तीव्र गतिमा ओर्लिएको सेयर बजारले सोमबार अघिल्लो बुलको उच्चतम विन्दुलाई परीक्षण गरेको छ । दोहोरो अंकले घट्दा परिसूचक १८८४.८१ को विन्दुमा बन्द हुन पुगेको हो । पछिल्लो बुलिस मुभमा सेयर बजारले १८८८ सम्मको यात्रा तय गरेको थियो ।
यो विन्दु नजिक परिसूचकको प्रभावशाली टेवा रहेको अनुमान अधिकांश बजारले गरिरहेको छ । यद्यपि सोमबार सेयर बजारको उतारचढाव दौरान परिसूचक १८८० को विन्दुसम्म ओर्लिन पुग्यो । कारोबारको सुरुवातमै हावी भएको बिक्री चापले परिसूचक अनुमानित टेवा विन्दुभन्दा तल आएलगत्तै झन् तीव्रता पायो ।
सेयर बजारको अपत्यारिलो प्रवृत्तिले लगानीकर्तामा अन्योल थपेको छ। तीन दशक लामो मुलुकको सेयर इतिहासमा बजारले अघिल्लो बुलिस हाइमा आफ्नो मेजर सपोर्ट बनाउने गरेको छ । बारम्बार दोहोरिएको उक्त व्यवहार यसपटक सार्थक हुने अथवा नहुने लगानीकर्तामाझ अन्योल सिर्जना गरेको छ ।
पछिल्ला साइकलमा यस विन्दु नजिकिएलगत्तै सेयर बजारमा खरिदकर्ताको सक्रिय प्रदर्शनी देखिने गरेको थियो । पर्याप्त ‘एक्युमुलेसन’ले बजारको ट्रेन्ड रिभर्स नै गर्ने गरेको थियो । यद्यपि यस डिमान्ड जोनमा ‘डि«स्टिब्युसन’ को अनुपात ‘एक्युमुलेसन’को तुलनामा अधिक हुँदा, बजारको घट्दो लयले थप निरन्तरता पाउने गर्थ्यो ।
डिमान्ड जोनमै आइपुगेको परिसूचकमा अझै पनि आवश्यक ‘एक्युमुलेसन’ भेटिँदैन । परिणामस्वरूप ४९.३१ अंकको पहिरो सोमबारको सेयर बजारमा गयो । विशेषगरी बजेट सार्वजनिक भएलगत्तै बजारको गिरावटले तीव्रता पाएको देखिन्छ । बजेटअघि पनि बजार घट्ने गरेको थियो । तर बजेटपछि भने बजार निरन्तर ओरालो लाग्दैछ ।
अपवाद बनेका केही कारोबारबाहेक बजेटपछिका कारोबारमा बजार प्रायः रातो पोतेर नै बिदा हुने गरेको छ । बजेट सार्वजनिक भएपछि मात्र सेयर बजार साढे ३०० अंक अधिकले ओर्लिसकेको छ । सोमबारको बजार डेढ वर्षयताकै कमजोरसमेत हो ।
यसै दौरान सेयर बजार निरन्तर घटेपछि लगानीकर्ता आन्दोलनमा समेत उत्रिएका छन् । उनीहरुले बजार सुधारका लागि केन्द्रीय बैंक र सरकारसँग माग राखेका छन् । उनीहरुको मागको सुनुवाइमा भने दुवै निकायले चासो देखाएका छैनन् । अर्थ मन्त्रालयले चार सदस्यीय एक समिति बनाएको छ, तर अहिलेसम्म यसले काम थालेको छैन ।
बजारको स्थायित्व कायम गर्न भन्दै लगानीकर्ता सडकमा प्रदर्शनी गर्दै गर्दा कारोबारको दायरासमेत साँघुरिएको छ। कारोबार पूर्णतया सेलिङ प्रेसरको अधीनमा बढेको हो । कारोबार खुलेलगत्तै तीव्र गतिले बजार घट्दा घाटा बहन गर्न नसक्नेहरुको जमात सक्रिय देखिन्छ । सोमबार एक अर्ब ७५ करोड रुपैयाँ बराबरका कुल ६१ लाख ८६ हजार कित्ता किनबेच भएका हुन् ।
प्रतिक्रिया