हरियाली हराभरा नेपाल त्यसको नाउँ !

हरियाली हराभरा नेपाल त्यसको नाउँ !


(सन्दर्भ : विश्व वातावरण दिवश)
  • मातृका लामिछाने

आधुनिक जीवनशैली मानिस सबै मस्त ।
भूमि, जल, वायु, ध्वनी सबै भए ध्वस्त ।।
भूमि हाम्रो धर्तिमाता स्वच्छ राख्नुपर्छ ।
जलचर, थलचर सबले बाँच्नुपर्छ ।।

पहिले भन्थे हरियो वन नेपालको धन ।
अहिले भयो हरियो वन तस्करको धन ।।
वातावरण स्वच्छ राख्ने छैन हाम्रो ज्ञान ।
देश बनाउन कसैको कहिल्यै छैन ध्यान ।।

स्वच्छ राखी वातावरण सभ्य बनौँ हामी ।
हराभरा देश हाम्रो विश्वभरमा नामी ।।
फोहोर बढे रोग लाग्छ भन्ने कुरा जानी ।
सधैंभरि सफा सुग्घर बनौँ बाबु-नानी ।।

स्वच्छ सहर, सफा गाउँ, स्वच्छ वातावरण ।
भए मात्र सुखद् हुन्छ हाम्रो पनि मरण ।।
साना-साना नानीहरु लाई बाँडौँ यही ज्ञान ।
स्वच्छ भए वातावरण सफा हुन्छ मन ।।

सड्ने गल्ने फोहोरलाई कम्पोष्ट बनाउने ।
त्यसै राख्दा थुपारेर हुन्छ गन्हाउने ।।
फोहोरमैला बढ्यो भने झिँगा पनि बढ्छ ।
खाना माथी झिँगा बसे बिग्रिएर सड्छ ।।

त्यहि खाना खाइ मान्छे बिरामी भै लड्छन् ।
कति धेरै मान्छेहरु स्वर्गतिर चढ्छन् ।।
निरोगी भै बाँच्नलाई बानी सुधार गरौँ ।
बनजंगल जोगाएर हरियाली छरौँ ।।

पानी हाम्रो जिन्दगानी फोहोर गर्नुहुन्न ।
फोहोरमैला जथाभावी कहिल्यै छर्नुहुन्न ।।
सेवन गरे फोहोरपानी रोग लाग्छ नानी ।
झाडा-बान्ता, आउँ, हैजा, टाइफाइड पनि ।।

खोलानाला, पोखरीमा नुहाइधुवाइ हुन्न ।
सफा भए वातावरण रोग-ब्याधले छुन्न ।।
उपचार गर्नु भन्दा रोग नलागेकै जाती ।
फोहोरले नै गर्दा लाग्छ रोग नानाभाँती ।।

दिसा-पिसाब गर्नलाई चर्पी बनाउँ साथी ।
स्वच्छ ठाउँ, स्वस्थ जीवन हुन्छ सधैं माथि ।।
सफा राखौँ घर-आँगन सफा राखौँ गाउँ ।
आजैबाट जुटौँ साथी चलाउन नाउँ ।।

नेपाल राम्रो माथिबाट आकाशले हेर्दा ।
प्रकृतिको प्रेमसँगै स्वच्छ सास फेर्दा ।।
आकाश राम्रो, धर्ति राम्रो, देश झनै राम्रो ।
हराभरा यो देशमा रमाउँछ मन हाम्रो ।।

सेता अग्ला हिमचुली, हरियो डाँडापाखा ।
गाउँछे गीत कोइलीले हाली मीठो भाका ।।
धर्तीमै छ एक मात्र स्वर्ग जस्तो ठाउँ ।
हरियाली हराभरा नेपाल त्यसको नाउँ ।।