बैतडीमा भारत सरकारको सहयोगमा निर्माण हुने विद्यालय भवनको सिलान्यास

बैतडीमा भारत सरकारको सहयोगमा निर्माण हुने विद्यालय भवनको सिलान्यास


‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको ३ करोड १० लाख पचास हजार आर्थिक सहयोगमा बैतडीको पाटन नगरपालिका-४ मा निर्माण हुने भूमेश्वर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको संयुक्त रुपमा शिलान्यास गरिउको छ ।

राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरू समेत उपस्थित विशेष समारोहबीच पाटन नगरपालिकाका मेयर गौरीसिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथमसचिव अविनाश कुमार सिंहले परियोजनाको संयुक्त रुपमा सिलान्यास गरेका हुन् ।

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत प्राप्त हुने भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक विविध सुविधासहितको दुईतल्ले भवन ब्लक-ए र ब्लक-सीको निर्माणमा उपयोग गरिने जनाइएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने र बैतडीको पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिने सो अवसरमा जानकारी दिइयो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको सरोकारवालाहरूको धारणा छ ।

उक्त कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

बैतडीको पाटन नगरपालिकास्थित श्री भूमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुऱ्याउने स्थानीयको भनाइ छ ।

ज्ञातव्य छ, सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४९० वटा परियोजना सम्पन्न भइसकेका छन् । यीमध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा २ वटा परियोजना बैतडीमा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६८ वटा एम्बुलेन्स र २९ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ५ वटा एम्बुलेन्स बैतडी जिल्लालाई उपलब्ध गराइएको छ ।