भ्रामक समाचार प्रति पशुपति मन्दिर लण्डनको ध्यानाकर्षण

भ्रामक समाचार प्रति पशुपति मन्दिर लण्डनको ध्यानाकर्षण


20140911_122944लण्डन , ११ अगस्त २०१४ / लण्डनमै नेपालीहरुद्वारा स्थापित पहिलो नेपाली मन्दिर पशुपतिनाथ मन्दिर प्लम्स्टिडमा आज बसेको मन्दिर ट्रस्टिहरुको पुर्ण बैठकले हालै केही संचार माध्यममा प्रकाशनमा आएको मन्दिर संचालन सम्बन्धि नकारात्मक समाचारमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त समाचार भ्रामक र कपोलकल्पित रुपमा मन्दिरकै छविमा आंच आउने ढंगले संचार मध्यम सम्म पुर्याइएको भन्दै त्यसको भ्रत्सना गरेको छ | स्रोत नखुलेको प्राप्त ईमेल पत्रको हवाला दिदै नेपाल ब्रिटेन, डिसी नेपाल, मेरो युके लगायतका साईटहरुमा मन्दिर सुचारु रुपले संचालन हुन नसकेको खबर यसै हप्ता प्रकाशित थियो | भगवान र मन्दिर जहासुकै र जहिले पनि सबैको साझा हुने भन्दै बैठकले मन्दिरमा योगदान तथा दर्शनार्थ आउने जो सुकै पनि सदैव स्वागत योग्य नै रहेको तर्क प्रस्तुत गरेको छ |

बैठकले बिगतका कार्यहरुको समालोचना गर्दै आर्थिक, सामाजिक र अन्य कठिनाई हरुका बावजुत कामहरु भईरहेको र बाँकि कार्यहरु सुधारोन्मुख तरिकाले अगाडी बढिरहेको निष्कर्ष समेत निकालेको छ | साथै बैठकले निकट भविष्यमै मन्दिर संचालनको लागि गैर ट्रस्टीहरुसमेत समाबेश कार्य समितिको गठन गर्ने, १०० पाउण्ड सम्मका चन्दा दातालाई आजीवन सदस्य नियुक्ति गर्ने, सम्पूर्ण आर्थिक गतिबिधि उल्लेखित स्मारिका प्रकाशन गर्ने र आगामी ६ महिना भित्रमा साधारण सभा गरी नेतृत्व चयन गर्ने निर्णय समेत गरेको छ | उक्त बैठकले मन्दिरले आगामी सेप्टेम्बर २८ मा आर्थिक संकलानार्थ गर्न लागेको कार्यक्रमलाई सफल बनाउन कार्य विभाजनका साथ लागि पर्ने, डाइरेक्ट डेबिट स्किमलाई व्यापकता दिने निर्णय समेत गरेको छ |

बैठकले व्यक्तिगत रुपमा आर्थिक झमेला समेत व्यहोरेर मन्दिर खरिदमा मोर्गेज जिम्मा लिने ट्रस्टीद्वय पशुपति भण्डारी र नरेन्द्र कंडेल माथि पुन आभार ब्यक्त गरेको छ | यसैगरी बैठकले मन्दिरमा निशुल्क स्वास्थ्य शिबिर लगायतका कार्यक्रम संचालन गर्ने प्रतिवद्दता ब्यक्त गर्नु भएका ट्रस्टी डा. अच्युत धिताल प्रति हार्दिक आभार ब्यक्त गरेको छ | यसका अलावा बैठकले मन्दिरको मेडिया प्रतिनिधिमा फडिन्द्र भट्टराईलाई नियुक्तसमेत गरेको छ |

बैठक पछिको छलफल र निष्कर्षलाई बुदागत गरिएको उपस्थित ट्रस्टीहरुको हस्ताक्षरित दस्तावेजमा मन्दिर स्थापनार्थ बिगतका कठिन दिनहरुलाई स्मरण गर्दै १७ जना ट्रस्टीको जनही ५ हजार पाउण्ड र अन्य सयौ भक्तजनहरुको सानो ठुलो सबै खाले आर्थिक र भौतिक सहयोगले नै मन्दिर स्थापनाको कल्पना साकार हुन सकेको भन्दै यसको श्रेय सबैमा जाने कुरा उल्लेख छ | साथै मन्दिर स्थापना जस्तो पवित्र कार्यमा दिनरात अहोरात्र खटेर कार्य गरिरहेको ट्रस्टि कमिटीलाई झुट्टा आरोपहरु लगाउनु अत्यन्तै निन्दनीय भएको ठहर गर्दै आम जनमानसलाई भ्रममा नपर्न समेत अनुरोध गरिएको छ | मन्दिरको समग्र विकास र संचालनमा सुधारको लागि आउने सबैखाले रचनात्मक सुझावलाई आत्मसाथ गरेर अघि बढने प्रतिवद्दता समेत ट्रस्टी कमिटीले ब्यक्त गरेको छ | मन्दिर जस्तो पवित्र संस्थाको पूर्वाग्रही लान्छनामा उत्रिनु आफैमा महापाप भएको भन्दै सामाजिक पुण्य कमाउन कुरा काटेर होइन काम गरेर देखाउन सक्नु पर्ने ठहरसमेत ट्रस्टी बैठकले गरेको छ | हालचालै समाजसेवी नगेन्द्र श्रेष्ठको अगुवाइमा उहाको समुहद्वारा पूर्ण मन्दिर परिसरमा गरिएको फेन्सिंग लगायतका कामहरु प्रति आभार ब्यक्त गर्नुका साथै बिबिध व्यक्ति तथा संस्थाहरुले मन्दिरमा गरेका पुण्यकर्महरुको उदाहरणसमेत प्रस्तुत गर्दै गोप्य रुपमा मेडियामा पत्र लेख्नुभन्दा अगाडि सरेर काम गर्नु उत्तम हुने कुरासमेत उल्लेख गरिएको छ | सामाजिक दायित्व बोकेको मेडिया क्षेत्र पनि यस्तो सवालमा लिम्मेवार रुपमा उत्तरदायी हुने विश्वाससमेत व्यक्त गरिएको छ |

आरोपित सुचिमा ट्रस्टिहरु बिच असन्तुष्टि रहेको भन्ने कुरा आजको ट्रस्टी बैठकको उपस्थिति एक स्वरमा समाचारको खण्डन हुनु बाटै आफै छर्लंग भएको कुरा उल्लेख छ | त्यसैगरी आर्थिक पारदर्शिताको सवालमा अस्मिता एसोसिएट्स द्वारा बार्षिक हिसाब किताब तयार गर्दै बेलायतको प्रचलित कानुन बमोजिम च्यारिटी रेगुलेसन अनुरुप सचालन भईरहेको समेत जनाइएको छ |

मन्दिर कमिटिका सचिव फत्त थापाले बैठकको संचालन गर्दै अन्य एजेन्डाका अलावा उपरोक्त सवाल टेबल गर्नासाथ अध्यक्ष होम शर्माले मन्दिर संचालनको बिगत देखि वर्तमान सम्मको ओभर भिउ प्रस्तुत गरेका थिए | बैठकमा उपस्थित ट्रस्टिहरु होमनाथ शर्मा, फत्त थापा, सहदेव गिरी, महेन्द्र कंडेल, बालजंग अर्याल, पशुपति भण्डारी, यादव भण्डारी अर्जुन गौतम, सुरज केसी, रोमनाथ पाण्डे, कर्ण शाही, राजेन्द्र कंडेल, अच्युत धिताल तथा पण्डित निलहरि घिमिरे सबैले सकृय रुपमा छलफलमा भाग लिदै आ आफ्नो राय प्रस्तुत गरेका थिए |

मन्दिरमा पण्डितको उपस्थितिमा दैनिक पुजा-आजा संचालन हुनुका साथै वैशाक पुर्णिमा, शिवरात्री, गुरु पुर्णिमा, तिज, दशैँ, जस्ता धार्मिक चाड पर्वको अवसरमा बिशेष कार्यक्रम हरु संचालन भईराखेका छन | अन्य कृयाकलापमा बिभिन्न जात समुदायको आ आफ्नै परम्परामा संचालन हुने बिबाह, ब्रतबन्ध लगाएतका कार्यक्रम पनि मन्दिर परिसरमै संचालन हुदै आएका छन् | बृहत सहभागिताको लागि थेग्न सक्ने भौतिक पूर्वाधारको निर्माणार्थ जनमानसमा आर्थिक तथा अन्य सहयोगको याचना समेत मन्दिरले गर्दै आइरहेको छ |