गङ्गा-दशहरा पर्वअन्तर्गत गोसाइँकुण्ड मेला सुरू

गङ्गा-दशहरा पर्वअन्तर्गत गोसाइँकुण्ड मेला सुरू


गङ्गा-दशहरा पर्वअन्तर्गत रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन निलाद्री पर्वत उक्लन थालेका छन् ।

पवित्र कुण्डमा स्नान र पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने र शरीरका रोगव्यादसमेत हट्ने विश्वास रही आएको छ ।

आजदेखि सुरू भएको गङ्गा–दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको रसुवा प्रहरीले जनाएको छ । देवताका पनि देव महादेव भगवान् शङ्कर (शिवजी) गोसाइँकुण्डमा विराजमान रहनुभएको विश्वास गरिन्छ ।

गङ्गा दशहरा पर्वअन्तर्गत १० दिनसम्म चल्ने मेलामा आउने यात्रुहरूका लागि भोजन एवं बासस्थानको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायी तयार रहेको होटल व्यवसायी सङ्घ रसुवाका जिल्ला अध्यक्ष रामशरण गजुरेल बताउँछन् ।

गङ्गा दशहरा पर्व मान्नका लागि यस वर्ष तीन हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिएको छ । समुद्र सतहबाट चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड तीर्थमा एकपटक भए पनि पुगेर स्नान गर्नुपर्ने मान्यता रहिआएको छ ।

प्रत्येक वर्ष दुईपटक विशेष मेला लाग्ने र तीमध्ये जनैपूर्णिमा पर्वमा ठूलो मेला लाग्ने गर्दछ । अहिले सुरू भएको गङ्गा दशहरा पर्वमा नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवानसमेतका भक्तजनको आगमन भइरहेको स्थानीय होटल व्यवसायीले बताएका छन् । धार्मिक क्षेत्रको सुरक्षा व्यवस्था मिलाइसकिएको जानकारी दिँदै निर्धक्कसाथ धार्मिकयात्रा गर्न भक्तजनलाई जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले अनुरोध गरेका छन् ।