नेताका दिल्लीयात्राले जन्माएको सवाल

नेताका दिल्लीयात्राले जन्माएको सवाल


भारत-नेपाल सम्बन्धबारे मिहीन अध्ययन गर्दै आएकाहरूले भने प्रचण्डको उत्साहमा पानी फेरिन सक्ने अनुमान पहिले नै गरेका थिए, जब टाईसुटमा सजिएका प्रचण्डसँग पाइजामाको पहिरन (अनौपचारिक पोशाक)मा भारतका विदेशमन्त्रीको भेटघाट भएको थियो ।

राजनीतिक वृत्तमा रहश्ययुक्त जिज्ञासा जगाउँदै अति उत्साहित मुद्रामा छिमेकी मुलुक भारतको भ्रमणमा निस्किएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड तीन दिनपछि स्वदेश फर्किंदा विचित्र भावमा प्रकट भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै पत्रकारहरूसँग प्रचण्डले भने- ‘मोदीले मसँग किन भेट गरेनन् म स्वयम्ले पनि बुझेको छैन, मोदीसँग भेट नभए पनि मलाई कुनै टेन्सन छैन, …भारत भ्रमण अत्यन्त उत्साहवद्र्धक र सफल भएको छ ।’

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा आफू भारत भ्रमणमा जान लागेको जानकारी गराउँदा उनले भ्रमण तथा भेटघाटको सूचिमै नभए पनि ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने’ बताएका थिए । उनको सचिवालयका कर्मचारीले पनि ‘अध्यक्ष प्रचण्डले मोदीसँग भेटवार्ता गर्ने’ विषयलाई विशेष प्राथमिकतासाथ प्रसार गराएबाट ‘प्रचण्ड-मोदी भेट’को सम्भावनालाई कतैबाट पनि इन्कार गरिएन । औपचारिक कार्यसूचिमा नभए पनि भेटवार्ताको आन्तरिक तयारी गरिएको हुन सक्नेमा सम्बन्धित सबै विश्वस्त थिए । तर, अन्ततः प्रधानमन्त्री मोदीले माओवादी सुप्रिमो प्रचण्डसँग भेटघाट गरेनन् । राष्ट्रपति निर्वाचनलगायतको कार्यब्यस्तता र प्रधानमन्त्रीको पूर्वनिर्धारित विदेशयात्राको कार्यक्रमका कारण भेटघाट हुन नसकेको जवाफ भारतीय कुटनीतिक पक्षबाट अन्तिम प्रहरमा दिइयो ।

भारत-नेपाल सम्बन्धबारे मिहीन अध्ययन गर्दै आएकाहरूले भने प्रचण्डको उत्साहमा पानी फेरिन सक्ने अनुमान पहिले नै गरेका थिए, जब टाईसुटमा सजिएका प्रचण्डसँग पाइजामाको पहिरन (अनौपचारिक पोशाक)मा भारतका विदेशमन्त्रीको भेटघाट भएको थियो । कुटनीतिक भेटवार्तामा व्यक्तिका बोलिचाली, लवाइखवाइ एवम् शारीरिक भाव-भङ्गिमाले अत्यन्त ठूलो महत्व राख्छ भन्ने मान्यताअनुसार विज्ञजनले अर्थ लगाइसकेका थिए कि प्रचण्डले सोचेजस्तो हुन गइरहेको छैन, विषयबस्तु बेग्लै छ… !

यतिबेला प्रचण्डले भारतको यात्रा नै किन गर्नुपरेको थियो ? यो प्रश्न भ्रमणअघि र पछि पनि उत्तिकै चासोका साथ उठे/उठाइएको छ । प्रचण्डको सचिवालय र उनका अति निकटवर्ती माओवादी नेताहरूले भाजपा अध्यक्षका तर्फबाट डेढ महिनाअघि नै आमन्त्रण प्राप्त भएको भन्दै ढाकछोप गर्न खोजे पनि दाबी गरिएजस्तो यो भ्रमण पूर्वनिर्धारित थिएन भन्ने तर्क सम्बद्ध विज्ञजनहरूले गरेका छन् । उच्च तहका चिनिया नेताको नेपाल भ्रमण र उनको स्वदेशफिर्तिलगत्तै प्रचण्डलाई नयाँदिल्ली डाकिएको दाबी उनीहरूको छ । नेपालका वाम दलहरूबीच एकता वा गठबन्धनको चर्चा चलिरहेको परिवेशबीच भएको चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखको नेपाल यात्रा तथा सो क्रममा विभिन्न वाम नेताहरूसँग गरिएको कुराकानीबारे जानकारी लिने उद्देश्यले प्रचण्डलाई भारत आमन्त्रण गरिएको थियो भन्ने मत माओवादी पार्टीभित्रैबाट पनि सुनिएबाट प्रचण्डको यसपटकको भारत भ्रमण पूर्वनिर्धारित र स्वाभाविक थिएन भन्न सकिन्छ । प्रचण्डजस्ता ‘हलुका’ नेताबाट भारतका ‘पोख्त’ नेताहरूले चाहिँदो ‘जानकारी’ प्राप्त गरिसकेपछि प्रधानमन्त्री मोदीसँग भेटवार्ता गराइरहनुपर्ने आवश्यकता सम्भवतः महसूस पनि गरेनन् ! र, प्रचण्ड जस्ता ‘अविश्वसनीय’ पात्रसँग भारतले मित्रवत् वा ज्यादा गम्भीर व्यवहार प्रकट गरिरहनुको औचित्य देखेन पनि भन्न सकिएला ।

प्रचण्डको बेमौसमको भारतयात्रालाई अर्को पाटोबाट पनि हेर्न सकिन्छ । केही दिनअघिदेखि उपचारको लागि भन्दै भारतमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणासँग प्रचण्डले नयाँदिल्लीमा ‘रहश्यपूर्ण’ भेटवार्ता गरेका छन् । सर्सर्ती हेर्दा आरजु-प्रचण्ड भेटघाटलाई सामान्य औपचारिकता मान्न सकिन्छ । ‘आरजुसँग कुराकानी गर्नुपरे नेपालमै गर्न सकिन्छ नि’ भन्ने तर्क पनि सुनिएको छ, जो अस्वाभाविक पनि होइन । तर, आरजु राणा ‘उपचारकै लागि’ दिल्ली पुगेकी होइनन् र प्रचण्डले उनलाई त्यहाँ भेट गरेको पनि सामान्य कारणले होइन भनी कुटनीतिक एवम् बौद्धिक वर्गको उच्च वृत्तमा चलिरहेको चर्चालाई नजरअन्दाज गर्न सकिँदैन । उता ‘भारतीय साक्षी’सहितको प्रचण्ड-आरजु वार्तालाप भएको दुई दिनपछि नै यता नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ‘आगामी निर्वाचन पनि साविककै गठबन्धनलाई अझ कसिलो तुल्याउँदै लड्ने’ निर्णय गरेको छ । वाम एकता वा गठबन्धनको बहस सघन हुँदै गएको परिवेशबीच आकस्मिक तवरले नयाँदिल्लीमा आरजु र प्रचण्डबीच भेटवार्ता भएको छ र, वर्तमान सत्ता-गठबन्धन भत्किन नदिने बरु थप कसिलो बनाएर लैजान चाहने कुनै ‘फ्याक्टर’ले यस भेटवार्तामा अहम् भूमिका निर्वाह गरेको अनुमान गरिएको छ । आन्तरिक रूपबाट भन्दा बाह्य शक्तिको चाहनाबाट परिचालित रहँदै आएको भनी पछिल्लो चरणमा निकै आलोचित नेपालका राजनीतिक दल तथा दलीय शीर्षनेताहरूले मुलुक यस तहमा अधोगति लाग्दा पनि चेत नराखी बाह्य बहकाउमा बग्न नछोड्नु घोर विडम्बनाको विषय हो ।