एक्सरेको रिल छैन कान्ति अस्पतालमा : उपचारमा यस्तो लापर्वाही !

एक्सरेको रिल छैन कान्ति अस्पतालमा : उपचारमा यस्तो लापर्वाही !


देशकै जेठो, प्रतिष्ठित, विश्वसनीय मानिएको सरकारी बाल अस्पताल ‘कान्ति अस्पताल’को अवस्था नाजुक देखिन्छ । उपचार परीक्षणका लागि अत्यन्तै महँगा र उच्च प्रविधि भएर पनि कान्ति बाल अस्पताल यतिबेला मगन्ते जस्तो अवस्थामा आफ्नो जिम्मेवारी धानिरहेको छ ।

अरु के कुरा गर्नु कान्ति अस्पतालमा बिरामीको एक्सरे गरिसकेपछि प्रिन्ट गर्ने रिलसम्म छैन । त्यहाँ एक्सरे गर्नुपर्ने बिरामीको एक्सरे रिल सम्बन्धित बिरामीकै आफन्तको मोवाइलमा खिच्न लगाइन्छ । योभन्दा हरिविजोग केलाई मान्न सकिन्छ र ?

गत शनिबार अपराह्न नयाँ बानेश्वरकी रक्षा पोखरेल आफ्नो दुईवर्षे बिरामी नानीलाई लिएर कान्ति बाल अस्पताल पुगिन् । इमर्जेन्सीमा बच्चाको उपचार प्रक्रिया सुरु भयो । सुरुवाती चरणमै एक्सरे गर्नुपर्ने डाक्टरको निर्देशनबमोजिम रक्षा एक्सरे कक्षमा पुगिन् । बच्चाको एक्सरे भइसकेपछि त्यहाँका प्राविधिक स्वास्थ्यकर्मीले मोवाइलबाट कम्प्यूटरमा एक्सरेको दृश्य खिच्न लगाए ।

रक्षाले सोधिन्- किन ? प्राविधिकको जवाफ थियो- रिल सकिएको छ । मोवाइलमै देखाए पनि हुन्छ । डाक्टरसापलाई थाहा छ ।

सुन्दै अचम्म राजधानीमा त्यो पनि सरकारी, अनि पूरानो र सबैभन्दा सुविधायुक्त अस्पतालकै गति यस्तो छ भने अन्य सरकारी अस्पतालको हालत के होला ?

एक्सरे भनेको के हो ? त्यसको रिपोर्ट कस्तो हुनुपर्छ ? त्यही एक्सरे हेरेर चिकित्सकले बिरामीको उपचार गर्ने हुन् । त्यही एक्सरेको रिपोर्ट मोबाइलमा खिचेर देखाउनुपर्ने ? हे बाध्यता !

अस्पतालमा सामान्य एक्सरेको रिल नहुनु कमजोरी कसको हो ? लापरवाही हो कि बाध्यता ?

शनिबारको दिन बिदा भएर रिल थिएन भनौँ भने सरसापटी पनि चलाउनुपथ्र्याे, परिसरमै जोडिएको शिक्षण अस्पताल छ । नत्र त्यस्ता अति आवश्यक बस्तुको अभाव हुन दिन मिल्छ ? बिरामीको उपचारमा यत्रो लापरवाही ? सम्बन्धित पक्षले के हेरिबसेको होला ? तलवभत्ता लाखौँलाख खाने थुप्रै निर्देशक र उच्च तहका डाक्टर पनि छन् होला त्यहाँ ।

मोवाइलबाटै चिकित्सकले एक्सरेको दृश्य हेरे । उपचार प्रक्रिया अघि बढ्यो । सरसफाई गर्दै एक सफाइकर्मी महिला इमरजेन्सी कक्षमा आइपुगिन् । उनको व्यवहार देख्दा लाग्यो, यो अस्पताल होइन ‘कालखाना’ हो । किनकि बिरामीको उपचार भन्दा पनि उल्टो सङ्क्रमण गराएर कालको मुखमा पु¥याइन्छ त्यहाँ । इमरजेन्सीमा गम्भीर प्रकृतिका पनि बिरामी ल्याइन्छ । तर, यत्रतत्र बेडमा ऐया र आथ्थ्यू गर्दै सुताइएका बच्चाबच्ची, कोही स्लाइन पानी चढाइँदै गरेका अवस्थामा छन्, कोही बिरामी बच्चाको नर्शले रगत झिक्दा दुखेर डराएर चिच्चाइरहेको अवस्था छ । कोही फत्र्याकफत्र्याक पर्दै उचालिँदै पछारिँदै गरेका बच्चाबच्चीलाई अभिभावकले फकाउँदै छन् । यो सबै अवस्थाको ती सफाईकर्मी महिलालाई कुनै पर्वाह नै थिएन । लाग्थ्यो उनको काम धुलो बढार्ने मात्र हो, त्यो धुलो उडेर जोसुकैको नाक-मुखमा जाओस् ।

सफाईकर्मीले गरेको त्यो व्यवहार देख्दा लाग्थ्यो उनी फोहोरकर्मी हुन् । चिकित्सकलाई गुनासो गर्दा यस्तै हो, विस्तारै गर भन्दा पनि हतारकै व्यवहार देखाउँछन् । केही भन्यो, हामीसँगै झर्कन्छन् ।

इमरजेन्सीबाट अब्जरभेसन वार्डमा सार्दा त्यहाँ भोग्नुपरेको व्यथा त झन् बिहेवारी चल्दै गरेको घरमा पाहुना गएजस्तो व्यवहार । एउटै बेडमा तीन जनासम्म बिरामी बच्चा । अव्यवस्थि, भद्रागोल उपचार प्रक्रिया देख्दा कान्ति अस्पतालप्रति दया जाग्यो, कुन उद्देश्यले खोलिएको अस्पतालको कस्तो हविगत रहेछ ?

‘लौन ! सञ्चारकर्मी मित्र यहाँको बेथिति सम्बन्धित निकायको आँखा अगाडि पुऱ्याइदिनुस्’, रक्षाले गुनासो गरिन् । उनको भनाइ थियो, ‘त्यसैले त सरकारी अस्पताल भनेपछि कसैले पनि विश्वास गर्दैनन् ।’

‘यहाँ गर्छु भन्ने भावना भएका हामीजस्ता चिकित्सक पनि छौँ, बिरामीको उपचारमा दत्तचित्त भएर लागिरहेका छौँ ! तर, के समान छ, के सामान छैन, त्यो हेर्ने हामीले त होइन नि !’- एक वरिष्ठ चिकित्सकको गुनासो थियो, ‘तपाईंहरूले भनेको सुनेर मात्र लेख्नुहुन्छ, यो विजोग देख्नुभयो, अब सम्वन्धित निकायको ध्यानाकर्षण गराइदिनुस् त ।’

उनले आफ्नो नाम नबताएरै भने, ‘बरु परिक्षण प्रविधि नै छैन भनेर अन्त गराउन जाउ भन्न मिल्छ, हेर्नुस् त ! एक्स-रेको रिल छैन भनेर बिरामीलाई अन्त गराएर ल्याउ भन्न पनि मिलेन, रिल छैन भने पनि उपचार प्रक्रिया रोक्नै त भएन ।’