बेल्जियममा खाना महोत्सव सम्पन्न : विदेशी समुदायद्वारा नेपाली परिकारको प्रशंसा

बेल्जियममा खाना महोत्सव सम्पन्न : विदेशी समुदायद्वारा नेपाली परिकारको प्रशंसा


  • सनत आचार्य, बेल्जियम

बेल्जियममा बसोबास गर्ने नेपाली ब्यबसायीहरूको संस्था नेपाली ब्यवसायी संघ (बेल्जियम) र बेल्जियमका लागि नेपाली राजदूतावासले संयुक्त रूपमा आयोजना गरेको दोश्रो नेपाली खाना महोत्सव बेल्जियमको लुभेन शहरमा सम्पन्न भएको छ ।

महोत्सव समापन कार्यक्रममा मन्तव्य दिँदै नेपाल सरकारका परराष्ट्र सचिव भरतराज पौडेलले प्रवासमा नेपाली समुदायले महोत्सव आयोजना गरेर नेपाली खाना, कला संस्कृतिको जगेर्ना गरेकोमा प्रशंसा गर्दै यस्तो पुनित कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

उक्त महोत्सवको उद्घाटन भने लुभेन स्टाडका मेयर मोहम्मद रिद्वानीले गर्नुभएको थियो । उद्घाटनका अवसरमा लुभेन शहरमा खाना महोत्सव आयोजना गरेकोमा नेपाली समुदायलाई धन्यवाद दिँदै उहाँले नेपालीहरूले आफ्नो धर्म, संस्कार र परम्परालाई विदेशमा पनि संरक्षण गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

मेयर रिद्वानीले नेपालीहरू मिहेनती, इमान्दार र मिजासिला रहेको आफूले पाएको धारणा व्यक्त गर्दै बेल्जियमको आर्थिक र पर्यटकीय विकासमा नेपाली सुमदायको ठुलो लगानी रहेको धारणा राख्नुभयो ।

समापन समारोहमा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीले महोत्सवले फेरि पनि नेपाली समुदायलाई जोड्ने प्रयास गरेको र यस्तो कार्यले निरन्तरता पाउने अपेक्षा रहेको बताउनुभयो ।

यस्तै, बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्रराज राजभन्डारीले खाना महोत्सवले बेल्जियममा नेपाल र नेपाली समुदायलाई जनस्तरसम्म चिनाउने काम गरेकोमा खुसी व्यक्त गर्दै यसलाई सफल बनाउन भुमिका खेल्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । राजदुत राजभण्डारीले यस्ता कार्यक्रमहरूले नेपालको पर्यटकीय र आर्थिक विकासमा ठुलो सहयोग पुऱ्याउने धारणा राख्नुभयो ।

खाना महोत्सवमा विशेष अतिथिको रूपमा बेल्जियमका लागि जापानी राजदूत यासुसी माकसी, भारतीय राजदूत सन्तोष झा, हङ्गेरियन राजदूत तामास इभान कोभाक्स, भुटानी राजदूत तित्सरिङ्ग ग्याल्सेन पेन्जोर, बङ्गलादेशी राजदूत महबुवा हुसेन सालेह, ट्युनिसियन राजदूत नबिल अंमार, र बुलगारियन राजदूत पालमेन बन्चेब र बेल्जियमका परराष्ट्रसचिव जेरोन कोरेमानको उपस्थिति रहेको थियो ।

कुटनीतिक नियोगका पाहुनाहरूलाई पञ्चकन्याद्वारा स्वागत गरिएको थियो भने संघका अध्यक्ष यमु निरौलाले मायाको चिनोसहित सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा दर्शकहरूलाई गीत-संगित तथा नृत्यबाट भरपुर मनोरञ्जन गराउने काम युरो नेपाल कलाकार संघले गरेको थियो । कार्यक्रममा सय थरी बाजा एउटै ताल…, यो नेपाली शीर उचाली…, जाग लम्क चम्क है नौजवान हो…, पहाडमा जाडो बढे तराईमा झर्नुपर्छ… जस्ता राष्ट्रिय गीतमा नृत्य गर्दा बेल्जियमको माहोललाई नेपालमय बनाएको थियो ।

त्यस्तै, कलाकारहरूले विभिन्न भेषभूषामा गरेको क्याटवाक, पञ्चेबाजा, मारुनी नाच, लोकभाकाको प्रस्तुतिले नेपालीको मौलिक भेषभूषा, कला संस्कृतिबारे जानकारी दिएको थियो ।

महोत्सवमा राखिएका समयबजी, मासुसहितको दालभात, सेल, जेरी-पुरी, विभिन्न स्वादका अचार, चिउरा, मःम जस्ता विभिन्न स्वादका परिकारहरूले पाहुनाहरूलाई आकर्षित गरेको थियो ।

महोत्सवमा नेपाली दूतावासले पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपालको बारेमा जानकारी दिन अलग्गै स्टल राखेको थियो ।

संघको पूर्वनिर्णयअनुसार एनआरएनए बेल्जियम र रुपाकोट ट्राभल्सद्वारा प्रायोजित नेपाल बेल्जियमको दुईतर्फी टिकट लक्की ड्रमार्फत दुई जनालाई उपलब्ध गराइको थियो ।

मेलामा स्टल राखेका ब्यवसायीहरूलाई नेपाली ब्यवसायी संघका पदाधिकारीहरूद्वारा प्रमाणपत्र प्रदान गरिएको थियो ।

करिव २० हजार नेपाली तथा विदेशी पाहुनाहरूले महोत्सव अवलोकन गरेको संघका महासचिव मदन दवाडीले जानकारी दिनुभयो ।

महोत्सव समितिका संयोजक चिरन खवासले स्वागत गर्नुभएको कार्यक्रम रुविना शर्मा र लाक्पा यान्जी शेर्पाले संचालन गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष यामु निरौलाले महोत्सव सफल बनाउन सहयोग र प्रायोजन गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।