धोकेबाज

धोकेबाज


कथा
  • यश घिमिरे

नजिकै गाउँका एकजोडी केटा र केटी चुर्लुम्म माया-प्रेममा डुबे । (पाठकको सजिलोको लागि यहाँ केटीको नाम यामा र केटाको नाम मप्रे राखौँ न, हुन्छ ?) । अँ, म भन्दै थिएँ उनीहरूको प्रेमले हाँगा हालेर झ्याङ्गिदै केही महीनाभित्रमा एकार्काको शरीरसम्म पुग्यो । दुई-चार वर्ष भोगिसकेपछि भने मप्रेलाई बिस्तारै यामा फिक्का-फिक्का लाग्न थालि । उसमा पहिलेको जस्तो उत्सुकता, चाहत र ब्यग्रतामा कमी आउन लाग्यो । यता यामालाई भने मप्रेको झन्-झन् माया लाग्न थालेको थियो । उसले ढुक्कसँग तनमन दुवै सुम्पेको जीवनसाथीको रूपमा मानिसकेकी थिइ ।

यसैबीचमा मप्रेको घरमा विवाहको कुरो चल्यो । लमीले फोटो देखायो । धनी घरानाकी सुकुमारी कन्याको फोटो देख्नेबित्तिकै लोभियो ऊ । तर, यामाले भाँजो हाल्ने हो कि भन्ने डरले ‘हुन्छ’ भनिहाल्न सकेन । विचार गरौँला भनेर पन्छियो ।

भेटमा यामालाई घरमा विवाहको कुरो चल्दैछ भनेर सुनायो अनि मुखले ठिक्क पार्दै भन्यो- ‘प्यारी ! मैले बुबा-आमालाई प्रष्ट भनेँ, म यामासँगै बिहे गर्छु नत्र गर्दिनँ भनेर । तर के गर्नु ? आमाले, त्यो केटीलाई ल्याइस् भने झुण्डिएर मर्छु भन्नुभयो । अब हामी छुट्टिनु नै पर्ने भयो । तिमीबिनाको जीवन बाँच्नु पनि के बाँच्नु ? म त पानीबिनाको माछो जस्तो हुनेछु । मर्न पाए नि हुन्थ्यो बरु ।’

आफ्नो प्रेमीले आमाको बहाना पारेर अर्को केटी अँगाल्दै छ भनेर बुझ्न बाठी यामालाई बेर लागेन । मन विचलित हुन थाल्यो । यत्रो वर्षसम्म प्रेमको नाटक गरेर उसलाई अल्झाएर राखेको सम्झेर मनमनै एउटा दृढ निश्चय गरि- ‘मेरो हुन्न भने यसलाई अरुको पनि हुन दिन्नँ ।’

यामाले मप्रेको छातीमा मुन्टो लुकाउँदै भनी- ‘मलाई माया गर्छौ नि हो ?! तिमीबिना बाँच्नु पनि के बाँच्नु भनेर अघि भन्यौ । म पनि तिमीबिना बाँच्न सक्दिनँ । हामी यही नारायणी पुलबाट हाम्फालेर मरौँ । आऊ प्यारा, हाम्रो प्रेम अमर बनाम् ।’

यामाको प्रस्ताव सुनेर मप्रे केहीबेर घोरियो । उसलाई छुटकारा पाउने मौका यही हो भन्ने लाग्यो । मनमनै योजना बनायो- ‘पहिला यसैलाई हाम्फाल्न लगाउँछु । यो डुबेर मरिहाल्छे । टन्टै साफ् ।’

यामाको टाउको मुसार्दै भावुक र रुञ्चे अनुहार लाउँदै धुर्त मप्रेले प्रस्तावमा सहमति जनायो । दुवैजना पुलको रेलिङमा उभिए । अन्तिम बिदाइको हात हल्लाए । पहिले यामालाई हाम्फाल्न भन्यो । उ माथिबाट नदीमा कुँदी तर मप्रे त्यहीँ उभिइरह्यो ।

तल पानीमा गएर पौडी खेल्दै माथि हेर्छे त मप्रे त्यहीँ उभिइरहेको रहेछ । हातको इसाराले प्रेमीलाई हामफाल्न भनि ।

माथिबाट मप्रे बेस्सरी रिसाउँदै करायो-

‘पौडी खेल्न आउँछ भनेर पहिल्यै किन भनिनस् कुकुर्नी ? आफू मात्र बाँचेर मलाई मार्न खोजेकी रहिछेस् होइन ?’

यामा पानीबाट पौडी खेलेर नदीकिनारमा निस्किइ । पुलमा उभिइरहेको मप्रेलाई हेर्दै तलैबाट चिच्याइ- ‘धोकेवाज कुकुर ! पहिला हाम्फाल्न लगाएर मलाई पौडी खेल्न आउँथेन भने म मरेको रमिता हेर्दै बस्थिस् होइन ?! आई रियल्ली हेट यू !’

आजकाल यामाले एउटा कुकुर र मप्रेले एउटा कुकुर्नी पालेका छन् । दुवैले नाम दिएका छन्- एउटाको ‘यामा’ र अर्कोको ‘मप्रे’ !
(समाप्त)