भारतको एउटा प्रयोगशालामा ग्यास चुहावटका कारण बिरामी भएका १५० जना अस्पताल भर्ना भएका छन् ।
बिरामीमध्ये अधिकांश महिला कामदार रहेका छन् । शुक्रबार भएको घटनामा परी बिरामी भएकाहरूलाई विभिन्न अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ ।
भारतको आन्ध्र प्रदेशमा रहेको औषधी उद्योगको प्रयोगशालामा प्रयोग हुने ग्यास चुहिएर त्यहाँ रहेका श्रमिक तथा कर्मचारीहरु बिरामी भएका हुन् । आन्ध्र प्रदेशको अनाकापली जिल्लामा घटना भएको हो ।
‘घटनामा परी बिरामी भएका १५० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ, उनीहरुलाई अहिले निगरानीमा राखेर उपचार भइरहेको छ,’ जिल्ला चिकित्सा तथा स्वास्थ्यप्रमुख हेमन्त अनाबाथुलले भनेका छन् ।
ग्यास चुहावटको कारण अहिलेसम्म स्पष्ट हुन नसकेको र घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।
ग्यास चुहिएपछि प्रयोगशालामा रहेकाहरुमा बान्ता हुने, रिङ्गटा लाग्ने, अचेत हुने, कमजोरी हुने श्वास प्रश्वासमा समस्या हुने लगायतका लक्षण देखापरेको थियो ।
प्रतिक्रिया