अवैध रूपले भित्र्याइएको चीनी र कपडा प्रहरीद्वारा नियन्त्रण

अवैध रूपले भित्र्याइएको चीनी र कपडा प्रहरीद्वारा नियन्त्रण


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको बर्दघाटस्थित त्रिवेणी चोकबाट १४ लाख ११ हजार १ सय ४० मुल्य बराबरको अवैध चिनी तथा कपडा बर्दघाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक वीरेन्द्र केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले दक्षिणतर्फबाट उत्तरतर्फ आउँदै गरेको ना. ६ ख २३८८ नं. को ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा भन्सार छली अवैध रुपमा ल्याउँदै गरेको ४ सय १८ बोरामा २० हजार ८ सय ९४ किलोग्राम चिनी फेला परेकोले तत्काल ट्रक सहित चिनी नियन्त्रणमा लिइएको हो । बरामद चिनीको अन्दाजी मुल्य १२ लाख ५३ हजार ६ सय ४० बराबर रहेको बताइएको छ ।

प्रहरीद्वारा बरामद गरिएको चिनी र ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । त्यस्तै सोही स्थानमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना. ७ ख २०१५ नं. को बसलाई चेकजाँच गर्ने क्रममा बिनाबिल ल्याउँदै गरेको अन्दाजी १ लाख ५७ हजार ५ सय मुल्यबराबरको जेन्स टिसर्ट, लेडिज टप्स लगायतका विभिन्न कपडा फेला पारेकोले तत्काल कपडा बरामद गरी बसलाई गन्तव्यतर्फ पठाइएको बर्दघाट प्रहरीले जानकारी दिएको छ ।

बरामद सामानलाई आवश्यक अनुसन्धानको लागि महेशपुर भन्सार कार्यालय पठाइएको सूचना अधिकारी शाहीले बताए ।

पश्चिम नवलपरासीमा चिनीतस्करी बढेयता जिल्लाको छोटी भन्सार र चोरी नाकाबाट भारतीय चिनी भित्र्याउने र विभिन्न जिल्लामा पुऱ्याउने कार्य खुल्न आएको छ । यसपूर्व हरियो केराउको तस्करी हुने गरेकामा भारतमा अहिले केराउको मूल्य नेपालमा भन्दा सस्तो भएपछि अवैध कारोबारकर्मीहरूले चिनीको गुप्त धन्दा गर्न लागेका हुन् ।

जिल्लाका विभिन्न नाकाबाट चिनी तस्करी भइरहेकोमा हालै सशस्त्र प्रहरीले ८० बोरा चिनी पनि बरामद गरेको छ । अवैधकर्मीहरूले सीमावर्ती क्षेत्रको नजिकै गोदाम राख्ने र थोरै-थोरै परिमाणमा नेपाल भित्र्याएर विभिन्न जिल्लामा पठाउने गरेको स्रोतको दाबी छ । थोरै-थोरै परिमाणमा भित्रिएको चिनीलाई एकमुष्ट गरेर फर्जी बिल भर्पाइ बनाएर बिक्री वितरण गरिँदै आएको स्रोतले दाबी गरेको छ ।

सिमापार भारतमा प्रतिकेजी नेपाली ५० रुपैयाँमा पाइने चिनी नेपाल भित्र्याएपछि ८० देखि ९० रुपैयाँसम्ममा बिक्री गर्न सकिने भएकाले यसको तस्करी बढेको हो । जिल्लास्थित भारतीय नाकाबाट अवैध तरिकाले ल्याइएको चिनी पूर्वी नवलपरासी, चितवनलगायतका जिल्लाबाट बरामद हुने गरेको छ ।

गत जेठ २५ देखि असार २३ सम्म तस्करी गरी भित्र्याइएको ५० टन चिनी बरामद गरी आवश्यक कारबाही गरिएको महेशपुर भन्सार कार्यालयले जनाएको छ । बरामद भएको चिनीको सरकारी मूल्य प्रतिकेजी ६० रुपैयाँका दरले कुल ३० लाख कायम गरिएको भन्सार कार्यालय महेशपुरले बताएको छ । बरामद भएको चिनीमध्ये ३ टन भन्सार कार्यालय महेशपुरका कर्मचारीले बरामद गरेका हुन् भने बाँकी पूर्वी नवलपरासी प्रहरीले बरामद गरेको हो ।

चिनी तस्करी बढेको जनगुनासोपछि राजस्व कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोली सुरु गरेर निगरानी बढाएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण पश्चिम नवलपरासीका डीएसपी रोशन घिमिरेले बताएका छन् ।