घोषणा गरिएको थियो । यस वर्षको बोलकबोलमा खरबुजाका लागि बोलिएको यो मूल्य गत वर्षको विजयी बोलकबोलको भन्दा १० प्रतिशत बढी भएको बताइएको छ ।

गत वर्ष दुई ओटा खरबुजा २७ लाख येनमा विक्री भएको थियो । सन् २०१९ मा युबारी जातिको दुई ओटा खरबुजा ५० लाख येनमा बिकेका थिए । यो खरबुजाले पाएको अहिलेसम्मकै धेरै मूल्य हो । अर्थात्, त्यतिबेला एउटै खरबुजाको लागि २५ लाख येन बोलकबोल गरिएको थियो ।

होकुयुप्याक कम्पनीले युबारीमा जुन ४ र ५ मा निःशुल्क रुपमा खबरबुजा चखाउने कार्यक्रमको आयोजना गर्दैछ । खरबुजाको अति नै मिठो र अनौठो स्वाद सो मूल्य तिर्न लायक भएको कम्पनीका अध्यक्ष कियोमिची नोदाले बोलकबोल जितेपछि भनेका थिए । बिहीबार लिलामीमा कूल २ हजार ७२१ ओटा खरबुजाको बिक्री गरिएको थियो ।

यस वर्ष स्थानीय ९८ जना कृषकले २ खर्ब ३ अर्ब येन मूल्यका कूल ३ हजार ४३८ ओटा खरबुजा बिक्री गर्ने योजना बनाएको स्थानीय सहकारीले बताएको छ । जापानमा हरेक वर्ष सिजनको पहिलो बोलकबोलमार्फत लाखौं करोडौं येनमा यसैगरी फलफूल र तरकारी बेच्ने गरिएको छ ।