आइओसीलाई किस्ता तिर्न नपुगेपछि बढाइयो पेट्रोलियम पदार्थको मूल्य

आइओसीलाई किस्ता तिर्न नपुगेपछि बढाइयो पेट्रोलियम पदार्थको मूल्य


नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । आज (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी निगमले मूल्य वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर रु १७८ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १६५ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

बुधबारसम्म निगमले आइओसीलाई रु २० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निगमले प्रत्येक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको र आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै गएकाले मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन् ।

निगमले गत साता मात्र पेट्रोल, डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० घटाएको थियो । मूल्य समायोजनपछि पनि पाक्षिकरुपमा रु तीन अर्ब ८९ करोड घाटा रहँदै आएको निगमको भनाइ छ ।