अत्यधिक शरीर चिलाउनु खतराको घण्टी हुन सक्छ ?

अत्यधिक शरीर चिलाउनु खतराको घण्टी हुन सक्छ ?


कतिपय अवस्थामा शरीरको छालामा कुनै बाहिरी सङ्क्रमण (भाइरस, ब्याक्टेरिया, फङ्ग) को कारण पनि शरीर चिलाउँछ भने छालाको सफाइमा कमी यस समस्याको प्रमुख कारण मानिन्छ । आफ्नो शरीरको सरसफाइमा ध्यान दिने व्यक्तिहरूको लागि यो समस्या न्युन हुन सक्छ ।
  • सागर सुवेदी
स्वास्थ्य

साधारणतया शरीर चिलाउनु एक सामान्य शारीरिक प्रतिक्रिया हो । तर बारम्बार शरीर चिलाउनुलाई विशेष सङ्केतको रूपमा लिनुपर्ने हुन्छ । अर्थात्, शरीरले तपाईंलाई केही सूचना दिन खोजिरहेको भन्ने अर्थमा यसलाई बुझ्नुपर्ने हुन्छ । दैनिक प्रशस्त पानी नपिउने र शरीरको लागि आवश्यक पौष्टिक पदार्थ नखाएको हकमा फरक रूपमा बुझ्न सकिए पनि बारम्बार शरीर चिलाउने गरेको छ भने यसलाई हल्का रूपमा कदापि लिन मिल्दैन । तपाईंको शरीर बारम्बार चिलाइरहन्छ भने यसका पछाडि केही गम्भीर कारणहरू हुन सक्छन् भनेर बुझ्नुपर्ने हुन्छ ।

शरीर चिलाउने धेरै कारणमध्ये केही कारणहरूमा विवेचना गरौँ ।

१. मस्तिष्कका कोशिकामा भएको परिवर्तन/असर :

मस्तिष्कको काम साधारण अर्थमा बुझ्दा सम्पूर्ण शारीरिक क्रियालाई आवश्यकताअनुरूप निर्देशन गर्ने हुन्छ, अझ बुझ्नेगरी भन्दा शरीरको हरेक अङ्ग-प्रत्येङ्गको बारेमा मस्तिष्क जानकार हुन्छ । आवश्यकताअनुसार यसले सूचना लिने, सूचनालाई राख्ने र निर्देशन दिने साथै शरीर चलाउन आवश्यक हर्मोन उत्पादनका लागि निर्देशन दिने हुन्छ । यस अर्थमा भन्दा मस्तिष्कले म्यासेन्जर प्रकारको तरङ्ग निकाल्ने (release of messenger/Transmitter substance) प्रक्रिया हुन्छ, जब मस्तिष्कको कोषिकामा कुनै कारणले बदलाव हुन्छन् त्यो अवस्थामा यसले शरीरमा फरक प्रकारको संदेश छालामा पठाउदछ जसको कारण शरीर चिलाएको महसूस हुन्छ । कुनै-कुनै अवस्थामा एक समयको लागि चिलाएको एक ठाउँमा महसूस भएता पनि चिलाउँदै जाँदा जतासुकै चिलाउन थाल्दछ, यस्तो समस्या छ भने तपाईंले कुनै चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।

२. छाला रोग :

शरीरको छालामा हुने विविध रोगको कारण पनि शरीर चिलाउने हुन्छ, कतिपय अवस्थामा शरीरको छालामा कुनै बाहिरी सङ्क्रमण (भाइरस, ब्याक्टेरिया, फङ्ग) को कारण पनि शरीर चिलाउँछ भने छालाको सफाइमा कमी यस समस्याको प्रमुख कारण मानिन्छ । आफ्नो शरीरको सरसफाइमा ध्यान दिने व्यक्तिहरूको लागि यो समस्या न्युन हुन सक्छ । यो अवस्थालाई हामीले देख्न सकिने शरीरको भागमा प्रत्यक्ष देख्न सकिने हुन्छ ।

३. एलर्जी :

कुनै-कुनै अवस्थामा बाहिरी धुलो, लाटेक्स, फलाम, घरपालुवा जनावर साथै वसन्त ऋतु सुरु भएपश्चात हावामा उड्ने पराग (Pollen)का कारण पनि शरीर चिलाउने गर्दछ, यसमा चिलाउने रसायनिक प्रक्रिया भनेको, शरीरले शरीरको बाहिरी/भित्री सुरक्षाको लागि निर्माण गर्ने रोग प्रतिरोधात्मक संरचनाले माथिको अवस्थामा हिस्टामिन भन्ने हर्मोन उत्पादन गर्दछ, तर उक्त हिस्टामिनले रोगप्रतिरोधात्मक कर्ममा काम नगरेर शरीर चिलाउने अवस्था सिर्जना गरिदिन्छ । तर अर्को फरक खालको एलर्जीचाहिँ कुनै औषधि लिँदा यसले मानव शरीरमा आफ्नो प्रतिक्रिया देखाउँदा पनि उत्पन्न हुन्छ । जस्तो- अचानक फोका उठ्ने, छाला अत्यधिक रातो हुने, यस्तो अवस्थामा बाहिरी छालामा मात्र नभएर भित्री छाला पनि तरङ्गित बन्दछ ।

४. शरीरका भित्रि अङ्गमा भएका समस्या :

शरीरका भित्री अङ्गहरूमध्येमा कलेजो, पित्त एवम् मृगौलामा पैदा हुने समस्यामा पनि शरीर चिलाउने हुन्छ, साधारणतया कलेजोको समस्यामा शरीरको बाहिरी छाला साथै आँखाको नानी पहेँलो बन्ने मात्र नभएर छाला अत्याधिक चिलाउने पनि हुन जान्छ । यसको कारण भनेको खाना पचाउन विशेषगरी चिल्लो पदार्थलाई पचाउन निस्किने पित्तरसको असाधारण उत्पादन या यसमा हुन जाने ब्यवधानमा पनि शरीर चिलाउने गर्दछ । यसमा पित्त रस जसभित्र बिलिरुविन भन्ने तत्व हुन्छ, यो पित्तरसको रङ्गसँग पनि जोडिएको तत्व हो । यसैको कारण शरीर पहेँलो, हुन्छ भने अर्कोतर्फ मृगौलाले राम्रोसँग काम नगरिरहेको अवस्थामा पनि शरीर चिलाउने हुन्छ ।

५. अवशोषण र हर्मोन निर्माण अवरुद्ध हुँदा :

हामीले खाएको हरेक खानालाई शरीरले यसको रसायनिक प्रक्रिया पुऱ्याएर शरीरको कोषमा शोषण गर्ने प्रक्रिया बनाएको हुन्छ, यसलाई अवशोषण (Metabolism) भनिन्छ, जब यो रसायनिक प्रक्रिया कुनै कारणवश अवरुद्ध हुन्छ यसको शारीरिक प्रतिक्रियाको रूपमा शरीर चिलाउने हुन्छ, यस्तो अवस्थालाई नजरअन्दाज गर्न हुँदैन । यस्तो अवस्थाको महसूस हुँदा चिकित्सकको सम्पर्कमा गएर आफ्ना समस्यालाई बताइहाल्नु बेस हुन्छ ।

यससँगै शरीरका हर्मोनमा परिवर्तन र गडबडी हुँदा पनि शरीर चिलाउने हुन जान्छ, यसमा विशेषगरी महिलामा मासिक श्रावको अवस्था, गर्भवती हुँदाको अवस्था साथै थाइराइड हर्मोनको उत्पादनमा हुने गडबडी, शरीरमा फलाम (आइरन)को कमी र चिनीरोग (डायबिटिज) को कारण पनि शरीर चिलाउने हुन जान्छ ।

६. क्यान्सर :

क्यान्सर भन्ने सुन्दा हरेक मानिस तरङ्गित बन्दछन्, तर हामीले बुझ्ने भनेको हाम्रो शरीरमा हरेक मिनेट हजारौँ क्यान्सर सेल उत्पादन भइरहेका हुन्छन् तर शारीरको आफ्नो प्रतिरोधात्मक प्रक्रियाले हरेक मिनेट ती खराब सेलहरूलाई नस्ट गरिरहेको हुन्छ । शारीरिक अनुसन्धान मा तब मात्र क्यान्सर छ भन्ने पुष्टि हुन्छ जब यो प्रक्रियाले आफ्नो लयमा विविध कारणले काम गर्न सकेको हुँदैन, अर्थात् आफ्नो घेराबाट बाहिर पुगिसकेको हुन्छ । शरीरमा क्यान्सरले बास गरेको छ भने विविध समस्यासँगै शरीर चिलाउने पनि हुन जान्छ ।

७. न्युरोलोजिकल समस्या :

केन्द्रीय स्नायु प्रणाली (central nervous system) र बाहिरी (peripheral) प्रणालीमा हुने समस्याको कारण पनि शरीर चिलाउँछ, यसमा विशेष प्रकारको रोग (दुख्ने) पोलिन्योरोपाथी भन्ने रोग साथै स्नायु कोशिकाको सङ्क्रमणको अवस्थामा पनि यसले आफ्नो असर देखाउने गर्दछ । कालान्तारमा यो समस्या अत्याधिक जटिल बन्दछ र, उपचार नै नहुने अवस्थामा पुग्ने पनि हुन्छ । यस्तो अवस्थाको जानकारीको रूपमा पनि शरीर चिलाउँछ ।

८. सुक्खा छाला :

शरीरमा पानीको कमी, केही छालासँग सम्बन्धित रोग र पोषणको कमीले पनि छाला चिलाउँदछ । यससँगै सूर्यको किरणको असरले पनि शरीर चिलाउँदछ ।