(समसामयिक राजनीतिमाथि ब्यङ्ग्य)
- अर्जुनराज पन्त
हिजो थियो कोदो तोरी पूरै भाँडा भरि
रक्सी पार्न कुरिबसेँ मर्चाको आश गरि
कुर्दा कुर्दै वर्ष बित्यो चाइनिज मर्चा आएन
जतिसुकै गर्दा पनि क्यै उपाय लाएन
भरिभाँडो घोप्टिएर छताछुल्ल भयो
कोहीले कुल्चे कोहीले टिपे कोही बगाएर लयो
भाँडाभित्र सँगै बस्दा त्यो कोदाका चापले
थापिएर त्यहाँमाथि आफ्नै भित्री रापले
मक्किएछ तोरी सबै कोदो भने उम्रो
हुर्किएर फल्ने हो कि लाग्ने पो हो खुम्रो
निकै ज्याद्रो हुँदो र’छ वन-कोदाको बिउ
जस्तोसुकै खडेरी होस् जोगाइहाल्छ जिउ
पोख्खिएर रित्तो भए’नि अन्न राख्ने डाली
धान खेतमा पो उम्रिएछ कोदो सुख्खा बाली
सुख्खा ठाउँमा हुर्कि फल्ने कोदाको त्यो बानी
क्यारि थेग्ला त्यसले अब धान खेतको पानी
फैलिएला त अर्कै ठाँउमा गर्दै मनोमानी
उखेल्ने पो हुन् कि कतै झारपात जस्तै ठानि
थेग्ला कि नाइ त्यो कोदाले धानबालीको भेल
एउटा बाली अर्कोभित्र टिक्ला कतिन्जेल
वर्णशङ्कर हुने हो कि सँगसँगै फुल्दा
एक्लै अन्तै फूल्ने बाली धान खेतमा झुल्दा
कस्ता लाग्लान् त्यसका बाला कसोगरी फल्ला
धानैसरि लर्केलान् कि पर्लान् माथि डल्ला
भिन्दाभिन्दै रोपे बरु चिन्नेले नि चिन्थे
खानेले नि शुद्ध खान्थे किन्नेले नि किन्थे
कहिल्यै पूरा हुने भएन बाली मोल्ने धोको
जती बाली मोले पनि किसान सँधै भोको
थोरै भए नि निस्के आज नयाँ बिउ बाँड्ने
मिस्सिएका यस्ता बाली लौरो लगाइ फाँड्ने !
प्रतिक्रिया