अतिवादी राजनीतिको बीचमा फरक धारका सङ्केतहरू

अतिवादी राजनीतिको बीचमा फरक धारका सङ्केतहरू


मेरो देशका नेताहरू त पपेट र रिमोटबाट परिचालित हुन्छन्, कुनैको रिमोट दिल्ली, कुनैको अमेरिका, चीन आदि देशमा छन् । उनीहरूले फरक किसिमले नाच्न चाहे भने रिमोट कन्ट्रोल गरिने व्यक्ति नै बदलिन सक्छन् ।

यसरी होला कि देशको कायापलट !

  • दामोदर पौडेल

राणा शासन, पञ्चायत, संवैधानिक राजतन्त्र तथा बहुदलीय ब्यवस्था, एकतन्त्रात्मक ब्यवस्था, सङ्घीयता जस्ता धेरै प्रणाली र प्रक्रिया देशले पाइसकेको छ । अब एउटा विकल्प बाँकी छ, त्यो हो- कार्यकारी राष्ट्रपति र संसद्बाट मन्त्री बन्न नपाउने प्रणालीको स्थापना । त्यसपछि पनि प्रान्तको सङ्ख्या बढी भएकोले कम भएमा विकास हुन्छ भन्ने र कम भएमा धेरै भएमा समावेसी हुन्छ भन्ने चक्कर धेरै समय चलाउन सकिन्छ । हामी जनताको काम मत दिने र चक्करवाला भाषा सुन्ने मात्र हो कि जस्तो भएको छ । केहीले विरोध गर्ने गरेकोमा रेडिमेड उत्तर दिन थालिएको थियो कि यी दलहरूका नेताले काम त राम्रो गर्न सकेनन् । तर उनीहरूको विरोध गर्नेहरूका बारेमा कुरा गर्दा जति राम्रो भए पनि जित्ने होइनन् । बरु चिनेकालाई मत दिएपछि जितेमा केही त हुन्छ भन्ने जाल वा भ्रम बाँकी रहन थाल्यो ।

अहिले बालेन साहसमेत केही युवाहरूले अर्थात दलहरूभन्दा बाहिरकाले पनि चुनाव जित्न सक्छन् र, सही सन्देश दिन र काम गर्न सक्छन् भन्ने देखाएका छन् । अझै सडकको क्षेत्रमा पसल राख्न नदिएको आरोप बालेनहरू माथि लागेको छ । यस्ता प्रचार आतङ्कहरू धेरै प्रकारका हुन सक्छन् । बालेनलाई तह लगाउन पूर्वमन्त्री एवम् काङ्ग्रेसका उदारमना नेता बस्नेतको काँधमा बन्दुक राखेर गोली चलाउन थालिएको छ । मोहनबहादुर बस्नेतले बालेनको विरुद्धमा मकैब्यापारीलाई सहयोग गरेका होइनन् र बालेनले पनि अस्पताल पुगेर गरिव बिरामीलाई आर्थिक सहयोग गर्ने बाचा गरे । उनले त्यो गरेर मोहन बस्नेतको विपक्षमा काउन्टर गरेका पनि होइनन् । बालेन र मोहन बरु दलभन्दा माथि उठेर समाजसुधारक समान चेहरा हुन् । उनीहरू एकअर्काका पूरक हुन्, प्रतिस्पर्धी र विरोधी होइनन् । मोहन बस्नेतले पहिला पनि सहयोग गरेका थिए । मोहन जस्ताले चुनाव जित्नुपर्छ, बालेनहरूले चुनाव जित्नुपर्छ, हर्क तथा राजेन्द्र लिङ्देनहरूले चुनाव जित्नुपर्छ । इमान्दार र सहयोगी हातहरूले जनताको सेवा गर्ने अवसर पाउनुपर्छ । मकै बेच्नेले, कुखुरा लिएर हिँड्नेले दुःख पाएकोमा सहयोग गर्ने हातहरू अर्को इमान्दार हातको विरुद्धमा प्रयोग हुने र प्रयोग गर्ने वातावरण तयार हुन हुँदैन ।

नेपालको गजब काहानी छ । अजब-गजब समाज हामीले विकसित गरिरहेका छौँ । हाम्रा परम आदरणीय नेताजीहरू कम्युनिज्म राम्रो हो तर नेता र कार्यकर्ताहरू खराब भएकोले बरवाद भयो भन्ने गरेका छन् । कतिपयले लोकतन्त्र नराम्रो भएर त त्यो विचार मान्ने दलका मतदाता र कार्यकर्ताहरूले हरेक पटक नराम्रो गरेर पनि पाँच पटकसम्म त्यो दलका नेतालाई छाने र उनले प्रधानमन्त्री बन्ने अवसर पाए भन्दैछन् । मलाई विदेशबाट लिएको ऋण अनुत्पादक कार्यमा लगाएको कत्ति मन परेको छैन, काठमाडौंको धरहरा, रानीपोखरी, रुक्कुमको भ्युटावर वा मकवानपुरको भ्युटावर नै किन नहोस् । ठाउँ-ठाउँ मरेका मानिसहरूको नाममा मुर्ति, ठुला गेटहरू बनाइएका छन् । के ती नभइनहुने आधारभुत आवश्यकता हुन् ? ती कार्य भन्दा गरिव बच्चाहरूको खाना, पढाइ र स्वास्थ्य वा आयआर्जनमा खर्च भएको भए राम्रो हुने थियो कि ? एक जनाले बोलेको समेत नबुझिनेलाई देशको प्रधानमन्त्री बनाउने हामीहरू भनेका थिए । अर्काले लोकतन्त्रको लागि लड्दा उनको जिब्रोमा डामिएको थियो । त्यस्तालाई प्रधानमन्त्री दिनु पर्दैन त ? भनेर अर्काको उत्तर दिए । त्यसको हो भने जन आन्दोलनमा सेन्स नै गुमाएका ललितपुरका बाबु सायद अहिले २८ वर्ष भएका छन् । उनलाई प्रधामन्त्री बनाउन मिल्ने कि नमिल्ने ? ती बाबु प्रधानमन्त्री बन्ने हो भने कमसेकम भ्रष्टाचार गर्ने थिएनन् र भ्रष्टाचार गर्नेहरूले पनि प्रधानन्त्रीलाई दोष दिन पाउने थिएनन् । मेरो देशका माथिका नेताहरू त पपेट र रिमोटबाट परिचालित हुन्छन्, कुनैको रिमोट दिल्ली, कुनैको अमेरिका, चीन आदि देशमा छन् । उनीहरूले फरक किसिमले नाच्न चाहे भने मेरो देशका नेताहरू त पपेट र रिमोटबाट परिचालित हुन्छन्, कुनैको रिमोट दिल्ली, कुनैको अमेरिका, चीन आदि देशमा छन् । उनीहरूले फरक किसिमले नाच्न चाहे भने रिमोट कन्ट्रोल गरिने व्यक्ति नै बदलिन सक्छन् । तर, नेताहरू आफ्नै होसमा नाच्न जान्दैनन् भन्नेहरू पनि धेरै छन् ।

मेरा नेताहरूले चउचेस्कु, खमेरुज, माओ, स्टालिन आदि नराम्रा थिए तर कम्युनिज्म राम्रो हो भन्ने गरेको मैले सुनेको छु । लोकतन्त्र राम्रो हो तर नेताहरू खराब भए भन्ने पनि सुनेको छु । जे भए पनि लोकतन्त्रमा कमसेकम कुनै विचारको नेताले आफ्नो विचार मात्र राम्रो हो भन्ला तर उसले त्यसै आधारमा अरुलाई भौतिक रूपमा नै निषेध गर्न सक्दैन भन्ने गुण भने अस्विकार गर्न सकिँदैन । त्यसैले हजार कमजोरी भए पनि सुधारको मूल गेट खुला छ भन्ने धेरैको आशा मरेको छैन । कम्युनिष्टहरूले विचारको निषेधलाई अन्त्य गरेको देखिएको छैन । यसै देशमा बरु कमरेड प्रचण्डले प्रधानमन्त्री हुँदा बहुमत नै नभए पनि प्रधानसेनापति बदलेर सेना कब्जा गर्ने प्रयास गर्नुभएको थियो ।

के कुनै विचार, वाद, धर्मको गलत परिणामको कारण त्यो विचार, वाद र धर्म बन्दैन ? के त्यसमा गल्तीको बिउ लुकेको छैन ? मैले लेख्ने गरेको र कुनै पुस्तकमा समेत उल्लेख गर्न लगाएको भन्न मिल्ने एउटा उदाहरण मलाई ज्यादा मन परेको छ । केही मानिसहरू रक्सीलाई साह्रै मन पराउँदा रहेछन् । एक पटक रक्सी खानेहरूले बढी नै मदिरा खाएर घरतिर लागेछन् । तीमध्ये एक जना ढलमा खसेर समाप्त भएछ । अर्को लडेर खुट्टा नै भाँचिएछ । अर्कोको हिँड्दा लट्पटिएर टाउको फुटेछ र अर्कोको ढाड नै खुस्केछ । जड्याँहाहरू अर्को दिन पुनः भेला भएर तीमध्ये मर्ने एकजनाको मृत्युमा दुख मनाएछन् । उनीहरूमध्ये त्यहाँ आएकाहरूले रक्सी खाइसकेर एउटा निष्कर्ष निकालेछन् कि रक्सी कहिल्यै खराब बस्तु होइन । किनभने त्यो खानेमध्ये धेरैलाई केही भएन । केहीको टाउको कमजोर भएकोले टाउको फुट्यो, केहीको खुट्टा कमजोर भएकोले खुट्टा भाँचियो आदि । यदि मदिराको खराबी भएको भए लड्ने मानिस सबको टाउको किन नफुटेको, किन सबैको खुट्टा नभाँचिएको, किन अरु मानिस ढलतिर नगएका ? त्यसैले रक्सी आफैंमा खराब होइन, बरु यसको सदुपयोग गर्न नसक्ने मात्र खराब हो । त्यस्तै दुध राम्रो हो भन्ने पनि भ्रम हो, किनकि दुध खानेहरू पनि मरेका छन्, उनीहरूका पनि टाउका फुटेका छन् । दुध खाएर स्वस्थ हुन्छौँ भन्नेहरूको आयु पनि रक्सी खानेको भन्दा त्यस्तो बढी देखिँदैन । किन दुःखको अनावश्यक प्रचार ? यस्तो विज्ञप्ति आउँदा करिव ठिकै त लाग्छ होला । तर वास्तवमा यो सत्य हो त ?

मानिसहरूमा भएको ब्रेनवास र बानीले गर्दा कतिपय नराम्रा कुरा पनि राम्रा लाग्न थाल्छन् । दिनहुँ यो विचार, धर्म, वाद भन्दा अरु राम्रो छैन र अरु सबै मानवता र समानताको विरुद्ध छन् भन्ने स्कुलिङले गर्दा अमुक धर्म, वाद, विचारहरूको गल्ती र दोष नै नदेख्ने रोग पनि अहिलेको समस्या बनेको छ । बहु प्रतीक्षित एमाले र माओवादीको एकता सम्पन्न भएको केही समयमा नै दुई वटा एक भएकोमा केही समयमा नै तीन वटा भएको छ । सायद नेपाली इतिहासमा नै यति ठुला दुई वटा कम्युनिष्ट पार्टीहरू एक भएको यो पहिलो अवसर गुमाइएको छ । तर देउवा र उनका ‘मनीप्लान्ट’हरूले पदको लागि जनाधार गुमे पनि आफ्नो हालिमुहाली भएसम्म मोज गर्नुपर्छ भन्ने मान्यता लिएका छन् । देउवाहरूको पदको इच्छाको अगाडि काङ्ग्रेसले पतन भइदिनु परेको छ । प्रचण्ड, माधव, झलनाथहरूले आफूले ओलीहरूको विरुद्धमा पाएको सफलता भनेको ओलीले पद लिनु भन्दा देउवाले लिनु ठिक हो र काङ्ग्रेसको पतन भनेको आफ्नो फाइदा हो भन्ने सोचेको भए त्यो गल्ती नै भएको छ ।

ओली एक्लै देशको सवबभन्दा ठुलो दल बनिरहेका छन् एमालेलाई बनाइरहेका छन् । प्रचण्डहरूले एउटा अयोग्यलाई प्रधानमन्त्री बनाएर पनि त्यसका मतदातालाई आफूतर्फ तान्न सकेनन् । मतको प्याट्रनले एमाले नै बलियो बन्दै गएको देखियो । तर, यो कहिल्यै पनि समस्याको समाधान हुन सक्दैन र होइन । अर्कोतर्फ जनताको हितमा मर्नेहरूको लक्ष्य जनताको हित गरेर हुन्छ । जनताको पैसा र विदेशबाट लिएको ऋणले स्वागतद्वार बनाएर लक्ष्य पूरा हुँदैन । यस्तै कार्यले हामीले श्रीलङ्का टाट उल्टेको देखिरहेका छौँ ।

विदेशवाट ऋण वा आन्तरिक ऋण लिएर त्यो अनुत्पादक काममा लगाउने देशको दुश्मन हो र, देशलाई टाट उल्टाउने हो । ऋण लिएर शालिक आदि बनाउने र उधारोमा रक्सी खाने उस्तै हुन् । यो सोच राख्ने जनता हुन सकेनन् । यो पनि ठुलो विडम्बना हो । के विनापूर्वाग्रह देशका इमान्दार हुँ भन्नेहरू मिलेर एक भएर जनतामा आगामी चुनावमा जान सक्दैनन् ? राजेन्द्र लिङ्देन, बालेन साह, रवि लामिछाने, देवप्रकाश त्रिपाठी, डा. उप्रेती, मेयर हर्क, ज्ञानेन्द्र शाही जस्ता इमान्दार देखिनेहरू वा देखिएकाहरू एक भएर मोर्चा बनाउने हो भने सायद देशले आउने चुनावमा नै कोल्टे फेर्न अवसर पाउने छ, तथापि त्यो स्थायी समाधान हुने छैन । देशमा रोजगारीको अवसर प्रदान गर्ने र आयात कम गर्ने तथा जलविद्युतको प्रयोग बढाउने एवम् देशको बजेटको उपयोग सकेसम्म धेरैले गर्न सक्ने वातावरण मात्र भयो भने मात्र देशको कायापलट हुन सक्छ ।