राष्ट्रपति ताक्ने चार नेताको चुनाव क्षेत्र नै अनिश्चित

राष्ट्रपति ताक्ने चार नेताको चुनाव क्षेत्र नै अनिश्चित


उच्च तहका भनिने पाँच नेताहरूको निर्वाचन क्षेत्र अनिश्चित भएको छ । चुनावैपिच्छे निर्वाचन क्षेत्र बदल्दै हिँड्ने प्रचण्ड चितवनबाटै चुनाव लड्ने निश्चित भएको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा, समाजवादी पार्टीका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल, काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी बदल्ने मामिलामा सबैभन्दा अगाडी रहेका डा. बाबुराम भट्टराई कुन क्षेत्रबाट उम्मेदवार बन्ने भन्ने अनिश्चित छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बनेर चुनाव जित्नसक्ने अवस्थामा अहिले हुनुहुन्न । काङ्ग्रेसका लोकप्रिय युवा नेता कर्णबहादुर मल्ल आफै देउवाविरुद्ध उम्मेदवारी दिने तयारीमा रहनुभएको र, पाँच वर्षअघि सार्वजनिक स्थलमा (मिडियामा) देउवाको गाली खाएर आम मानिसको सहानुभूति प्राप्त गर्न सफल एक युवाले पनि डडेलधुराबाटै उम्मेदवारी दिने घोषणा गरेपछि शेरबहादुर देउवाका निम्ति डडेलधुरा असुरक्षित बन्न पुगेको हो । उहाँ अब समानुपातिक तर्फको उम्मेदवार बन्ने या निर्वाचन क्षेत्र बदलेर अन्तिम एकपटक निर्वाचित सांसद बन्न प्रयास गर्ने भन्ने दुई विकल्पमध्ये एक रोज्न बाध्य हुनुपर्ने अवस्था छ ।

डडेलधुराबाटै चुनाव लडेर पराजय व्यहोर्ने, प्रहरी प्रशासनको उच्चतम दुरुपयोग गरेर डडेलधुराबाट सांसदमा विजयी बनेको घोषणा गराउने या राजनीतिबाट सन्यास लिने विकल्प पनि देउवासङ्ग नभएको होइन । तर उहाँका अघिल्तिर सुरक्षित विकल्प दुई मात्र देखिएका छन्, निर्वाचन क्षेत्र बदल्ने या समानुपातिकमा बस्ने ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि देउवाझैँ अप्ठ्यारोमा हुनुहुन्छ । माओवादी र समाजवादी पार्टीको सहयोग नमिलेको अवस्थामा रामचन्द्र पौडेल तनहुँबाट पुन: पराजित हुन सक्ने अवस्था छ । त्यसैले पौडेल पनि निर्वाचन क्षेत्र बदल्नुपर्ने या समानुपातिकमा बस्नुपर्ने अवस्थामा हुनुहुन्छ । निर्वाचन क्षेत्र बदलेर चितवनको दुई नं. क्षेत्रबाट चुनाव लड्ने पौडेललाई उहाँका हितैषीहरूले सुझाव दिएका छन् । गत संसदीय निर्वाचनमा सर्लाही र इलामबाट चुनाव लड्नुभएका झलनाथ खनालको स्थिति यतिबेला कारुणीक बन्न पुगेको छ । आगामी निर्वाचनमा इलामबाट विजयी बन्ने स्थिति नभएकोले खनाल पनि समानुपातिकमा बस्न या निर्वाचन क्षेत्र बदल्न बाध्य हुनुपर्ने अवस्थामा हुनुहुन्छ । काङ्ग्रेस र माओवादीको बलियो साथ नरहेको अवस्थामा कलम चिन्ह लिएर उहाँ कहीँबाट पनि निर्वाचन जित्नसक्ने हैसियतमा देखिनुहुन्न ।

काङ्ग्रेसको मत लिएर गत संसदीय निर्वाचनमा गोर्खाबाट विजयी बाबुराम भट्टराईलाई आगामी निर्वाचनमा काङ्ग्रेसको समर्थन मिल्न निकै कठिन छ । जसपाबाट हटाइएपछि बाबुराम नयाँ दल दर्ता गर्ने कसरत गर्दै हुनुहुन्छ । नेकपा एमालेले कुनै सुरक्षित क्षेत्रबाट बाबुरामलाई विजयी गराउन चाहेन भने उहाँलाई आउँदो निर्वाचनपछि प्रतिनिधिसभा सदस्यका रुपमा पाउन मुस्किल छ ।

कहिले काठमाडौं र कहिले रौतहटलाई निर्वाचन क्षेत्र बनाउँदै आउनुभएका माधवकुमार नेपालका निम्ति काठमाडौं र रौतहट दुवै निर्वाचन क्षेत्र प्रतिकुल देखिएका छन् । कलम चिन्ह लिएर एक्लै चुनावी मैदानमा जाँदा उहाँ विजयी बन्न सक्नुहुने सम्भावना न्यून मात्र देखिन्छ । माओवादी, जसपा र काङ्ग्रेसका तर्फबाट इमानदारीपूर्ण सहयोग भएको स्थितिमा मात्र माधव नेपाल पुन: प्रतिनिधिसभामा उपस्थिति जनाउन समर्थ हुनुहुनेछ । उहाँ कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने यकीन छैन र, समानुपातिक उम्मेदवार बन्ने या प्रत्यक्ष भन्ने बारेमा पनि अहिलेसम्म निश्चित भइसकेको छैन ।

यसरी उल्लिखित पाँच नेताहरू निर्वाचन र संसदीय क्षेत्रका दृष्टिले सकसमा परेका छन् । पाँचमध्ये चार नेताहरू राष्ट्रपति पदका सम्भावित उम्मेदवार पनि हुन् ।