पर्वत समाज बेल्जियमको अधिवेशन सम्पन्न

पर्वत समाज बेल्जियमको अधिवेशन सम्पन्न


  • सनत आचार्य, बेल्जियम

पर्वत जिल्लाबाट बेल्जियममा बसोवास गर्ने पर्वतेलीहरूको साझा संस्था ‘पर्वत समाज बेल्जियम’को पाँचौँ अधिवेशन सम्पन्न भएको छ ।

बेल्जियमको आन्तर्पेनमा गत आइतबार सम्पन्न अधिवेशनको उद्घाटन गर्दैै बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज राजभण्डारीले प्रवासमा नेपाली मनले संघसंस्था स्थापना गरी संचालनमा ल्याउनु खुसीको कुरा भएको धारणा राख्दै यस्ता सामाजिक संघ–संस्थाहरूले नेपालको आर्थिक विकासमा समेत सहयोग पुर्याउन सोच्नुपर्ने बताउनुभयो ।

पर्वत समाज बेल्जियमले खेलेको भूमिकाको प्रशंसा गर्दै राजदूत राजभण्डारीले आगामी दिनमा नेपालको पर्यटन र आर्थिक विकासका लागि पनि अझ बढी सक्रिय भएर काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका अर्का अतिथि गैरआवासीय नेपाली संघका केन्द्रीय प्रवक्ता शिव बरुवालले विकास र सहयोगमा सामाजिक संघसंस्थाहरूको महत्वपूर्ण भूमिका रहने भएकोले यसमा सबैको सक्रियता हुनु आवश्यक रहेको बताउनुभयो ।

यसैगरी, अर्का अतिथि गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले बेल्जियमका संघसंस्थामध्ये पर्वत समाज एउटा अग्रणी संस्था भएकोले यो संस्थाले समाजलाई अझ बढी एकीकृत बनाएर लैजान सके सबैको हित हुने उल्लेख गर्नुभयो ।

अतिथिकै आसनबाट मन्तव्य राख्दै अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष झलक केसीले आफूहरूले संसारभरी विकासका धेरै काम गर्ने सोच बनाएको हुँदा समाजका सदस्य र अन्य सबैलाई सक्रिय रूपमा लाग्न आग्रह गर्दै यसप्रति चासोसमेत देखाउन आग्रह गर्नुभयो ।

सम्पन्न पाँचौं अधिवेशनले नन्दा गुरुङको अध्यक्षतामा सर्वसम्मत रूपले नयाँ कार्यसमिति चयन गरेको छ जसको उपाध्यक्षद्वयमा दुर्गा तिवारी र आशबहादुर गुरुङ, महासचिवमा माया पुन, सचिवद्वयमा निष्ठा तिवारी र सञ्जय गिरी, कोषाध्यक्षमा उमा गुरुङ छानिनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा कमला गुरुङ, दीपिका केसी, वेदराज पुरी, दिपेन्द्र गौतम, नरेश श्रेष्ठ, किसन चापाई, रक्षा श्रेष्ठ, सुवास भट्ट, कुल जिसीलाई चयन गरेको छ भने सल्लाहकारमा भने प्रविणा गुरुङ, चन्द्रकुमार गुरुङ, अम्बिका प्रधान र सीता केसी छानिनुभएको छ ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै समाजका अध्यक्ष भीम जोशीले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद दिँदै समाजका गतिविधिहरूलाई अगाडि बढाउन सबैले तन, मन र धनले सहयोग गर्नुपर्ने बताउनुभयो । आफूहरूले नेपालको कुना-कन्दरामा बसेका नेपालीहरूलाई थोरै भए पनि सहयोग गर्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

अधिवेशनमा प्रकाश सपुतको एकल साँझ

कार्यक्रमलाई थप रोचक र प्रभावकारी बनाउन पर्वत समाज बेल्जियमले ‘प्रकाश सपुत एकल साँझ’ आयोजना गरेको थियो, जसमा सपुतले दर्जनबढी गीत प्रस्तुत गरेका थिए ।

एकल साँझको प्रारम्भमा कलाकार सपुतले यो पटकको यात्राको प्रारम्भदेखि केही अप्ठ्यारो महसूस गरेतापनि बेज्लियममा आइसकेपछि अत्यन्त उत्साहित भएको खुलासा गर्दै नेपालीको मनभित्र निश्चलता हुने भएकोले आफू थकित भएपनि नेपालीपन र आत्मिय भावना देखेर खुसी लागेको बताए ।

कार्यक्रमको शुरुवातमा कलाकार सपुतले ठुलाठुला समुद्र छन्, खोली भेटिँदैन, मुलको पानी खाएजस्तो तिर्खा मेटिँदैन भन्ने परदेशीको पीडा समेटिएको गीत प्रस्तुत गर्दा केही दर्शकका आँखा रसाएका थिए भने कार्यक्रमस्थल स्तब्ध भएको थियो ।

त्यसपछि भने सपुतले उनका चर्चित गीतहरू तिम्रो मायाले मलाई पीर दियो, हो डाँडाघरे साइँली जस्ता गीत गाउँदा केही क्षणमै दर्शकहरूलाई जुरुक्कै उचालेको थियो । कुरा बुझ्नुपर्छ बोलको चर्चित गीतले दर्शक दिर्घामा रहेका अधिकांश दर्शकहरूलाई स्वस्फूर्त रुपले अगाडि आएर नाच्न बाध्य बनाएको थियो ।

सपुतको एकल साँझले कोरोनाका कारण लामो समयसम्म मनोरञ्जन गर्न नपाएका सबैलाई भरपुर मनोरञ्जन दिएको अनुभूति गरियो ।