भतिजोद्वारा गोली प्रहार गरी काकीको हत्या-प्रयास

भतिजोद्वारा गोली प्रहार गरी काकीको हत्या-प्रयास


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको मुख्य परासी बजारमा सोमबार गोली चलेको छ । जिल्ला अदालतनजिकै दिउँसो करिब ४ बजे गोली चलाइ एक व्यक्ति फरार भएका छन् ।

गोली चलाउने व्यक्ति सरावल गाउँपालिका ४ मङ्गलापुर बस्ने वर्ष २९ का हंसराज यादव रहेको जिल्ला प्रहरी प्रमुख ऋषिराज कँडेलले जानकारी दिएका छन् । हंसराजले आफ्नै ३० वर्षीया काकी रोशनी यादवमाथि गोली चलाएका थिए । पहिलो प्रयासमा गोली नपड्किएपछि उनले दोस्रो पटक पनि गोली प्रहार गरेका बताइएको छ ।

अंशसम्बन्धी (जग्गा) विवाद चुलिएपछि गोलीकाण्ड घटेको एक कानुन व्यवसायीले जानकारी दिए । लगातार गोली प्रहारको प्रयास गरिएपछि रोशनीले भाग्दै लुकेर ज्यान जोगाउन सफल भएकी जानकारीमा आएको छ। यादवको पेस्तोलबाट चलाइएको गोली कसैलाई पनि नलागेको तथा अभियुक्तको खोजी भइरहेको प्रहरीले बताएको छ।