एनआरएन यूकेलाई अब व्यक्ति होइन, संस्थाको नेतृत्वको पालो

एनआरएन यूकेलाई अब व्यक्ति होइन, संस्थाको नेतृत्वको पालो


nrnलगभग ३०० वटा संघसंस्थाहरुको विधिवत जन्म भएको ठाउँ बेलायतमा पारस्परिकताको सम्वर्द्धन गर्ने किसिमले भने एकै ‘साझा संस्था’को जन्म भएको छैन भनेर भन्न सकिने हालात पुरानो संस्था ‘यती’ले धेरैअगाडि र ‘गैरआवासीय नेपाली संघ यूके’ले भर्खरै दृष्ट्याएको छ ।

भर्खरै ‘यती’को भन्दा भयानक छाप दिने किसिमले ‘गैरआवासीय नेपाली संघ यूके’को आन्तरिक विवाद अगाडि आएको छ । राजनीतिको उच्चतम खेल खेलिने संघको रुपमा विद्यमान भइसकेको यस संस्था अब विखण्डनको अन्तिम चरणमा पुगिसकेको छ । पैसा तथा रवाफका साथै धाकहरुको विज्ञापन गर्दै गरेको देखिएका नेतृत्वहरुबाट संस्थागत ‘गोपनीयता’, ‘संरचानात्मक एकता’ अनि सहमतिजनक ‘विश्वसनीयता’ आदिबाट पिछडिएका साँगठानिक कार्य पद्धतिले गर्दा समाजलगायत गैरआवासीय नेपाली संघमा नै एक तमाशाको रुपमा यूकेको एनआरएनए संघ देखिएको छ ।

संस्थाको तेस्रो काउन्सिल वैठकमा एक व्यक्तिले संस्थाका भूपू अध्यक्ष सूर्य गुरुङ्गपछिका नेतृत्वहरु ‘चोर तथा फटाहा’ हुन् भनेर खुलेआम सो कार्यक्रममा बोलेका थिए र तिनको भनाइलाई ‘सह’ दिँदै हलमा ‘ताली’ पनि ठोकिएकाथिए । त्यसको मतलव के हो ? के सूर्य गुरुङ्गपछिका ‘नेतृत्व’ बाहुन-क्षेत्रीहरुको भएर नै ती ‘चोर तथा फटाहा’ भएका हुन् ? या ‘बाहुन तथा क्षेत्री’हरुका नेतृत्वमा संस्थालाई इमान्दारिताका साथ एकत्रित गर्ने ‘क्षमता’ छैन ? या वास्तवमा यो, मात्र ‘व्यक्ति-विशेष’को ‘नालायकी’ हो वा सूर्य ‘गुरुङ्ग’ नै संस्थागत नेतृत्वको सवालमा ‘अव्वल’ हुन् ? या अब यूकेमा ‘व्यक्ति’ होइन, ‘जातिगत’, ‘क्षेत्रगत’ अनि ‘विचारगत’ जमातको नेतृत्वले मात्र संस्थालाई सञ्चालन गर्न सक्दछ ? यसबारे सोँच्नुपर्ने समय आएको छ । ब्राह्मण तथा क्षेत्रीहरुले अगुवाइ गरेको संस्थामा जहिले पनि ‘विरुद्ध’को आवाज उठाउनका लागि ‘विषय’हरु हुने हुन् कि जस्तो लाग्ने गरेर आम बेलायती नेपाली जनतालाई ‘भान’ भएको हो मात्रै हो कि, वास्तवमा ‘वास्तविकता’ यही हो ? यो पनि सोचनीय ‘प्रश्न’ हो ।

जातिगत विभेद अति नै ‘अमान्य अनि गैरकानूनी’ रहेको मुलुकमा बस्ने हामीहरु ‘बथान’मा नै एकैखाले भएर बस्न सक्ने रहेछौं वा ‘बस्नै पर्ने’ रहेछौं कि लाग्ने गरेर हामीले आफ्नो कला, संस्कृति तथा ‘आफ्नोपन’को रवाफ केही हदसम्म ‘नेपाली-मेला’मा देखेका अनि देखाएका छौं । आफ्नोपन अवश्य नै सबैलाई प्यारो हुन्छ र सबैलाई जसो हामीलाई पनि त्यही आफ्नोपन प्यारो भएको छ । हामी अँगालिएर मकै चपाउँदै, गाइबस्तुले चारा उग्राउँदै गरेजसरी अर्काका कुराहरु काट्न मन पराउँछौं, हामी एक आवाजमा होइन, सामूहिक आवाजमा मिठास पाउँछौं, हामी एकको झिनो आवाजले गलाउन नसकेको अप्ठ्यारालाई सामूहिक हातहरुले फकाएर मनााउँछौं, धकेलेर गलाउँछौं । वास्तवमा हामी स्वस्थ प्रतिष्पर्धाको नाममा अर्कोले गरेकैजस्तो तर त्योभन्दा राम्रो गर्ने ‘लोभ’ फाल्न सक्दैनौं, जसको लालचले हामीमा ‘सिर्जनात्मकता’ हराएको थाहा पाउँदैनौं । ख्यातीको ‘भुलभुलैया’मा समाजमा त्यसरी आफ्नो अमूल्य समय ‘खर्च’ गरिरहेका मानिसहरु छन्, जो नजाँनिँदो किसिमले अन्त्यमा ‘व्यक्तिवादी’ बन्न मात्र वाध्य भएका हुन्छन् । कुनै पनि जातिगत, क्षेत्रगत सामाजिक संस्था होस्, तिनमा ‘लागीपर्ने’ नेतृत्वहरुले गुमाएका नै बढी हुन्छन्, यदि भुलभुलैयामा रुमल्लिएको ‘ख्याती’को कुरा नगर्ने हो भने । पूर्ण रुपमा समाजको सेवा गर्ने ‘तत्परता’ राखेको अनि सेवा गरेका मानिसहरु पनि सोही ख्यातीको चाहमा ‘लोभी’ बनेका हुनसक्दछन्, ‘फटाहा’ लागेका हुन सक्दछन् वा ‘चोर’ पनि मानिएका हुनसक्दछन्, तिनको मुख्य उद्देश्य त्यही ‘करामत’मा विलय भएका हुन्छन् । प्रमुख तथा विशेष अतिथि वा सम्माननीय पाहुना बन्दै ‘खादा’ पहिरिनूलाई आफ्नो ‘साध्य’ सम्झने ती नेतृत्वकर्ताहरुले आफ्नो समाजलाई सेवा गर्ने जस्तो ‘साधना’लाई नै छायामा पारेका हुन्छन् ।

यहाँ सायद यही भएको हो, गैरआवासीय नेपाली संघ यूके शाखामा यही ‘ख्याती’को लागि, सायद त्यही ‘खादा’का लागि नेपालीहरुको हितमा काम गर्न चाहनेहरु ‘चोर अनि फटाहा’ मानिएका छन्, भनिएका छन्, यो कुनै अदालतले ‘फैसला’ गरेर सुनाएर दलाइएको ‘सम्वोधन’ थिएन, यो ती ‘नेपालीहरु’मध्येबाट आएको थियो, जसलाई सेवा गर्न यिनीहरु ‘प्रतिवद्ध’ थिए र छन् पनि । तर त्यही ‘दम्भ’को आडमा ख्यातीको लोभले गर्दा विद्रोही पक्ष भनिएका महेन्द्र कँडेल पक्षले सयौं संस्थाको आडमा ‘अर्को एनआरएनएको संस्था नै खोल्ने’ भनेका कुरा समाचारमा आएको छ भने, योगेन क्षेत्री वा संस्थागत पक्ष भने कुनै पनि हालातमा आफूले नै ‘वाँकी समय एनआरएनए यूके चलाई छाड्ने’ अठोट पनि प्रकाशमा आएको छ, जस्तो तिनले बेलायती नेपाली समाजलाई ‘राज’ गर्ने हुन् । तर योचाहिँ लगभग ज्ञारेन्टी जस्तै छ कि अबका दिनमा योगेन क्षेत्री वा महेन्द्र कँडेलका नेतृत्वको गैरआवासीय नेपाली संघ यूकेले ‘एकत्रित स्वरुप’ पाउँदैनन् । एक ‘मीयो’को रुपमा देखिएका प्रा. सूर्य सुवेदी पनि दिक्किएर प्रमुख संरक्षकको जिम्मेवारीबाट ‘मुक्त हुन चाहने’ कुरा सार्वजनिक रुपमा भनिसकेका छन् र तिनले एनआरएन यूकेको आन्तरिक विवादलाई रोक्न सकेनन्, अन्य केही देशहरुमा ‘एड्भाइजर’को काम गर्न सक्ने सुवेदीको ‘सामर्थ्यता’ले, बथानमा नै रमाउन रुचाउने संकीर्ण समाजका बेलायती नेपाली समाजलाई सुझाउन सकेनन्, उनले बुझाउन सकेनन् या तिनलाई बुझ्न समाजले चाहेनन्, त्यसलाई गहिरिएर खोज्न जरुरी छैन ।

वास्तवमा ‘गैरआवासीय नेपाली संघ बेलायत’ नामको संस्थालाई ‘यती’को हालातमा जान नदिनको लागि साँच्चै नै यो संस्था एक तमू जातिले चलाउन जरुरी छ, जसलाई अवश्याम्भी रुपमा तमू धीं यूकेको आधार मिलेको होस् । जसरी जति नै प्रयास गरे पनि ‘नेपाली-मेला’ तथा ‘गोर्खा-कप’ चलाउनका लागि तमू धींको विकल्प छैन, त्यसैगरी एनआरएनए यूकेलाई अब एकत्रित अवस्थामा लानको लागि तमू धीं नै अन्तिम उपाय हो भन्ने निम्नतम रुपमा हामीलाई ‘आभास’ भइरहेको छ । किनकि माथि भनिसकिएको छ —गैरआवासीय नेपाली संघ यूकेलाई संरचनात्मक रुपमा चलाउनका लागि ‘व्यक्ति’ होइन, एक ‘जमात’को प्रतिनिधित्व चाहिन्छ, एक संस्थागत ‘संरचनात्मक आड’ बोकेर हिँड्ने व्यक्ति चाहिन्छ, र त्यसमा यो खलबलिएको घडीमा ‘तमू धीं यूके’को विकल्प छैन । एक साधारण गाउँले-समाजमा अट्ने सहभागीहरुको तुलनामा पनि पुग्न नसकेको ‘एनआरएन यूके’को स्थिति यति ‘नाजुक’ देखिएको छ कि जसलाई दुई दर्जन मानिसहरुको साथमा ‘नेपाली-मेला’मा साँस्कृतिकताको प्रर्दशन गर्ने ‘झाँकी’मा एक व्यानरको भरमा हिँड्न ‘लाचार’ भयो । आखिरमा साझा हुन सक्ने यस संस्थालाई आफ्नो भनेर सम्झँदै यसमा समर्पित हुन खोज्ने साधारण गाउँले-समाजको भन्दा ‘न्यून’ किन त ?

जातीयताले मानिसहरुलाई संक्रमित रुपमा लान्छ, आफूलाई ‘अब्बल’ र अन्यलाई ‘तूच्छ’ ठान्छ, आफ्नो सानो दायराभित्रको ठूलो संसारको कल्पनाको भ्रम पाल्दछ भन्नु खासगरी बेलायती नेपाली समाजमा शतप्रतिशत गलत साबित भएको छ र यो क्रमले ‘निरन्तरता’ हासिल भने गर्दैछ । एउटा संस्थालाई पनि ‘सगोल’ रुपमा धान्न नसकेको गैरआवासीय नेपाली संघ यूकेले तीनसय जति संघसंस्था’हरुलाई आफ्नो संस्थाभित्र ल्याउने किसिमको काउन्सिलको कार्यशालामा दर्शायो, त्यो अति नै ‘हास्यास्पद’ छ । गैरआवासीय नेपाली संघ यूकेको त्यस्तो रुप त ‘महासँघ’को अवधारणामा जाने जस्तो लागेको छ तर संस्था धारणाले चल्दैन, कार्यगत इमान्दिारिता, लगनशीलता अनि समाज सेवा गर्ने ‘त्यागी भाव’ले चल्दछ । योगेनले समाज सेवाको नाममा ‘त्याग गर्न नसक्नू’ अनि महेन्द्रको त्यही समाज सेवाको नाममै ‘पदको लालच नछोड्नू’ले उक्त संस्थालाई समाजमै ‘तमासा’ मात्र बनाइएको छ । व्यक्तिगत लालचामा लिप्त सम्पूर्ण संस्था देखिएको छ । पदको ट्यागको अनि खादा पहिरिनूमा गौरवता देख्ने मानसिकतामा लिप्त कार्य समितिको आभाको प्रदर्शनी भएको छ । प्रा. सूर्य सुवेदीले महेन्द्र कँडेल समूहका उपाध्यक्ष सूर्य नेवाङ्गलाई संस्थाको तेस्रो काउन्सिल वैठकको दौरान एक कार्यशालामा “…तपाईँलाई आफूलाई वरिष्ठ उपाध्यक्ष भन्ने हैसियत कसले दियो ?…” भन्ने प्रश्न राखेको निक्कै नै रमाइलो थियो जसले हाम्रो माथिको भनाइ पुष्टि गर्दछ । त्यस्तै प्रकारका परिणतिहरुको बग्रेल्तीमा संस्था भित्रभित्रै ‘जर्जर’ बनेको छ र त्यसलाई ‘टेगो’ दिन भावानात्मक एकात्मकता चाहिन्छ, जुन खासगरी जातीय संस्थाकै रुपमा भए पनि शक्तिशाली मानिएको तमू धीं मात्र ‘अन्तिम उपाय’ हो । ‘गोर्खा-कप’ तथा ‘नेपाली-मेला’ जस्तो वृहत परिणाम र परिमाणको भेलाको आयोजनामा दक्षता हासिल गर्न सक्ने तमू धींको ‘नियन्त्रण’मा नरहेसम्म गैरआवासीय नेपाली संघ यूके एक ‘सशक्त’ संस्थाको स्वरुपमा रहँदैन ।