वर्षमान र शक्तिको नाम सिफारिश !

वर्षमान र शक्तिको नाम सिफारिश !


बाहिर नारायणकाजी श्रेष्ठको नाम चर्चामा ल्याइएको भए पनि प्रचण्डले शेरबहादुर देउवासँग शक्ति बस्नेत र वर्षमान पुनको नाम मन्त्रीका निम्ति सिफारिश गरेको जानकारी प्राप्त भएको छ । जनार्दन शर्मालाई मन्त्रिमण्डलबाट बाहिर ल्याएर पार्टीको महामन्त्री बनाउने सोच प्रचण्डले बनाउनुभएको बुझिएको छ ।

गठबन्धन सरकारको भविष्यलाई लिएर अनेकौँ आशङ्का उत्पन्न भइरहेका बेला मन्त्रिमण्डल पुनर्गठनसम्बन्धी विषयमा पनि दलहरूबीच छलफल चलेको जानकारी प्राप्त भएको छ ।

नेकपा समाजवादीले आफ्ना मन्त्रीहरू बदल्ने निर्णय गरी नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्रीकहाँ पठाएपछि पुनर्गठनले निकै चर्चा पाएको थियो । माधव नेपालले हतारमा काम गरे भन्दै प्रचण्ड रिसाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मन्त्रीहरूको शपथ कार्यक्रम अनिश्चित कालसम्मका लागि रोकिदिए ।

स्थानीय निर्वाचन परिणामले समाजवादी पार्टीको रुग्ण अवस्था पुष्टि गरिदिएपछि सत्ता गठबन्धनका अन्य दलहरूले माधव नेपाललाई महत्व दिन छोडेका छन् । काङ्ग्रेस माओवादी र जसपाले माधव घाँडो बनेको महसूस गरेको बताइन्छ ।

गठबन्धन कायम रह्यो र संसदीय निर्वाचनका निम्ति क्षेत्र भागबण्डा शुरु भयो भने त्यसबेला माधव नेपालको सुनुवाइ कसैले पनि नगर्ने निश्चित मानिन्छ । माधव नेपाललाई पन्ध्र निर्वाचन क्षेत्र पनि दिन नसकिने अवस्था अहिले उत्पन्न भएको छ । काङ्ग्रेस पार्टीले एक सयभन्दा कम निर्वाचन क्षेत्रमा चित्त बुझाउन मुस्किल छ । त्यस्तो अवस्थामा माधवलाई छोडेर बाँकी तीन पक्षबीच मात्र चुनावी गठबन्धन बनाइयो भने कुनै आश्चर्य हुने छैन । माधवको सिफारिशका मन्त्रीहरूलाई शपथ नगराउनुको रहस्य खोतलियो भने निकै गहिरो तथ्य खुल्ने स्थिति छ ।

यसरी एकातिर माधव नेपाल नेतृत्वको पार्टीले सिफारिश गरेका नामहरूलाई मन्त्री बन्न रोक लगाइएको छ भने अर्कोतिर शेरबहादुर देउवाले प्रचण्ड र बाबुरामसँग मन्त्रिमण्डल पुनर्गठनसम्बन्धी विषयमा छलफल चलाएको बुझिएको छ । केही दिनयता बजेट अनुमोदनपश्चात जनार्दन शर्मालाई अर्थमन्त्रालयको जिम्मेवारीबाट मूक्त गर्ने र उनको स्थानमा ज्ञानेन्द्रबहादुर कार्कीलाई चयन गर्ने तथा गृहमन्त्रालयको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई सुम्पिने भन्ने चर्चा शुरु भएको छ । तर नारायणकाजी श्रेष्ठ मन्त्रिमण्डलमा सहभागी हुन इच्छुक नरहेको बताइन्छ ।

बाहिर नारायणकाजी श्रेष्ठको नाम चर्चामा ल्याइएको भए पनि प्रचण्डले शेरबहादुर देउवासँग शक्ति बस्नेत र वर्षमान पुनको नाम मन्त्रीका निम्ति सिफारिश गरेको जानकारी प्राप्त भएको छ । जनार्दन शर्मालाई मन्त्रिमण्डलबाट बाहिर ल्याएर पार्टीको महामन्त्री बनाउने सोच प्रचण्डले बनाउनुभएको बुझिएको छ ।