बाछो काटेर मासु भाग लगाउँदै गरेका मोक्तान पक्राउ

बाछो काटेर मासु भाग लगाउँदै गरेका मोक्तान पक्राउ


गाईको बाछो काटेर मासु भाग लगाइरहेको अवस्थामा प्रहरीले मध्यपुरथिमि नगरपालिका-८ बोडे (भक्तपुर)बाट एकजना पक्राउ गरेको छ । दोलखा काटाकुटी गाउँपालिका-२ घर भइ हाल बोडे पाटी विहार बस्ने ३८ वर्षीय निमा मोक्तानलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।

मध्यपुरथिमि नगरपालिका-८ बोडेस्थित वडा कार्यालयको भवननजिकैको सार्वजनिक सौचालयमा गाईको बाछो काटी मासु भाग लगाइरहेको स्थानीयवासीले जानकारी गराएलगत्तै महानगरीय प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरी टोलीले मोक्तानलाई बाछोको मासुसहित पक्राउ गरेको हो ।

प्रहरीले आज मोक्तानलाई जिल्ला अदालत भक्तपुर पेस गरी थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ ।