संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले सदन अगाडि बढ्न नदिने

संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले सदन अगाडि बढ्न नदिने


सहकारी ठगी सम्बन्धमा संसदीय छानबिन समिति नबनेसम्म नेपाली कांग्रेसले संसदको काम कारबाही अगाडि बढ्न नदिने भएको छ ।

प्रतिनिधिसभाको शुक्रबार (२८ वैशाख)को बैठक सुरु भएलगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरु उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका महामन्त्री थापालाई भनाइ राख्न समय दिए ।

थापाले संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनैपनि कारबाही अगाडि बढाउने कुरामा कांग्रेसको साथ नहरने स्पष्ट पारे । उनले भने, ‘सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनका कुनै पनि काम कारबाहीमा कांग्रेसको साथ रहँदैन । यसको जिम्मेवार कांग्रेस होइन, सत्तापक्ष हो ।’ संसदभित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने थापाको तर्क थियो ।

सांसद थापाले भनाइ राखेपछि सभामुखले बैठक सञ्चालन गर्दै राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्र पढेर सुनाउने क्रममा नेपाली कांग्रेसका सांसदहरु ‘रोष्ट्रम’ घेराउ गर्न पुगे । त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगन गरेको घोषणा गरे ।