प्लास्टिक टनेल वितरणका क्रममा उत्पन्न विवादले एउटै सडकको तीन ठाउँमा बन्द

प्लास्टिक टनेल वितरणका क्रममा उत्पन्न विवादले एउटै सडकको तीन ठाउँमा बन्द


प्लास्टिक टनेल वितरणका क्रममा उत्पन्न विवादले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडामा एउटै सडकको तीन ठाउँमा बन्द गरिएको छ । वडा कार्यालयबाट प्लास्टिक टनेल वितरण गर्नेक्रममा सुरु भएको विवादका कारण बाहुनीडाँडाको राँगाकाटे-वडा कार्यालय-निङ्लाम-पकन्चेप-झाप्पा-डुम्रे-रुपटार-कुर्ले सडकको फरक-फरक तीन स्थानमा अवरोध हालिएको हो ।

प्लास्टिक टनेल वितरणका क्रममा विभेद गरिएको भन्दै स्थानीय आमा समूहले ११ जेठ साँझ पकन्चेपमा घोचो गाडेर मुढा तेर्स्याएर सडक बन्द गरेपछि सोही सडकको थप दुई स्थानमा अवरोध हालिएको हो ।

आमा समूहले पकन्चेपमा सडकमा छेकाबार हाले लगत्तै क्रमशः तल्लो झाप्पा र पकन्चेपमै सडकमा अवरोध हालिएको छ । पकन्चेपमा नजिक दूरीमा दुई स्थानमा सडकमा छेकाबार लागेको स्थानीयले बताएका छन् ।

बाहुनीडाँडामा कांग्रेसकातर्फबाट रुद्रकुमार राई दोस्रोपल्ट वडाध्यक्षमा निर्वाचित भएका हुन् । पकन्चेपमा सुरुमा माओवादी केन्द्रको उक्साहटमा सडक छेक्ने काम भएको कांग्रेसको दाबी छ । त्यसकै प्रतिक्रिया स्वरूप सोही सडकको अन्य खण्डमा शृङ्खलाबद्ध अवरोध राखिएको कतिपयको विश्लेषण छ ।

पकन्चेपमा आमा समूहले सडक छेकेपछि सोही नजिकै आइतबार कांग्रेसमा आबद्ध स्थानीयले अर्को छेकाबार हालेका छन् । उनीहरूले सडकले मिचेको जग्गाको मुआब्जा दिइनुपर्ने, विद्युत्को पोललाई सार्नुपर्ने, जग्गामा पर्खाल हालिदिनुपर्ने लगायतका माग देखाएर सडकका फरक-फरक ठाउँमा छेकबार हालेका हुन् ।

किसानलाई वितरणका लागि वडा कार्यालयले निर्वाचनअघि २७० थान प्लास्टिक टनेल ल्याएको थियो । निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा बाँड्न सुरु गरिएको भन्दै विरोध भएपछि प्लास्टिक टनेल बाँड्ने काम रोकिएको थियो । नागरिकताको फोटोकपी, खाल्डो खनेको तस्बिर र वडाको सिफारिसका आधारमा प्लास्टिक टनेल वितरण गर्ने भनिएको थियो । तर पक्षपातपूर्ण तरिकाले प्लास्टिक टनेल वितरण भएकाले सडक बन्द गरिएको स्थानीय संगीता राईले बताइन् ।

‘खाल्डो नखनेका परिवारलाई पनि प्लास्टिक टनेल दिइयो । कतिपयलाई घरैमा प्लास्टिक टनेल पठाउने काम भयो । सुक्खाग्रस्त ठाउँलाई प्राथमिकता दिइएन,’ संगीताले भनिन्, ‘यही सडक खन्ने क्रममा फिर्ता दिनेगरी उठाइएको पैसा हालसम्म फिर्ता दिइएको छैन । त्यो पैसा फिर्ता पाउनुपर्छ भन्ने पनि हाम्रो माग हो ।’

स्थानीय दयाबहादुर राईले पनि मापदण्ड विपरीत प्लास्टिक टनेल वितरण गर्दा समस्या निम्तिएको बताए । वडाध्यक्ष राईले भने प्लास्टिक टनेल वितरणमा विभेद नगरेको दाबी गरेका छन् । ‘खाल्डो खनेर १५-२० जनाले मात्र प्लास्टिक टनेल लगेका छन्, अरूलाई सिफारिसका आधारमा दिइएको हो । प्रक्रिया पुरा गरेर आउनेलाई रित्तो फर्काउँदैनौँ । नपुगे नगरपालिकाबाट ल्याएर वितरण गर्छौँ,’ वडाध्यक्ष राईले भने, ‘खाल्डो खनिसकेका र सिफारिस भएका अशक्तलाई घरैमा पठाइदिएका हौं । विपक्षी साथीहरूबाट राजनीतिक इस्यू बनाउने काम भएको छ ।’

सडकमा चार ठाउँ अवरोध भइरहँदा समस्या समाधानमा भने हालसम्म कसैको पहलकदमी भएको छैन ।