पाकिस्तानी हिन्दु समुदायले बुधबार पूर्वराष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवती अपहरण, जबर्जस्ती धर्मपरिवर्तन र विवाह गराएको आरोपमा विरोध प्रदर्शन गरेका छन् ।
अपहरित युवती करीना नामकी हिन्दु युवती रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
युवतीलाई खलील रहमान जोनोका परिवारका सदस्यहरूले जुलाई ६ मा काजी अहमद टाउनको उन्नार मुहल्लामा अपहरण गरेका प्रदर्शनकारीहरुको जिकिर छ । उनीहरुले प्रहरीविरुद्ध नाराबाजी गर्दै युवतीको खोजीका निम्ति पूर्वराष्ट्रपतिलाई हस्तक्षेप गर्न आग्रह गरेका थिए ।
स्थानीय प्रहरीले करिनालाई अपहरण नगरेको भन्दै मीर मोहम्मद जोनो गाउँका खलील रहमान जोनोसँग भागेर कराचीको अदालतमा विवाह गरेको बताएको छ ।
प्रहरीका अनुसार सुन्दरमलले दिएको उजुरीको आधारमा खलीलका बुबा असगर जोनोलाई धारा ३६५ बी बमोजिम एफआइआर दर्ता गरेपछि पक्राउ गरिएको हो ।
एसएसपीले करीना र खलील रहमान जोनोको विवाह दर्ता प्रमाणपत्र सार्वजनिक गरी युवतीलाई सिन्ध उच्च अदालतमा पेश गरिने बताएका छन् । युवतीले आफूले चाहेको निर्णय गर्न सक्ने उनले बताएका छन् ।
हिन्दु पञ्चायतका उपाध्यक्ष लाजपत राईले एसएसपीको उक्त दाबी अस्वीकार गर्दै हिन्दु समुदायको प्रतिनिधिमण्डलले एसएसपीलाई भेटेको बताए तर उनले आफूहरूलाई सहयोग नगरेको बताएका छन् ।
यस वर्षको शुरुमा पाकिस्तानको सिन्ध प्रान्तमा एक हिन्दु केटी पूजा कुमारीको उनको घरमा एक व्यक्तिले हत्या गरेको घटना सार्वजनिक बएको थियो । पूजा कुमारीले आक्रमणकारीसँग प्रतिरोध गरेपछि सुक्करमा गोली हानिएको थियो।
उक्त घटनाको देशका विभिन्न मानवअधिकार सङ्गठनहरूले चर्को प्रतिक्रिया दिएका छन्।
पाकिस्तानमा महिला, अल्पसङ्ख्यक, बालबालिका र सञ्चारकर्मीहरू माथि विभिन्न दमन र अधिकार उल्लङ्घनका घटनाहरू बढेको पाइएको छ ।
प्रतिक्रिया