पैसाको तराजुमा जोखिएको न्याय

पैसाको तराजुमा जोखिएको न्याय


  • इ. महेन्द्र पराजुली

देशको संविधान, कानून र न्यायका प्रतिपादित मान्य सिद्धान्तका आधारमा स्वच्छ, सक्षम र निष्पक्ष न्याय सम्पादन गर्नुपर्ने जिम्मेवारी बोकेका न्यायमूर्तिहरू नै आफूले गरेका फैसलाका कारण आलोचित र विवादित बन्दै आएका छन् पछिल्लो समयमा । नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रका रूपमा रहेको न्यायपालिकामा केही समययता घटेका घटना अनि प्रकरणले न्यायालयप्रतिको नागरिकको आस्था र विश्वास घट्न सक्ने परिस्थिति सिर्जना भएको छ भने न्यायालयको साख गिर्दो छ । प्रधान्यायाधीशमार्फत् दबाब दिन लगाउने, न्यायाधीशलाई घूस खुवाएर जिल्ला अदालतबाट आदेश जारी गराउने र त्यसलाई उच्च तथा सर्वोच्च अदालतबाट समेत सदर गराउने जस्ता बोलकबोल र जिम्मेवारी लिनुले तह-तहका अदालतमा न्यायाधीशको चरित्रमाथि नै दाग लागेको छ ।

जिल्ला अदालतका एकपछि अर्को न्यायाधीश छानबिनको दायरामा तानिएका छन् । काठमाडौं जिल्ला अदालतका अम्बिकाप्रसाद निरौला, सूर्यकुमार अधिकारी, त्यस्तै गरेर बद्रीप्रसाद ओली र राजकुमार कोइराला अनि अछामका जिल्ला न्यायाधीश नवीनकुमार जोशी विभिन्न प्रकरणमा मुछिएका छन् । अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्त सोलेकुमार भनिने दुुर्गाबहादुर बुढाथोकीलाई अर्कै व्यक्ति भनेर सफाइ दिएको, मिटरब्याजी मुद्दामा प्रतिवादीलाई सफाइ दिने आदेश गरेको र त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको साङ्घातिक आक्रमण तथा ज्यान मार्ने उद्योगका प्रतिवादीलाई धरौटीमा रिहा गरेको आरोपमा निरौला, फुटपाथमा हिँडिरहेकी महिला लीला देवकोटालाई सवारी चालक अनुमतिपत्रसमेत नभएका पृथ्वी मल्लले मादकपदार्थ सेवन गरेर चलाएको सवारीको ठक्करबाट मृत्यु भएको सवारी ज्यान मुद्दाका कसुरवाला मल्ललाई कारमा यान्त्रिक त्रुटीका कारण सवारी दूर्घटना हुन गएको भन्दै ६ महिनाको मात्र कैद सजाय फैसला गरेर उन्मुक्ति दिएको आरोपमा अधिकारी र बलात्कारपीडित १९ वर्षीय युवतीलाई निस्कृय भइसकेको अध्यादेशमा टेकेर सजाय सुनाएको आरोपमा जोशी, महाराजगञ्जस्थित बाँसबारी माध्यमिक विद्यालयसँगैको ६ रोपनी सरकारी जग्गा हरिशरणसिंह ठकुरी र जयन्ती शाह व्यक्तिको नाममा हुने फैसला गरेको आरोपमा ओली र ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा चलाइएका इच्छाराज तामाङलाई तारेखमा छाड्ने वा कारागार चलान गर्ने विषयमा अधिवक्ता रुद्रप्रसाद पोखरेलसँग भएको सम्वादलाई लिएर कोइरालासमेतलाई न्यायपरिषद्ले छानबिनका लागि कारवाहीको दायरामा ल्याएको छ ।

कानून व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएसनले न्यायपालिका सुधारका मुद्दा उठाइरहेको पृष्ठभूमिमा बारकै पूर्वनेतृत्व तहमा रहेका अधिवक्ताले अदालतमा ‘बिचौलिया’को भूमिका खेलेको एउटा टेलिफोन सम्वादको श्रब्यसामग्री (अडियो) सार्वजनिक भयो असार ८ मा । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएसनका पूर्वकोषाध्यक्ष अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको टेलिफोन सम्वाद न्यूज २४ टिभीले असार ७ गते बाहिर ल्याएको हो । न्याय क्षेत्र नै तरङ्गित भएको यस प्रकरणले न्यायालयमा मौलाएको भ्रष्टाचारको उजागर गरेको छ ।

सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमा करिव दुई हजार सर्वसाधारणले बचत गरेको आठ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७८ असोज १८ मा पक्राउ गरी ठगी र सङ्गठित अपराधको अभियोगमा मुद्दा चलाइएका इच्छाराज तामाङलाई धरौटीमा छोड्न अधिवक्ता पोखरेल र न्यायाधीश कोइरालाबीच ‘डील’ भएको प्रसङ्ग सार्वजनिक भएको हो । स्मरण होस्, पाटन उच्च अदालत बार एशोसिएसनका अध्यक्ष र नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रहिसकेका अधिवक्ता पोखरेल नेकपा (एमाले) को कानून विभागका सदस्य पनि हुन् । तामाङ दोस्रो संविधान सभामा एमालेको तर्फबाट सांसद थिए । थुनछेकको बहसको क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र एक नम्बर न्यायाधीशबाट सङ्केत नआइ सहमतिको ‘चेन’ टुटेपछि न्यायाधीश कोइरालाको एकल इजलासले राजनीतिक संरक्षणकै आडमा लामो समय कारवाहीबाट जोगिँदै आएका तामाङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो २०७८ पुष १४ गते ।

अधिवक्ता पोखरेल र न्यायाधीश कोइरालाबीच घूस ‘डील’ भएको यो त्यो बेला थियो जुन बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि विभिन्न आरोप लगाएर नेपाल बार एशोसिएशन जबराको राजीनामा माग गर्दै आन्दोलनरत थियो । पोखरेल खुलेरै बारको आन्दोलनको विरोध र जबराको पक्षमा लागेका थिए । यो अडियो प्रकरणले जबरा थप विवादित बनेका छन् । अडियोमा अधिवक्ता पोखरेलले प्रधानन्यायाधीश जबरामार्फत् जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश राजकुमार खतिवडालाई भन्न लगाउने आश्वासन न्यायाधीश कोइरालालाई दिएका छन् भने कोइरालाले पनि जबराको स्वीकृतिको सुनिश्चितता खोजेका छन् ।

न्यायपालिकाभित्रको विसङ्गति र विकृतिको सम्बन्धमा अध्ययन गरी सुझाव पेश गर्न सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित कार्यदलले गतवर्ष तयार गरेको प्रतिवेदनमा कानून व्यवसायी नै अदालतमा मुख्य बिचौलिया रहेको इङ्गित गरेको थियो । ‘हाइप्रोफाइल’ मुद्दामा कानून व्यवसायी र न्यायाधीशबीच दुई करोड घूस ‘डील’को अडियो सार्वजनिक हुनुले प्रतिवेदनले गरेको फाइण्डिङ्गको पुष्टि भएको छ । ललितपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश गोपाल गुरागाइँसँग सम्बन्धित २०५८ को चर्चित घूस काण्डदेखि आजसम्म आइपुग्दा यो दुुई दशकमाम न्यायालयमा धेरै विवादित काण्ड घटे । रविन्सन रिहाइ प्रकरण, परमानन्द झा प्रकरण, एनसेल कर छली प्रकरण, प्रेरणा शाह दाइजो प्रकरण र रञ्जन कोइराला प्रकरणजस्ता प्रकरण केही उदाहरण हुन् ।

हेरौँ- असार २०७९ मा एक राष्ट्रिय दैनिकले प्रकाशित गरेको न्यायाधीश-वकिल घूस सम्वाद :

अधिवक्ता पोखरेल– प्रधानन्यायाधीशबाट १ नम्बर न्यायाधीश र तपाईं दुइटैलाई म खबर गर्न लगाइदिन्छु ।

न्यायाधीश कोइराला– प्रधानन्यायाधीशले भन्छन् ?

पोखरेल– हजुरले गर्दै नगर्ने भए त म बेकारमा किन बचन खेर फाल्न जाने ?

न्यायाधीश कोइराला केही भन्न खोज्छन् तर पोखरेल रोक्दै भन्छन्– हत्तेरीका तपाईं डराउनु पर्दैन । किन डराएको ? यस्तो मौका कहिले आउँछ ? अरू मान्छे कत्रो गरेर बस्या छन्, तपाईं भने ?

कोइराला– त्यो हो । तर, के भनेदेखि त्यो अब …

पोखरेल– तपाईंले छोड्नुभएन (धरौटीमा) भने तामाङको साम्राज्य पनि सकिन्छ । डिपोजिटकर्ता पनि सकिन्छन् । यो मुद्दाको अभियोगपत्र हेरेर कुनचाहिँ माइकालालले पैसा खाएर यति गऱ्यो भन्ने खालको छ ? अभियोगपत्र नै त्यस्तो बनाएको छ । सहकारी ऐनबमोजिमको कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अलि अप्ठ्यारो हुन्थ्यो । किनकि त्यहाँ त ऐनका सबै कुराहरू थिए । तर, ठगी त केही गरी ठहरिँदैन । नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?

कोइराला– त्यो कुरामा म कन्भिन्स छु तर पीडितहरू रोएका छन् ।

पोखरेल कुरा काट्दै भन्छन्– त्योमध्येका केही मान्छे मेरो घरमा आइसके । अफिसमा पनि आइसके ।

न्यायाधीश कोइराला जाहेरवालाको वकिल को हो भनेर सोध्छन् । जवाफमा पोखरेलले रमेश बडाल भएको बताउँछन् ।

कोइराला– त्यसले गर्दा (घूस खाएर फैसला गर्दा) फेरि सुन्नुस् न बर्बाद हुन्छ नि ।

पोखरेल– केही हुन्न । माथि म गराउँछु । माथिबाट सङ्केत आएन भने नगरिस्यो, हगि । माथिबाट म गराउँछु । अनि लिने कुरा पनि म लिन्छु । अलि राम्रै ढङ्गले लिउँ । यो अवसर सधैं आउँदैन ।
न्यायाधीश कोइराला हाँस्छन् ।

पोखरेल– ठाउँ छ (घूस खान मिल्ने) ।

कोइराला– प्रधानन्यायाधीशले भन्छन् त उनलाई ?

पोखरेल– भन्छन्, म भनाउँछु । लु मैले अब भन्न लगाएँ । अब बाँकी कुरा गर्नु न तपाईं । आज चिया समयमा तपाईंलाई उसले सङ्केत गर्छ ।

कोइराला– ल हेरौँ न ।

पोखरेल– ल हेरौं न होइन, मैले त्यति गरिसकेपछि हजुरले फेरि नाइँ भन्ने त ? सामान (घूस) पनि ल्याओ भन्नुप¥यो । त्यत्तिकै फोकटमा त किन गर्ने ? माथि म मिलाउँछु, त्योभन्दा बाहिर एक्सपोज हुँदैन ।

कोइराला– धरौटी कति माग्ने भन्नु त ?

पोखरेल– १० करोडको हाराहारीमा ।

कोइराला– अप्ठ्यारो पर्दैन ? जागिर जान्छ त ।

पोखरेल– पर्दैन पर्दैन, सधैं यस्तो आउँदैन । यस्तो बेलामा एक/दुईवटा सिद्धान्त छाँट्ने । पीडितको हितमा पनि लेख्ने । (तामाङको) पासपोर्ट रोक्ने । एक/दुई आइडिया निकालौंला नि हजुर ।

यतातिर झ्याप्ऱ्याक्कै २ जति लिउँ न ।

न्यायाधीश कोइराला समर्थनमा ‘अँ’ भनेर हाँस्छन् । फेरि पोखरेललाई सोध्छन्– ‘माथिबाट (प्रधानन्यायाधीशले) गर्छ त ?’

पोखरेल– अहिले गएर मैले नमस्ते गरेर यति काम तैंले गर्नु पर्छ भन्दा गरेन भने त यो जति खुद्रागत को हुन्छ त ? पैसा खाएर चाहिँ लालकाजीको बारेमा उहिलेदेखि यत्रो गरिरहेको छ हैन त ?

कोइराला– मिडियाले के लेख्ला फेरि ? नारा-जुलुस गर्लान् कि ?

पोखरेल– त्यो केही गर्दैनन् । माथि जान्छ । माथिबाट उ भएर आउँछ । माथिबाट तपाईंको आदेश सदर गर्ने सम्पूर्ण जिम्मा मेरो । तपाईं किन आत्तिएको ?

कोइराला– त्यो त हो कि । ठीकै छ । माथिबाट भन्नु न । १ नम्बरलाई भन्नु न ।

पोखरेल– ठीक छ, म भन्न लगाउँछु । पैसा म बेलुका समातिसक्छु ।

कोइराला– ठीक छ । १० करोडभन्दा धरौटी ५० करोड माग्नुपर्छ कि ?

पोखरेल– ५० करोड माग्नुभन्दा त यसै थुने भइगयो त्यसलाई ।

कोइराला– सुन्नु न पत्रिकामा आउँछ कि ? डर लाग्छ । जागिर खान्छन् कि भन्ने डर लाग्छ ।

पोखरेल फेरि ढाडस दिन्छन्– कसरी खान्छन् हो जागिर ? उच्चमा सरकारी वकिल जान्छ । सदर गराएर ल्याउने मेरो काम हो । अनि कसरी जागिर जान्छ ?

कोइराला– सदर भएन भने ? बदर भयो भने ? पत्रिकामा आयो भने ?

पोखरेल झर्किन्छन्– कस्तो कुरा गरिस्या होला ? पत्रिकामा आएकै आधारमा गर्ने हो भने त हजुरहरू जस्तो मान्छे न्यायाधीश भएको के काम ? पत्रिकामा आउने यो उ गर्ने हो भने त त्यसै तारिखमा छोड्नु पर्ने मान्छे छ । इस्युका आधारमा त तारिखमै छोड्नु पर्ने ।

न्यायाधीश आपूm डराएकै बताउँछन् । उनी भन्छन्– भोलि पत्रिकामा आएर छ्याल्लब्याल्ल भएर केही भयो भनेदेखि ?

पोखरेल भने उल्टै थर्काउँछन्– त्यसो भए किन बेकारमा गोला तान्ने त ? त्यो अर्काकोमै परेको भए हुन्थ्यो ।

कोइराला हाँस्दै भन्छन्– तान्दाखेरि परेको क्या ।

पोखरेल पीडितको पक्षमा पनि आदेशमा लेख्ने कुरा सुझाउँछन् । भन्छन्– उनीहरूको पक्षमा पनि दुई/चारवटा कुरा लेखौंला नि हजुर । विदेश जान नपाउने, पासपोर्ट ऊ (जफत) गर्ने, उसमा (नेपालभित्रै) बस्नु पर्ने । के के हुन्छन् मलाई सबै के थाहा हुन्छ र हजुरलाई सबै आइडिया छ नि ।

पोखरेल थप बोल्छन्- प्रधानन्यायाधीशसँग टाइम लिउँ ?

प्रधानन्यायाधीशले भन्छन् कि भन्दैनन् भन्ने जिज्ञासा न्यायाधीश कोइरालाको हुन्छ ।

जवाफमा पोखरेल भन्छन्- शतप्रतिशत भन्छ । १ नम्बरलाई बोलाएर भन्छ । राजुलाई बोलाएर भन्छ । राजुले तपाईंलाई भन्छ ।

सेटिङका लागि प्रधानन्यायाधीशलाई भेट्न सहमति दिँदै न्यायाधीश कोइराला जवाफ दिन्छन्– ल भन्नु न त । जे गरौंला गरौंला ।

बिट मार्दै पोखरेल भन्छन्- ल मैले सुरु गरें है । त्यहाँबाट आएपछि हजुर पछि हट्न पाइसिन्न नि । अरूसँग, धेरै जनासँग कुरा नगरिस्यो नि फेरि । तपाईं म मात्र ।

न्यायाधीश कोइराला हाँस्दै जवाफ फर्काउँछन्- पैसाको कुरा गर्दै गर्दिनँ नि ।

फेरि कुरा लम्बिन्छ र पोखरेल नयायाधीश कोइरालालाई तरिका सिकाउँछन्- अम्बिका (अम्बिकाप्रसाद निरौला) सम्बिकासँग कुरा भयो भने त फेरि कहाँकहाँ पुग्छ । अरू न्यायाधीशसँग कुरा भयो भने दुवैजना सकिने कोइरालाको भनाइ हुन्छ– तपाईं र मेरो सकिने कुरा हो नि यो त ।