राष्ट्रपति पदका चार बलिया दाबेदार !

राष्ट्रपति पदका चार बलिया दाबेदार !


सत्ता गठबन्धनले निरन्तरता पाएमा प्रचण्ड र आरजु राणा आलोपालो प्रधानमन्त्री बन्ने निश्चित मानिन्छ, त्यस्तो अवस्थामा प्रचण्ड प्रधानमन्त्री र शेरबहादुर देउवा राष्ट्रपति बने भने आश्चर्य हुने छैन ।

आगामी संसदीय निर्वाचन परिणामले कुन राजनीतिक दललाई कस्तो हैसियतमा पुऱ्याइदिन्छ भन्ने यकीन नभए पनि केही नेताहरू अबको राष्ट्रपति बन्ने सुनिश्चितताको खोजिमा जुटेका छन् । यसअघि मधेशी र महिला राष्ट्रपति बनेका हुनाले अबको चुनावपछि जनजातिको नाममा आफ्नै पालो आउने ठानेर सुवास नेम्वाङले मुख मिठ्याइरहेका छन् । तर प्रमुख राजनीतिक दलका वरिष्ठ नेताहरूले नै राष्ट्रपति ताकिरहेको हुँदा अबको राष्ट्रपति क्षेत्री-ब्राह्मण समुदायबाट बन्ने सम्भावना देखिएको छ । काङ्ग्रेस र एमाले कित्ताका केही जेष्ठ नेताहरूको व्यवस्थापन अपरिहार्य हुँदै गएकोले पनि आगामी राष्ट्रपति जनजाति समुदायबाट बन्ने सम्भावना न्यून भएको हो ।

नेपाली काङ्ग्रेसमा केही अघिसम्म कुलबहादुर गुरुङलाई सम्भावित राष्ट्रपतिका रूपमा हेरिन्थ्यो । जीवनमा एक पटक प्रधानमन्त्री बन्ने सपना देख्दादेख्दै राजनीतिबाट अवकाश लिने स्थितिमा पुग्नुभएका रामचन्द्र पौडेलको व्यवस्थापन आवश्यक ठानिएकोले उहाँलाई राष्ट्रपति दिएर थन्क्याउने सोच काङ्ग्रेसको कार्यकारी भूमिकाका नेताहरूले बनाएका हुन् । कारणवश शेरबहादुर देउवा आफैंले राष्ट्रपतिको कार्यभार लिनुपर्ने स्थिति उत्पन्न भएन र, काङ्ग्रेसको भागमा राष्ट्रपति पद आइलाग्यो भने रामचन्द्र पौडेललाई उक्त अवसर मिल्न सक्ने प्रवल सम्भावना छ ।

राष्ट्रपति पदमा झलनाथ खनाल र माधव नेपालको पनि दाबी रहने स्थिति छ । खनालले यसअघि नै राष्ट्रपति बन्ने इच्छा दर्शाउनुभएको थियो र, केपी ओलीसँग दूरी बढ्नुका अनेक मध्ये एउटा कारण राष्ट्रपति बन्न नपाउनु पनि थियो । वामपन्थी कम्युनिष्ट कित्ताभित्र अहिले पनि झलनाथ खनाल राष्ट्रपति पदका सबैभन्दा बलिया दावेदार हुन् । त्यस्तै, समाजवादी नेता माधवकुमार नेपाल पनि एक पटक राष्ट्रपति बनेर राजनीतिबाट विश्राम लिने ठाउँमा आइपुग्नुभएको छ । काङ्ग्रेस, एमाले र माओवादीका मूल नेताहरू देशको कार्यकारी प्रमुख बन्ने दौडमा सामेल भएकोले पनि माधव नेपाल राष्ट्रपति पाउँदा खुशी हुनुपर्ने स्थितिमा पुग्नुभएको हो । यद्यपि माधव नेपाल एमालेमा फर्किएको स्थितिमा उहाँलाई पुनः प्रधानमन्त्री बन्ने अवसर मिल्दै नमिल्ने भन्ने होइन । एमालेमा नफर्किएको अवस्थामा भने राष्ट्रपति पद प्राप्तिलाई नै ठूलो अवसर मानेर चित्त बुझाउनुपर्ने अवस्थामा उहाँ हुनुहुन्छ । एमालेसँग जोडिएको स्थितिमा माधव नेपाललाई राष्ट्रपति पद सजिलै मिल्न सक्ने स्थिति छ ।

चिट्ठा परेको शैलीमा प्रधानमन्त्री पद प्राप्त गर्दै आउनुभएका शेरबहादुर देउवा नै अबको राष्ट्रपति बन्ने सम्भावना प्रबल भएर गरिएको छ । आगामी संसदीय निर्वाचनपश्चात् काङ्ग्रेस र माओवादी कार्यकाल बाँडेर प्रधानमन्त्री बन्न सहमत भए भने त्यस्तो अवस्थामा पहिलो प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री आरजु राणा बन्ने निश्चितप्रायः छ । त्यसो भएमा शेरबहादुर देउवा स्वयम् राष्ट्रपति बन्न अग्रसर हुनुहुनेछ ।

देउवा आफैं राष्ट्रपति बन्न इच्छुक भएमा त्यसलाई रोक्न सक्ने तागत रामचन्द्र पौडेलमा देखिँदैन । काङ्ग्रेस केन्द्रीय समितिमा करिव बयासी प्रतिशत मानिसको समर्थन प्राप्त देउवालाई पन्छाएर अर्को कुनै निर्णय गराउन सक्ने हैसियतमा रामचन्द्र पौडेल र अर्का कुनै नेता देखिएका छैनन् । देउवाले चाहना नराखेको अवस्थामा मात्र पौडेललाई अवसर मिल्ने हो । सत्ता गठबन्धनले निरन्तरता पाएमा प्रचण्ड र आरजु राणा आलोपालो प्रधानमन्त्री बन्ने निश्चित मानिन्छ, त्यस्तो अवस्थामा प्रचण्ड प्रधानमन्त्री र शेरबहादुर देउवा राष्ट्रपति बने भने आश्चर्य हुने छैन ।

उल्लिखितबाहेकका अन्य व्यक्ति राष्ट्रपतिको दौडमा देखिएका छैनन् । कदाचित विशिष्ट परिस्थिति सिर्जना भएमा भने कुनै नौलो अनुहारलाई राष्ट्रपति बन्ने अवसर अप्रत्यासित रूपमा मिल्न सक्ने सम्भावना छ ।