यसरी गर्ने कि उपत्यकाको जर्जर यातायात अवस्थाको निराकरण !

यसरी गर्ने कि उपत्यकाको जर्जर यातायात अवस्थाको निराकरण !


  • शेखर ढुङ्गेल

आज काठमाडौं उपत्यकाको सवारी ब्यवस्था र अवस्था तुलनात्मक रूपमा विश्वकै लजास्पद र जर्जर हुन पुगेको छ । सडक सुरक्षा (SECURITY AND SAFETY) को सुन्यता मात्र होइन हाम्रो सवारी साधन चलाउने अनुशासन पनि लगभग सुन्य छ । सवारी साधन चलाउँदा पालना गर्नुपर्ने नियमको जानकारी हुँदाहुँदै पनि नियम मिच्ने हाम्रो दुःस्साहसी मानसिकताले धेरै अकल्पनीय र अस्वाभाविक दुर्घटना निम्त्याइरहेको छ । सवारीको अवस्था र ट्राफिक प्रहरीको कठिनाइले गर्दा संसारमै नभएको वा नियमविपरीतको मार्गमा सवारीसाधन चलेको देख्दा अचम्म भन्दा पनि दुर्घटनाको जोखिम डरलाग्दो गरी बढेको महसूस गर्न सकिन्छ । सवारी साधन हाँक्ने मात्र होइन कहिँ पनि नियममा बस्न अनिच्छुक हाम्रो समाजको मानसिकताको नकारात्मक परिणाम सडकमा छताछुल्ल देखिन्छ । यस्तो अवस्थामा सडक यातायात ब्यवस्थापनको लागि गठन भएको ट्राफिक प्रहरी निरिह भएर बसेको चोक-चोकमा हरदम देख्न सकिन्छ । आफ्नो स्वास्थ्यको प्रतिकुल अवस्थाको सडक यातायात ब्यवस्थापन गर्न सहज बनाइदिने सवारी चालकको खडेरी परेको छ, त्यसैले एक्लो ट्राफिक प्रहरीले अहिलेको अवस्थाको उपचार गर्न सक्दैन ।

विश्वको जुनसुकै देशको राजधानीलगायत प्रमुख शहरहरूमा सुस्त यातायात नयाँ कुरो होइन । न्युयोर्क, टोक्यो, बेजिङ, दिल्ली, लन्डन जहाँ पनि हुन्छ, तर त्यहाँका सवारीचालकमा धैर्यता र अनुशासन हुन्छ । सडक यातायात ब्यवस्थित गर्न हदैसम्मको आधुनिक प्रविधि अपनाइको हुन्छ र बिना बर्दीधारी ट्राफिक प्रहरी सहज यातायात सञ्चालन हुन्छ तर हाम्रो समाज अनुशासनहीन परपीडक र नियम मिच्न सक्दा गर्व गर्ने जस्तो नकारात्मक मानसिकताले ग्रस्त हुँदा नहुनुपर्ने समस्या पनि ब्यहोर्नुपरेको छ ।

हुन त यो प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक एवम् दर्जनौँ विश्व सम्पदाहरूको खानि रहेको उपत्यका साइकलमैत्री हुनुपर्ने थियो । हाम्रो गलत वा गैरजिम्मेवार वा दूरदृष्टिविहीन योजनाकार र नेतृत्वको कारण उपत्यकाको मौलिक अस्तित्व तथा सुन्दरता ध्वस्त भइसकेको छ, तर पनि अझै केही सम्भावना देखिन्छ । उपत्यकाको सवारीलाई ब्यवस्थित गर्न तत्कालको लागि केही यस्ता उपाय अपनाउन सकिन्छ-

१. तत्कालको लागि कम्तिमा दुई किलोमिटरको दूरीमा मात्र सबै प्रकारको सार्वजनिक सवारी साधन रोक्न र यात्री बोक्ने नियम लागु गर्ने । उदाहरणको लागि कोटेश्वर चोकपछि मीनभवन, बबरमहल र रत्नपार्कमा मात्र रोक्न पाउने, अर्कोतर्फ चावेल, गौशाला, एयरपोर्ट, मीनभवन अर्कोतर्फ बाँसबारी, महाराजगंज अस्पताल, लाजिम्पाट, रत्नपार्क, अर्कोतर्फ कलंक, कालिमाटीचोक, त्रिपुरेश्वर, रत्नपार्क, जावलाखेल, पुल्चोक, थापाथली, रत्नपार्क । यसरी कम स्टप हुँदा सवारी द्रूत हुन्छ अनि रोक्ने र यात्री बोक्ने गर्दा अन्य सवारी साधनलाई असुविधा नहुने गरि विशेष स्टप स्पट बनाउनु पर्छ ।

२. कम्तिमा दुई वर्षको समय दिएर सार्वजनिक सवारी साधन उपत्यकाको लागि बस मात्र राख्ने र अन्यलाई विस्थापित गर्ने । बस कम्पनी पनि सीमित गर्ने, कम्तिमा ५० वटा बस भएको कम्पनीलाई मात्र संचालन अनुमति दिने (एक साहु एक बस जस्तो अवस्थाकै कारण जहाँ पनि रोक्ने र एकले अर्कोलाई उछिन्ने गर्दा सवारी आवागमनमा बाधा पुगेको छ), सार्वजनिक यातायात सेवा राज्यको दायित्वअन्तर्गत पर्छ र यो नाफामुलक पनि होइन, तसर्थ साझा र तीनवटै नगरपालिकाको सहकार्यमा सार्वजनिक यातायात (बस) सञ्चालन गर्ने, सम्भव भएसम्म उपत्यकामा (छोटो रुटमा) निजी बस सञ्चालनलाई निरुत्साहित वा निषेध नै गर्ने ।

३. मोटरसाइकल यातायतको साधन नभइ सोखको साधनको रूपमा सोच परिवर्तन गराउन वा निरुत्साहित गर्न राजस्व ४००–५०० प्रतिशत बढाउने र सार्वजनिक बसको स्तर बढोत्तरी गरि सबै वर्गको लागि सहज र सुविधायुक्त बनाउने र बस प्रयोग गर्न प्रेरित गर्ने ता कि मोटरसाइकल मात्र होइन निजी कार चढ्नेदेखि सरकारी गाडीमा आकर्षित हुनेलाई पनि प्रेरित गरोस् ।

४. बसले यात्री ओराल्ने/चढाउने खास स्पोट बनाउने जसले गर्दा अन्य सवारी साधनलाई असुविधा नहोस् ।

५. सडकको श्रेणी विभाजन गरी खास-खास सवारी चाप बढी हुने वा द्रूत गतिमा चल्नुपर्ने सडकमा रिक्सा ठेलागढा प्रवेश निषेध गर्ने सबै प्रकारका सडकपेटी ब्यवसाय दण्डनीय बनाउने ।

६. चालकहरू खासगरी माइक्रोबस, ट्याक्सी, हायस, ट्रकचालकहरूलाई मानवीय मूल्य र मान्यता अनि त्यसको संवेदनशीलता बुझ्ने गरी २५ प्रतिशत राख्ने र उनीहरूलाई सडकयात्री वा अर्को सवारीसाधन चालकप्रति कस्तो सहयोगी हुनुपर्छ कस्तो सावधानी अपनाउनुपर्छ र सहयोगी हुनुपर्छ भन्नेतर्फ प्रेरित हुने गरी शिक्षा दिनु अनिवार्य देखिएको छ ।

७. विश्वब्यापी मान्यताअनुरुप लापर्वाहीबाट दुर्घटना भइ मानिसको मृत्यु भएमा ‘हत्याको महल’अनुरुप दण्डनीय हुनुपर्ने कानुन बनाउनु अनिवार्य छ । हाम्रो सडकमा जेब्राक्रसमा समेत हर्न बजाएर गति द्रूत बनाइ पैदलयात्रीलाई आतंकित पार्ने मात्र कैयौँ दुखद घटना भएको हुँदा यस्तो लापरवाहीलाई सवारी दुर्घटनाको कानुन मात्र आकर्षित गर्नु बुद्धिमानी हुँदैन ।

सडकको प्रयोग साझा र सहयोगात्मक भावनाको हुनुपर्छ । पैदलयात्री, साइकलयात्रीको सुरक्षाको लागि राज्य गम्भीर हुनुपर्छ । गाडीभन्दा पैदल र साइकलयात्रीलाई बढी हतार हुन्छ गन्तव्यमा पुग्न भन्ने सोच प्रत्येक गाडीचालकमा हुनुपर्छ र, त्यसको लागि सवारीचालक अनुमतिपत्र दिनुअघि शिक्षा दिनु अनिवार्य भएको छ । र, ट्राफिकले सडक नियम मिच्नेलाई मापसेको झैँ कुनै शर्त र बहानामा छुट दिनु हुँदैन, दण्डित गर्नुपर्छ ।